काठमाडौँ । सरकारले विद्युत् खरिद सम्झौता (पिपिए) खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा विहीबार बेलुका बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उपसमिति गठन गरेकाे हाे ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले ७ दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ । उपसमितिमा विद्युत् विकास विभागका उप महानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिई शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने प्राधिकरणको व्यापार शाखाका निर्देशक सदस्य सचिव रहेका छन् ।
सञ्चालक समितिको निर्णयमा भनिएको छ, ‘आर्थिक ऐन, २०८३ मा व्यवस्था भएबमोजिम उत्पादन अनुमति प्राप्त उर्जा उत्पादकहरूसँग पिपिए गर्ने सम्बन्धमा विद्यमान आधार र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेतको अध्ययन विश्लेषण गरी पिपिएको मापदण्ड ७ दिनभित्र तयार गर्न सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।’