images
images
images
  • प्राधिकरण : ९५५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६००३ मे.वा.घन्टा
  • निजी क्षेत्र : १०५३४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १३६१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : २६०९२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १४१० मे.वा.
×

तीन मेगा प्रोजेक्ट, जसले नेपालको भविष्य बदलिदिन सक्छन्

२०७८ मङ्सिर ५

काठमाडाैं । देश बनाउने, विकास गर्ने, रोजगार सिर्जना गर्ने, दुई अंकको आर्थिक वृध्दि गर्ने, गरिबी उन्मूलन गर्ने, विकासशील देशमा स्तरोन्नति गर्ने जस्ता कुराहरू आमनेपालीका लागि सामान्य जस्तो लाग्न थालिसके। वास्तवमा सुन्दा हामीलाई यी कुराहरू जति सामान्य लाग्छन नि, यी त्यति नै जटिल विषय हुन् । यी कति जटिल हुन् भन्ने कुरा त हामीले पचासौं वर्षदेखी सुनिआएको कुरा अहिलेसम्म एउटा पनि पूरा नुहुनुले नै प्रस्ट हुन्छ ।

कुनै देशको दिगो विकासका लागि जनतालाई आवश्यक धेरैजसो क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने आधारभूत सिद्धान्त हुन्छ।  अहिले सरसर्ती हेर्दा हामी कृषिप्रधान देशका जनता कृषिमै आत्मनिर्भर हुन सकिरहेका छैनौ ।

सुन्दर र पर्यटकीय मुलुक भन्छौं, १० लाख पनि पर्यटक भित्राउन सकेका छैनौ । प्राकृतिक स्रोत सम्पन्न भन्छौं, उपभोक्ताहरू आयात गरेका वस्तुहरूमा निर्भर छौं।  मुख्य कुरा त नेपालका अर्थाशास्त्री, राजनीतिज्ञ, नीतिनिर्मातादेखि सम्पूर्ण विद्वान बर्गहरू अहिलेको अर्थतन्त्रको जगमा देशमा समृद्धि आउँदैन भन्ने कुरामा एकमत छन् ।

तर, हरेक वर्ष हामी उही समस्या, उही पिरलो र उही चेतनाको भुमरीले ग्रसित भइरहेका छौँ । यी र यस्तै कारणहरूले गर्दा हरेक वर्ष देशमा रहेका अमूल्य ज्ञान  र अनुभवहरू पलायन भइरहेको हामीसामु छर्लङ्गै छ ।

एकछिन घोत्लिएर सोचियाे भने १० वर्ष पहिला र अहिलेको विकासको सुचकांकमा त्यति फरक पाइँदैन । किनकि, नेपालमा हुने धेरैजसो विकासहरू वाध्यात्मक छन् । ना कि, जनताको जीवनमा परिवर्तन ल्याउने खालका । उदाहरणका लागि, धरहरा बन्यो, रानीपोखरी बन्यो । किन बन्यो त भन्दा भूकम्पले भत्कायो, नबनाई नहुनी थियो ।

बुटवल-भैरहवा, कोहलपुर-नेपालगन्ज ४ लेनका सडक बने । किन त, भन्दा नबनाई नहुनी थियो । ट्राफिकले थेग्नै सकेन, त्यसैले बन्यो । त्यस्तै, माथिल्लाे तामाकोसी जलविद्युत आयाेजना बन्यो, १० वर्ष लगाएर । यस्तै, वाध्यात्मकबाहेक स्वतःस्फुर्त विकास हामीले देख्न/भोग्न पाएकै छैनौं । जुन चीज पाउन हामी तड्पीराखेका छौं।

यी सबै विषय उठानुको पछाडि एउट तात्पर्य छ, त्यो हो अहिल्यै सोच्नुपर्ने भविष्यका लागि दिगो विकास । वास्तवमा हामीले धेरै रोजगारी, आर्थिक वृध्दि र विकासका कुरा गर्दैछौं भने ठूला परियोजना निर्माणलाई कहिल्यै भुल्नुहुँदैन ।

ठूला परियोजनाले एकैपटकमा हजारौंलाई रोजगारी, आयोजना क्षेत्रको तीव्र विकास र राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुर्याइराखेका हुन्छन् । एउटा ठूलाे आयोजनाले पचासौं सानातिना व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्न जान्छ।

हरेक विकसित र विकासशील देशमा हेर्यौं भने ठूला आयोजनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवश्यकता मात्रै पूरा गरेको हुँदैन । यिनीहरू पर्यटकीय गन्तब्य पनि हुन जान्छन् । उदाहरणका लागि चीनको हाई स्पीड ट्रेन, इजिप्टको स्वेज नहर, पानामा नहर, थ्री गर्जेज जलविद्युत, आइफेल टावर, बुर्ज खालिफा, दुबई एयरपोर्ट, जापानको शिङ्कान्सेन स्पिड ट्रेन आदिले ती देशका नागरकिका आवश्यकता मात्रै पूरा गर्दैनन् बिश्वभरिबाट करोडौ पर्यटक पनि आकर्षित गर्ने गर्छन् ।

सरसर्ती हेर्दा यस्ता प्रोजेक्टहरू नेपालमा सम्भव होलान् र झैँ लाग्नु स्वाभाविक हो । तर, हामीहरूले अहिलेको आवश्यकता पूरा हुने र भविष्यमा अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याउने खालका आफ्नो भू-राजनीतिक धरातल सुहाउँदा योजनाहरू छनोट गर्नुपर्ने हुन्छ । यसका लागि हामीहरूको ठूलो सामर्थ्य भनेको विश्वकै दोस्रो र छैठौं ठूलाे अर्थतन्त्रको बीचमा रहनु नै हो ।

यहि सामर्थ्यलाई आत्मसाथ गरी असम्भव लाग्ने तर सम्भव भएका निम्न तीन ठूला आयोजना अगाडि बढाउन सक्ने हो भने नेपालीको औसत आय २० वर्षमै $२५००० भन्दा माथि पुर्याउन सकिन्छ ।

१) अन्तरदेशीय रेलमार्ग

सन् २०२० को तथ्यांक हेर्ने हो भने भारत र चीनबीच हुने व्यापार विश्वमै हुने ठूला अन्तरदेशीय व्यापार मध्येको एक हो र यो निरन्तर बढ्दो क्रममा छ । तपाईं हामीलाई राम्रोसँग थाहा छ । यी दुई देशका बीचमा नेपाल छ तर नेपाल हुँदै हुने यिनीहरुको व्यापार शून्य प्रायः छ । नेपालले आफू यी दुई आर्थिक महारथीको बीचमा हुँदा कुनै फाइदा लिन नसकेको स्थिति छ ।

भारत र चीनको सम्बन्ध जहिले पनि तनाबकै स्थितिमा रहँदा नेपालले मध्यस्थता गर्ने र यी दुईबीच हुने खर्बौ डलरको व्यापारमा बिचौलिया बनेर फाइदा लिने सोचाई कहिल्यै लिन सकेन । समुद्रीमार्ग हुँदै महिनौं लगाएर हुने दुई देशबीचको व्यापारलाई सहजता प्रदान गर्न त्रिदेशीय रेलमार्ग बनाएर त्यसबाट हुने व्यापारको निश्चित अंश रोयल्टीको रूपमा राख्ने कुराको ग्यारेन्टी गर्न सकिन्छ। चीनको बेल्ट एण्ड रोड प्रोजेक्ट र भारतबाट अनुदान सहयोगमै बनाउन सकिने रेलमार्गले नेपालीहरूको आयस्तर ह्वात्तै बढाउनेमा शंका छैन । यूरोपको पहाडमा रेल

२) पूर्व-पश्चिम जलमार्ग

नेपालका प्रायः खोला नाला उत्तरदेखि दक्षिण बग्ने गर्दछन् । यसरी बग्दा वर्षेनी तराई लगायत भारतका विभिन्न स्थानमा बाढीले डुबानसमेत हुने गर्दछ । पूर्व मेचीदेखि पश्चिम महाकाली नदीलाई ठूलो नहर र सुरुङ्ग नहर बनाई पूर्व-पश्चिमसम्म जोडेर त्यसमा पर्ने साना ठूला नदीमा ब्यारेज बनाई डाइभर्सन गरी बहुउदेश्यीय आयोजना बनाउन जरुरी छ।

राम्रोसँग नेगोसियसन गर्न जान्यो भने यो आयोजनामा भारतको अधिकांश लगानी निश्चित जस्तै छ । यसले, नेपाल र भारतका करोडौं हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने र बर्खाकाे बाढी नियन्त्रण गर्न सहयोग गर्नेछ । यसाे हुँदा यो योजना भारतका लागि पनि उत्तिकै महत्त्वपूर्ण हुन जान्छ।

पूर्वदेखि पश्चिमसम्म जलमार्गको विकास हुने हुनाले पानीजहाज सञ्चालन हुने, नहरको छेउछाउमा २४सै घण्टा खुल्ने अत्याधुनिक शहरहरू स्थापना गर्न सकिने, गर्मीमा लाखौंको संख्यामा भारतीयहरू पर्यटकको रूपमा  नौकाबिहार गर्न आउनेछन् । अझ आन्तरिक पर्यटकको घुइँचो लागेर आयोजनाको लागत तुरुन्तै असुलउपर हुने अति आकर्षक आयोजना तुरुन्त शुरू गर्न जरुरी छ।


किल क्यानल जर्मनी

३) वैदेशिक लगानीका हाइड्रो प्रोजेक्टहरू

हामीले वर्षौंदेखि सुन्दै आएको करिब ८०,००० मेगावाटभन्दा बढीको नेपालको विद्युत उत्पादन क्षमता सधैंजसो कागजमा मात्र देख्न पाइराखेका छौं । यदि, उच्च बाँधयुक्त आयोजना बनाउने हो भने यो क्षमता १ लाख मेगावाटभन्दा माथि पुग्ने निश्चित छ। विगत २ दशकदेखि ५०० देखि १००० मेगावाट विद्युत उत्पादन गर्न नसक्दा सारा नेपाली अन्धकारमा बसेको कुरा त बिदितै छ।

अहिले निजी क्षेत्रलगायतबाट १००० मेगावाट प्रसारण प्रणालीमा थपिँदा मात्रै पनि नेपालमा विद्युत खपत हुन नसक्ने स्थिति छ । अझ तीतो यथार्थ त के छ भने, जम्मा ४५६ मे.वा.को माथिल्लो तामाकोसी निर्माण सम्पन्न गर्न मात्रै अनुमानित समयभन्दा ३ गुणा बढी र अनुमानित लागत भन्दा २ गुणा बढी स्रोतको उपयोग गरियो।

जब यसले व्यावसायिक उत्पादन सुरु गर्यो तब विद्युत खपतको चिन्ता सँगसँगै थपिन पुग्यो।  यसबाट हामीले सिक्नुपर्ने कुरा के हो भने, औद्याेगिकीकरण नभइसकेको नेपाल जस्तो मुलुकका लागि यस्ता ठूला परियोजनाक लागि न त आफ्नै लगानी जुटाउने क्षमता छ न त विद्युत खपत गर्ने पर्याप्त बजार नै ।

यस्तो अवस्थामा चीन, भारतलगायत देशका विद्युत उत्पादकसँग मिलेर नेपालको कूल उत्पादन क्षमता बराबरको बिद्युत उत्पादन गरी उनीहरूकै बजारमा बिक्री गर्न सके हरेक नेपालीलाई बसीबसी खान पुग्ने आम्दानी हुने देखिन्छ। यसका लागि वैदेशिक लगानीको वातावरण र  लगानीको सुरक्षा मात्रै नेपालले गर्न सक्यो भने वर्षेनी खेर गइरहेकाे पानीबाट सुन फलाउन सकिने कुरा टाढाको विषय रहँदैन।

भेर्बंड ड्याम माल्टा

अन्तिममा, यहाँ उल्लेख गरिएका तीन आयोजनाका लागि नेपालले एक रुपैयाँ पनि लगानी गर्न नपर्ने गरी सम्पन्न गर्न सकिने आधारहरू प्रस्तुत गरिएका छन् । तर, यी सबै कुरा नेतृत्वको इच्छाशक्ति, नीति निर्माण र चलाखीपूर्ण व्यावसायिक मोलमलाई गर्न सक्ने क्षमतामा निर्भर रहन्छ ।

(चालिसे, हाल काठमाडाैं विश्वविद्यालयमा सिभिल इञ्जिनियरिङमा विद्यावारिधी गरिरहेका छन्।)

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit