विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । राष्ट्रिय गौरवको रूपमा रहेको बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएर भर्खरै हुन गइरहेको यस समुद्घाटन समारोहमा उपस्थित भई गरिमा बढाइदिनु भएकोमा आभार व्यक्त गर्दै सबैमा हार्दिक स्वागत अभिवादन गर्दछु ।

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई चरितार्थ गर्न देशमा जलविद्युतको विकास अपरिहार्य रहेको वर्तमान अवस्थामा स्वदेशी लगानीमा निर्माण भएको मुलुककै सबैभन्दा ठूलो यस जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएबाट जलविद्युत र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको छ । जलविद्युत विकासको क्षेत्रमा यो आयोजनालाई मैले एक कोशेढुंगाको रूपमा लिएको छु । यस आयोजनाको सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र स्वदेशी व्यवस्थापनमा निर्माण गर्न सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको छ ।

देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाको रूपमा निर्माण सम्पन्‍न यस माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाट जडित क्षमता र वार्षिक २२८१ गिगावाट घण्टा अर्थात् २२८ करोड युनिट प्रतिवर्ष बिजुली उत्पादन गर्ने आयोजना हो । जलविद्युतको ११० वर्ष लामो इतिहासमा राष्‍ट्रिय गौरवको रूपमा यस आयोजना सम्पन्‍न भएको छ । 

वि.सं. १९६८ सालमा फर्पिङ (५०० कि.वा.) र सुन्दरीजल वि.सं. १९९१ सालमा (६४० कि.वा.) र निजी क्षेत्रबाट वि.सं. १९९६ सालमा दोस्राे विश्वयुद्धताका लेटाङ्ग हाइड्रो (मोरङ) मा निर्माण गर्न सफल नेपालको गौरवमय जाँगरलार्इ यहाँसम्म आइपुग्न किन यति समय लाग्यो ? अध्ययनको विषय हो । ती आयोजनाहरूको उद्गमको जाँगरबाट प्रेरणा र त्यसपछिको इतिहासबाट पाठ सिकेर चिलिमे एवम् माथिल्लो तामाकोसीले देखाएको बाटो पहिल्याउनु अबको नेपालको जलविद्युतको आवश्यकता देखिएको नम्र निवेदन गर्दछु ।

वि.सं. २०५०/५१ सालमा नेपाल विद्युत प्राधिकरणले २/३ सय कि.वा.का साना जलविद्युत स्वदेशी लगानी र डिजाइनमा बनाउँदथ्यो । त्यसैताका २२ मेगावाटको चिलिमे जलविद्युत स्वदेशी लगानी, स्वदेशी इन्जिनियरिङ्ग र व्यवस्थापनमा बनाउन सुरु भएको थियो । २०० किलोवाटबाट १०० गुणा ठूलो २२ मेगावाटमा Jump गर्नु गर्वकै कुरा थियो । आफ्नै प्रयासमा वि.सं. २०६० सालमा सम्पन्‍न उक्त योजना नेपालीको पौरख नेपालीको गौरव मानियो । र, त्यसैबाट प्रेरणा लिएर २०६३ सालमा माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीको जन्म भयो ।

स्वदेशी लगानीको चिलिमे मोडेल अपनाएर २० गुणा ठूलो यो आयोजनामा स्वदेशी इन्जिनियरिङ्गमा गर्न त्यति बेला आँटेनौ तर आज निर्माण कार्य सम्पन्न हुँदै गर्दा अबका आयोजना स्वदेशी इन्जिनियरिङ्गमा गर्ने आँट पलाइसकेको छ । पाठ पनि सिकिएको छ र ४०० मेवा क्षमता वरिपरिका वेतन कर्णाली जस्ता आयोजना अब् पुन: पुरानै चिलिमे मोडेलमा स्वदेशी लगानी, स्वदेशी इन्जिनियरिङ्गको प्रयोग गरी बनाउने र नेपालीको पौरख नेपालको गौरव बनाइने अठोट रहेको निवेदन गर्दछु। 

यस आयोजनाको सम्भाव्यता अध्ययन तथा प्रवेशमार्गको विस्तृत इञ्जिनियरिङ डिजाइन कार्य विद्युत प्राधिकरणले वि.सं. २०५७–२०६० सालमा गरेको थियो । नर्वे सरकारको सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन (Bankable Detailed Feasibility Study) कार्य नर्वेजियन परामर्शदाता Norconsult AS मार्फत वि.सं. २०६०–२०६२ सालमा र आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी कागजात तयार गर्ने कार्य वि.सं. २०६३–२०६५ सालमा सम्पन्न भएको थियो । 

बाग्मती प्रदेशअन्तर्गत दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नम्बर-१ लामाबगरमा बाँध र गोंगरमा पावरहाउस रहेको यस आयोजनाको ग्रसहेड ८२२ मिटर र डिजाइन बहाव ६६ घनमिटर छ । मुख्य सुरुड ८.४५ किलाेमिटर लामो र पेनस्टक ११६५ मिटर लामो रहेको छ ।

माथिल्लो तामाकोसी सुरुङ नै सुरुङ भएको र आगामी धेरै वर्षसम्म र सम्भवत:  उत्तरगंगा आयोजना नबनेसम्म सबैभन्दा धेरै सुरुङ भएको आयोजना रहीरहनेछ ।

७६ मेगावाट प्रतियुनिटका ६ वटा भर्टिकल पेल्टन टर्बाइनहरू जडित पावरहाउसबाट २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै न्यू खिम्ती सबस्टेसनमा बिजुली पुग्नेछ । र, ढल्केवर सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा प्रवाहित हुनेछ ।

दैनिक पिकिङ प्रकारको यस आयोजनाबाट सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठूलो मद्दत पुर्‍याउने अपेक्षा गरेका छौं ।

आयोजनाको ६८ किलाेमिटर प्रवेशमार्गमध्ये ३५ किलाेमिटर जिल्लास्तरीय सडकलाई सुदृढीकरण गरिएको थियो भने ३३ किलाेमिटर नयाँ सडक निर्माण गरिएको थियो । उक्त प्रवेशमार्गमा ७ वटा पक्की पुलहरू समेत निर्माण गरिएको छ ।

आर्थिक वर्ष २०६७/६८ बाट आयोजनाको मुख्य निर्माण कार्य सुरू भएकोमा मुख्य सुरुङको डिजाइन परिवर्तन, २०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्प र त्यसपछिको तराई आन्दोलन, लामोसाँघु-चरिकोट सडक स्तरोन्नतिको कारण ढुवानीमा आएको समस्या¸ हाइड्रो मेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन तथा कोरोना महामारी जस्ता कारणहरूले निर्माण अवधि लम्बिन गएको छ ।

यी विभिन्न प्रकृतिजन्य र प्राविधिक कारणहरू तथा निर्माण अवधि लम्बिन गएको कारणबाट कूल लागत करिब ५२ अर्ब पुगेको छ भने ब्याज करिब ३२ अर्ब थप हुने देखिएको छ । लागत बढे पनि विभिन्न समस्याहरूसँग जुध्दै त्यसको समाधान गर्दै निर्माण सम्पन्न गरी उद्घाटनको चरणमा ल्याइपुर्‍याउन सफल भएका छौँ । फेरि पनि याे हाम्रा लागि गर्व र गाैरवकाे एक अभूतपूर्व उपलब्धि हाे भन्ने मैले ठानेकाे छु ।

(नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले असार २१ गते साेमबार माथिल्लाे तामाकाेसी उद्घाटनका क्रममा प्रधानमन्त्री निवास बालुवाटारबाट दिएकाे मन्तव्यकाे सम्पादित अंश)

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit