काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले एलनिनोको सङ्कटसँग जुध्न पूर्वतयारीमा लाग्नुपर्ने बताएका छन् । ८ हप्तापछि नेपाल भित्रिन लागेको अत्यधिक बलियो एननिनोको प्रभावले निम्त्याउने खडेरी र सुख्खायामसँग सामना गर्न सबै निकाय तयार रहनुपर्ने बताएका हुन् ।
जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभागले शुक्रबार आयोजना गरेको सुपर एलनिनो र जलवायु जोखिमसम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आगामी अक्टोबरदेखि फेब्रुअरीसम्म प्रभाव देखिने बताए । एलनिनोले नेपालको जलविद्युत्, सिँचाइ र समग्र खाद्य सुरक्षामा पार्ने गम्भीर असरबारे समयमै चनाखो बन्नुपर्नेमा पनि जोड दिए ।
‘यसमा पूर्वसूचना र पूर्वतयारी आवश्यक छ, यो नहुँदा कृषकहरू मारमा पर्छन् तर यसबाट कोही अछुतो रहँदैन,' उनले भने, 'जब किसान आफ्नो उत्पादनमा ध्यान दिन सक्दैन, तब प्रत्यक्ष असर खाद्य सुरक्षामा पर्छ ।'
नेपालका धेरैजसो जलविद्युत् आयोजना रन अफ रिभरमा आधारित रहेको सन्दर्भ जोड्दै उनले भने- त्यसै त सुख्खायाममा पानी पुग्दैन, अर्कोतर्फ हाम्रा हिमतालहरू पग्लेर त्यसले ल्यायो भने के हुन्छ ? त्यसैले गम्भीर हुनुपर्ने छ ।
श्रेष्ठले मौसम विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय निकाय (एनओएए) का अनुसार यस वर्ष हालसम्मकै शक्तिशाली एलनिनो ९० प्रतिशतभन्दा बढी सम्भावनाका रहेको औँल्याए । यसको असर विद्युत् प्रणालीमा पर्ने, हिउँदको मुख्य आयातको समय (नोभेम्बर-अप्रिल), एलनिनोको पिक समय आपसमा जुध्ने हुँदा नेपालको जलविद्युत् उत्पादन र भारतबाट हुने आयात दुवै एकसाथ प्रभावित हुन सक्ने जोखिम रहेको उनको भनाइ थियो ।
अधिकांश सिँचाइ प्रणालीहरू मनसुनमा आधारित भएकाले सुक्खायाममा पानीको अभाव हुने र यसले गहुँ तथा जौ जस्ता हिउँदे बालीको उत्पादनमा ठूलो असर पार्ने चिन्ता इंगित गरिएको छ । यसैले पूर्वानुमान र पूर्वतयारीमा काम गर्नुपर्ने उनको भनाइ थियो ।
‘अचानक हुने विपद्को विपरीत सुक्खापन ढिलो गरी आउने विपद् भएकाले क्षति भइसकेपछि घोषणा गर्नुको सट्टा पूर्व-निश्चित मापदण्डका आधारमा अग्रिम योजना र नीतिगत कदम चाल्नुपर्छ,’ उनले भने, 'यो सङ्कटविरुद्ध ऊर्जा र कृषि मन्त्रालयले संयुक्तरूपमा काम गर्नुपर्ने छ ।'
विकसित देशमा सिर्जित जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले स्टेज अफ हर्मुजमा पेट्रोल रोकेको न्यूजलाई ठूलो बनाउनुको साटो नेपाल जलवायु परिवर्तन र कार्बन उत्सर्जनको मारमा परेको विषय उठाउनुपर्ने बताए । छोटै समय भए पनि मन्त्रालयले सम्भावित ठूलो विपद् पूर्वतयारीमा तदारुकता देखाएको, जल तथा मौसम विज्ञान विभागले राम्रो तयारी गरेको जानकारी दिए ।
सम्भावित सङ्कटसँग जुध्न मन्त्रालयले जेठमै तराई-मधेश सुक्खा लचकता रणनीति तयार गरिसकेको, तराईका २२ जिल्लामा जमिनमुनिको पानीको अनुगमन सुरु गरिएको बताए । जल तथा ऊर्जा आयोगलाई असोज मसान्तभन्दा अगाडि नै क्षेत्रगत आकस्मिक फ्रेमवर्क तयार गर्न निर्देशन दिइएको छ ।
यसैगरी, ऊर्जा आयोगले जल तथा मौसम विज्ञान विभाग, सिँचाइ विभाग, खानेपानी विभाग, विद्युत् प्राधिकरण र विद्युत् विकास विभागसँगको सहकार्यमा जल-ऊर्जा सुक्खा निगरानी संयन्त्र निर्माण गरी समन्वय गर्ने बताइएको छ ।
एलनिनो निश्चित तालिका अनुसार नआए पनि साधारणतः २ देखि ७ वर्षको अन्तरमा दोहोरिने र यसको प्रभाव प्रायः ९ देखि १२ महिनासम्म कायम रहने अन्तराष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
के हो एलनिनो ?
एलनिनो (El Niño) प्रशान्त महासागरको मध्य र पूर्वी भूमध्यरेखीय क्षेत्रमा समुद्री सतहको पानी सामान्यभन्दा बढी तातो हुने प्राकृतिक वातावरणीय प्रक्रिया हो । यसले विश्वव्यापी वायुमण्डल र समुद्री प्रणालीमा हेरफेर गरी मौसममा भारी परिवर्तन ल्याउँछ ।
मुख्य विशेषताहरू
• तातो समुद्री पानी: पूर्वी प्रशान्त महासागरको सतहको तापमान सामान्यभन्दा ०.५ डिग्री सेल्सियस वा सोभन्दा बढीले बढ्छ ।
• व्यापारिक हावा कमजोर हुनु: सामान्य अवस्थामा पूर्वबाट पश्चिमतिर बहने व्यापारिक हावा कमजोर हुन्छ, जसले गर्दा तातो पानी पूर्वी प्रशान्त महासागरतिरै रोकिन्छ ।
विश्व र नेपालमा असर
• नेपाल र दक्षिण एसिया: मनसुन कमजोर भई औसतभन्दा कम वर्षा हुने, खडेरी पर्ने र गर्मी बढ्ने सम्भावना रहन्छ ।
• अस्ट्रेलिया र दक्षिणपूर्वी एसिया: वर्षा कम भई सुख्खा र डढेलोको जोखिम बढ्छ ।
• दक्षिण अमेरिका (पेरु र इक्वेडर): समुद्री क्षेत्र नजिक भारी वर्षा, बाढी र पहिरोको समस्या देखिन्छ ।
• समुद्री जैविक विविधता: पानीको तापमान बढ्दा माछा र अन्य समुद्री जीवहरूको खाद्य श्रृङ्खला प्रभावित हुन्छ ।