नेपालमा जलविद्युत्को सम्भावना
नेपालमा जलविद्युतको सैद्धान्तिक सम्भावना करिब ८३ हजार मेगावाट रहेको विभिन्न अध्ययनहरूका आधारमा भन्ने गरिएको छ । यसमध्ये करिब ४३ हजार मेगावाट आर्थिक, प्राविधिक तथा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने मानिन्छ । यद्यपि, हाल (सन् २०२५) सम्म देशमा कुल स्थापित जलविद्युत् उत्पादनको जडित क्षमता करिब ३ हजार ५०० मेगावाट आसपास मात्र पुगेको छ ।
यसले देशले आफ्नो जलसम्पदाबाट उपलब्ध ऊर्जा उत्पादन क्षमताको १० प्रतिशतभन्दा पनि कम उपयोग गरिरहेको देखाउँछ । देशमा उपलब्ध नदी–खोला तथा भूबनोटका कारण जलविद्युत् उत्पादनको अपार सम्भावना छ । यहाँका अधिकांश नदी उच्च पहाडी तथा हिमाली क्षेत्रबाट उत्पन्न भएर तराईसम्म बग्दछन् । जसले गर्दा तिनीहरूमा जलविद्युत् उत्पादनका लागि आवश्यक उचाई (हेड) र प्रवाह (फ्लो) दुवै उपलब्ध हुन्छ।
यहाँ भएका चारवटा प्रमुख नदी प्रणालीहरू कोसी, गण्डकी, कर्णाली र महाकाली मार्फत अपार जल उपयोगको सम्भावनालाई व्यहारमा उतार्न सकिन्छ । यी नदीहरू भारत र चीनको सीमावर्ती हिमाली क्षेत्रमा उत्पत्ति भई नेपालभर बग्दछन् । यसै प्रणालीमा सयौँ साना नदीहरू मिसिएका छन्ज, सले विद्युत् उत्पादनको उच्च सम्भावना निर्माण गरेका छन् ।
नदी बेसिन र सम्भावना
कोसी नदी बेसिनमा पानीको प्रवाह उच्च रहेको तथा बढी भिरालोमा बग्ने भएको हुँदा विद्युत्का लागि अति उपयुक्त हुने देखिन्छ । यहाँ माथिल्लो तामाकोसी (४५६ मेगावाट), सुनकोसी लगायत थुप्रै जलविद्युत् केन्द्र सञ्चालनमा छन्।
गण्डकी नदी प्रणाली : कालीगण्डकी ‘ए’ (१४४ मेगावाट), मध्य–मर्स्याङ्दी, र मर्स्याङ्दी जलविद्युत् आयोजनाहरू यस नदी प्रणालीमा आधारित छन् । यो भूगोल पनि जलविद्युत् उत्पादनमा राम्रो सम्भावना भएको क्षेत्र हो ।
कर्णाली नदी प्रणाली: यस क्षेत्रमा हालसम्म कम आयोजना रहेका छन् तर उच्च सम्भावना रहेको मानिन्छ । यहाँ ९०० मेगावाटको माथिल्लो कर्णालीसहितका जलविद्य्त् आयोजना निर्माणका लागि प्रस्ताव गरिएको छ ।
महाकाली नदी प्रणाली: भारतसँग सम्झौता गरेर पञ्चेश्वर जलविद्युत् आयोजना (६,४८० मेगावाट) निर्माण गर्ने योजना छ, जुन हालसम्म कार्यान्वयनमा आएको छैन ।
विद्युत् विकास विभागको वर्गीकरण अनुसार जलविद्युत् आयोजना साना (१ मेगावाटसम्म), मध्यम (१ मेगावाटदेखि १०० मेगावाटसम्म), र ठूला (१०० मेगावाटभन्दा माथि) गरी क्षमताको आधारमा विभाजन गरिएको छ ।
हाल नेपालमा निजी तथा सरकारी क्षेत्रले संयुक्त रूपमा विभिन्न साना तथा मध्यम जलविद्युत् आयोजना सञ्चालन गरिरहेका छन् । ठूला आयोजना भने अझै पनि पुँजी अभाव, प्राविधिक समस्या र राजनीतिक अस्थिरताका कारण ढिलो गतिमा अगाडि बढिरहेका छन् । जलविद्युत् विकासमा निजी क्षेत्रको योगदान पछिल्लो दशकमा उल्लेखनीय रूपमा वृद्धि भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक कम्पनीहरू (आइपिपी) ले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेर आयोजना निर्माण र सञ्चालन गरिरहेका छन् ।
जलविद्युत्ले नेपालमा वातावरणमैत्री, दीर्घकालीन र दिगो ऊर्जा विकासको सम्भावना पहिल्याएका छन् । जलविद्युत् उत्पादनमा कार्बन उत्सर्जन नगर्ने भएकाले जलवायु परिवर्तनका सन्दर्भमा पनि यसको महत्त्व बढ्दो छ । ग्रामीण विद्युतीय, औद्योगिक विकास, कृषि, सिँचाइ तथा पर्यटन प्रवर्द्धनमा पनि जलविद्युत्ले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
नेपालमा जलविद्युत् विकासको सम्भावना बढी देखिनुमा प्रमुख कारणमध्ये एक हो –स्थायी जलस्रोतहरूको धेरै उपलब्धता हुनू । देशको भौगोलिक बनावट, मौसमी प्रणाली, हिमाली क्षेत्र र वर्षा प्रणालीले गर्दा यहाँ उच्च बहावयुक्त, निरन्तर प्रवाह हुने नदीहरू प्रशस्त छन् जसले वर्षैभरि जलविद्युत् उत्पादनलाई धेरै नै सम्भव बनाउँछ ।
हाम्रो देशमा संसारकै उच्च हिमशृङ्खलाहरू (हिन्दुकुश हिमालय) अवस्थित छ । देशका ६० प्रतिशतभन्दा बढी नदीहरू यी हिमाल र हिमनदीहरूबाट उत्पन्न हुन्छन् । गर्मीमा हिमनदी पग्लने र बर्खामा उच्च वर्षा हुने भएकाले नदीहरूमा पानीको प्रवाह सधैँ कायम रहन्छ । यहाँ वार्षिक औसत १ हजार ५०० मिलिमिटरदेखि २ हजार ५०० मिलिमिटरसम्म वर्षा हुन्छ । यो उच्च वर्षाको तथ्याङ्क हो ।
यहाँ कुल वार्षिक पानीको उपलब्धता २२५ अर्ब घनमिटर रहेको छ । यो सम्पूर्ण खोला नदीको जोडेर निस्केको तथ्याङ्क हो । यसैलाई हामीले भाग गर्ने हो भने प्रतिव्यक्ति वार्षिक पानी उपलब्धता ८ हजार घनमिटर (विश्व मापदण्ड अनुसार अत्यन्त धनी) भन्दा धनी छ । यसमा २०२१ को जनसङ्ख्याको आधार मानेर गरेको तथ्याङ्क हो । यहाँ उपलब्ध खोला नदीको संख्या हेर्ने हो भने लगभग ६ हजारभन्दा बढी साना तथा ठूला नदीहरू देशभर फैलिएका छन् र यसलाई जोड्ने हो भने कुल नेपालका नदीहरूको लम्बाइ करिब ४५ हजार किलोमिटर रहेको अनुमान छ ।
यी नदीहरूलाई निम्न चारवटा मुख्य स्थायी नदी प्रणालीहरूमा विभाजन गरिएको छ, जसले वर्षभर पानी प्रवाह गर्छन्:
यी सबै प्रणालीहरूमा वर्षभर पानी प्रवाह हुने भएकाले नदी प्रवाहमा आधारित (आरओआर) र जलाशययुक्त जलविद्युत आयोजना दुवै सम्भव छन् ।
नेपालको पानीको चक्र (हाइड्रोलोजिकल साइकल) अपेक्षाकृत स्थिर छ । मनसुनको समयमा कुल वर्षाको ८० प्रतिशतभन्दा बढी हुने भए पनि हिमनदीहरूको कारण सुख्खा मौसममा पनि नदीहरूमा प्रवाह जारी रहन्छ । यो प्रवाह जलविद्युत् आयोजना सञ्चालन गर्न लागि अत्यन्त उपयोगी हुन्छ । यहाँका हिमालबाट निस्किने नदीहरूमा सुख्खा मौसममा पनि ४० प्रतिशत पानी प्रवाह कायम रहन्छ, जसले नदी प्रवाही (आरओआर) आयोजना सञ्चालनमा निरन्तरता दिन्छ । सँगसँगै वर्षामा प्रवाह अत्यधिक बढ्छ, जसले जलाशययुक्त आयोजनालाई ऊर्जा भण्डारणको लागि सहयोग गर्दछ ।
हाल निर्माण भइरहेका वा प्रस्तावित ठूला आयोजनाहरूले सिजनल प्रवाहको समस्यालाई समाधान गर्दै जलाशययुक्त प्रविधि अपनाइरहेका छन् । यस्ता आयोजना विशेष गरी स्थायी जलस्रोतमा आधारित हुन्छन् । जस्तै, ऐले प्रस्तावित भएका जस्तै बुढीगण्डकी जलविद्युत् आयोजना (१२०० मेगावाट) जलाशययुक्त, माथिल्लो कर्णाली (९०० मेगावाट) रन अफ रिभर तर स्थायी पानी प्रवाह तथा प्रस्तावित जलविद्युत्ंहरु छन्:
जलविद्युत विकास आफ्नो देशको पैसा ले मात्र सम्भव छैन: विश्व बैंक, एसियाली विकास बैंक, र भारत (बङ्गलादेश जस्ता छिमेकी मुलुकहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालमा स्थायी जलस्रोतमा आधारित जलविद्युत्मा लगानी बढाउँदै गएका छन् । २०२४ सम्म भारतले १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने प्रतिबद्धता जनाएको छ, जसको स्रोत स्थायी नदीहरूमा आधारित आयोजना हो । बङ्गलादेशले ५०० मेगावाट विद्युत् नेपालबाट स्थायी जलस्रोतको आधारमा लिने सम्झौता गरेको छ।
जलस्रोतमा प्रभाव
जलवायु परिवर्तन आज एक गम्भीर चुनौती बनेको छ । यसको प्रभाव विश्वव्यापी रूपमा देखिएको छ । नेपाल जस्ता हिमाली मुलुकमा यसको प्रभाव झनै गम्भीर मानिन्छ, किनकि यहाँको प्रमुख जलस्रोतहरू हिमाल, हिमनदी, र मौसमी वर्षा जलवायुको सन्तुलनमा अत्यधिक निर्भर छन् । जलवायु परिवर्तनले नेपालका जलीय स्रोतहरूमा विभिन्न तरिकाले प्रभाव पारिरहेका हुन्छन्, जुन जलविद्युत, कृषि, पिउने पानी, र जैविक विविधतामा प्रत्यक्ष असर पार्दछ ।
यसले नेपालको हिमनदी पग्लिने दरमा वृद्धि गरेको छ । नेपालका प्रमुख नदीहरू कोसी, गण्डकी, कर्णाली हिमनदीबाट उत्पन्न हुन्छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलीय तापमान वृद्धिले हिमनदीहरू तीव्र रूपमा पग्लिरहेका तथ्याङ्क देखाइरहेको छन् । सन् १९८० यता नेपालका हिमनदीहरूको पग्लिने दर २–३ गुणा बढेको तथ्याङ्क छ ।
पछिल्लो ३० वर्षमा नेपालका धेरै हिमनदीको आकार १५–३० प्रतिशतसम्म घटेको छ । आइएमएफ (२०२४) को प्रतिवेदन अनुसार त २१०० सम्ममा नेपालका झन्डै ८० प्रतिशत साना हिमनदीहरू पूर्ण रूपमा हराउने जोखिम छ । यसको प्रभाव जलस्रोतमा धेरै हुन सक्छ । जस्तो मौसमी पानी प्रवाहमा असन्तुलन रहने तथा प्रारम्भिक समयमा पानीको अत्यधिक प्रवाह र पछि सुख्खा भई पानीको हाहाकार हुने र दीर्घकालमा नदीहरूको स्रोत नै सुक्ने सम्भावना पनि उच्च रहेको छ ।
जलवायु परिवर्तनको प्रभावले वर्षाको समय, दर, र वितरणमा असमानता देखिएको छ । नेपालको अधिकांश वर्षा मनसुनमा निर्भर छ । अझै भनौँ, ८० प्रतिशत वर्षा त मनसुनमा नै हुन्छ तर जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा असामान्य बन्दै गएको छ । जस्तो कि, पछिल्लो २० वर्षमा मनसुनको सुरु हुने समय १–२ साता ढिला हुँदै गएको छ ।
हालै तराईमा कडा खडेरी देखियो । कम समयमा अत्यधिक वर्षा भएको देखियो । तथ्याङ्क अनुसार २०२३ मा नेपालको ७० प्रतिशत भूभागमा औसतभन्दा कम वर्षा भएको थियो । यसका पनि अल्पकालीन र दूरगामी प्रभाव छन् । जस्तै, बाढीको जोखिम बढ्ने, तर जलाशयमा पर्याप्त भण्डारण नहुने र हिउँदमा जलाशय र नदीहरूमा पानीको कमी हुनु हो । यसले समग्र जलविद्युत् आयोजनाको उत्पादन क्षमता घट्ने हुन्छ ।
जलवायु परिवर्तनका कारण चरम मौसमी घटना जस्तै असाधारण बाढी र लामो समयको खडेरी बढ्दै गएका छन् ।
अहिले पनि जलवायुका केही बुज्रुकहरूले यो तथ्यलाई स्वीकारिरहेका छैनन् तर पनि जलवायु परिवर्तन भनेको यही नै हो । हामीसँग भएको तथ्याङ्कले भन्छ कि २०२१–२०२४ बिच नेपालमा १५ भन्दा बढी बाढी÷पहिरोका ठूला घटना भएका छन् । २०२५ को प्रारम्भमा सुदूरपश्चिममा १० हप्तासम्म वर्षा नहुँदा गम्भीर खडेरी उत्पन्न भयो । अनि २०२५ कै वर्षामा तराई क्षेत्र सुक्खा हुन पुग्यो । पूर्ण रूपमा रोपाइ पनि हुन सकेको छैन । यसले जलविद्युत्मा बाढीले जलविद्युत् आयोजना, बाँध र नालाका संरचनामा क्षति पुर्याइरहेको छ । खडेरीले पिउने पानीको स्रोत सुक्ने, नदी प्रवाह घट्ने र पानी को चरम अभाव ब्योरिरहेका छौँ । सिँचाइ र कृषि प्रणालीमा गम्भीर असर पारेको छ ।
जलवायु परिवर्तनले जलाशय र तालहरूमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । तापमान वृद्धि र असमान वर्षाका कारण नेपालका जलाशय र तालहरूको सन्तुलनमा असर परेको हामीले देखे भोगेका छौँ । रारा ताल, फेवा ताल जस्ता स्थायी जलाशयहरूको पानीको स्तरमा उतारचढाव भएको अध्ययनले देखिरहेको छ । उच्च हिमाली क्षेत्रमा नयाँ हिमताल (ग्लेसियल लेक) बन्ने र बिस्फोटको घटना बढेका छन् । हालै मात्र पनि चीन र तिब्बत क्षेत्र मा भएका हिमताल विस्फोटका कारण हाम्रो उत्तरी क्षेत्रमा बढी आयो । नेपालमा हाल ३ हजार ५२५ हिमताल छन्, जसमध्ये २१ अत्यधिक जोखिमयुक्त छन् (इसिमोड २०२४०) ।
१९८५ मा सगरमाथा क्षेत्रमा डिग त्सो ताल फुट्दा ठूलो क्षति भयो त्यो लगायत यहाँ हरेक वर्ष हिमताल फुटेर क्षति भोगिरहेका छौँ । जलवायु परिवर्तनले पारिस्थितिक प्रणाली, जलीय जैविक प्रणाली र पानीको गुणस्तरमा पनि असर पार्दछ । जस्तै पानीको तापमान बढ्दा माछा प्रजनन क्षमतामा गिरावट आएको देखिएको छ । नदी तथा तालहरूमा अत्यधिक वृद्धि भएको छ, जसले पानी प्रदूषण बढाउँछ र पिउने पानीको स्रोतहरूमा ब्याक्टेरियोलोजिकल प्रदूषण बढेको छ ।
ऊर्जाको प्रमुख स्रोत जलविद्युत भएको नेपालजस्तो देशका लागि जलवायु परिवर्तनको प्रभाव झनै गम्भीर हुन्छ । जलवायु परिवर्तनले पानीको मात्रा, बहावको समय, तापक्रम, वर्षाको ढाँचा र उच्च मौसमी परिवर्तन ल्याउँछ, जसले जलविद्युत् उत्पादनमा विभिन्न तरिकाले असर गर्दछ ।
जलविद्युत उत्पादनका लागि पानीको निरन्तर र अनुमानित प्रवाह आवश्यक हुन्छ तर जलवायु परिवर्तनका कारण वर्षा एकैचोटी धेरै हुने र दीर्घकालसम्म नहुने अवस्था बढेको छ । सँगसँगै हिमनदीहरू तीव्र रूपमा पग्लँदै गएका छन्, जसले सुरुमा पानीको मात्रा बढाए पनि दीर्घकालमा नदी प्रवाह घटाउँछ । जस्तो कि २०२०–२०२४ बिच, नेपालका नदीहरूमा सिजन अनुसारको पानी प्रवाहमा १०–३० प्रतिशतसम्म घटबढी भएको देखिएको छ (जलस्रोत तथा सिँचाइ विभागको प्रतिवेदन, २०२४) । यसको प्रभावलाई माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) मा वर्षको ४–५ महिना क्षमता अनुसार उत्पादन हुँदैन, कारण — सुक्खा मौसममा पानीको कमी हो त्यहाँ सजिलै देख्न सकिन्छ ।
अर्को प्रभाव भनेको वर्षाको फरक प्रवृत्ति हो । नेपालको जलविद्युत् प्रणाली मनसुनमा भर पर्ने भएकोले वर्षाको मात्रा र समयको परिवर्तनले उत्पादनमा प्रत्यक्ष प्रभाव पार्दछ । बर्खामा अत्यधिक पानी हुँदा धेरै आयोजना बाढीबाट क्षतिग्रस्त हुने तथा सुख्खा हिउँद महिनामा उत्पादन स्तर घट्ने गरेको प्रवद्र्धकले बताउन थालेका छन् । २०२३ काे सुक्खा मौसममा विद्युत् उत्पादनमा ३० प्रतिशत घटेको कुरा आएको थियो (नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन, २०२४) ।
यसबाहेक हिमताल बिस्फोटपछि आउने बाढीको जोखिमले गर्दा पनि जलविद्युतमा प्रभाव परि नै रहेको हुन्छ । हिमनदी पग्लँदा नयाँ तालहरू बनिरहेका छन् । ती ताल फुटेमा एकै चोटि ठूलो मात्रामा पानी बग्ने खतरा हुन्छ, जसलाई ग्लेसियल लेक आउटब्रस्ट फ्लड (जिएलओएफ) भनिन्छ । यसको प्रभाव स्वरूप जलविद्युत् आयोजनामा क्षति, बाँध, सुरुङ, र विद्युत्गृहमा बाढीको जोखिम बढेको हुन्छ । नेपालमा हाल ३ हजार ५२५ हिमताल छन्, जसमध्ये २१ अत्यन्त जोखिमयुक्त छन् (इसिमेड, २०२४०) ।
जलवायु परिवर्तनले जलाशययुक्त जलविद्युत आयोजनामा जलवायु परिवर्तनका कारण पानीको स्तर घट्दा उत्पादन क्षमता कम हुन्छ । एउटा अध्ययनले कुल जलाशययुक्त आयोजना उत्पादनको सिजन अनुसार २०–४० प्रतिशत घट्ने रिपोर्ट गरिएको छ (एडिबी स्टडी, २०२३) । भने कुल नदी प्रवाह २०५० सम्ममा १०–१५ प्रतिशत घट्न सक्छ भन्ने अनुमान छ (आइपिसिसी फिफ्थ स्टेटमेन्ट रिपोर्रट) ।
कहिलेकाहीँ सञ्चालनमा आएका जलविद्युत् केन्द्रमा उपकरण र संरचनामा असर पनि भइरहेको हुन्छ । ठुलो बाढी वा पहिरोबाट विद्युत्गृह, पेनस्टक पाइप, ट्रान्सफर स्टेसनहरूमा क्षति पुग्छ । बाढीले 'सेडिमेन्टेसन' बढाउँछ, जसले टरबाइन क्षति गर्न सक्छ। विभिन्न समय मा आएका बाढीले त्यस्ता क्रियाकलाप भई नै रहेको हुन्छ । जस्तै, २०७७ मा, म्याग्दीमा आएको बाढीले ४ वटा साना जलविद्युत आयोजनामा २० करोड रुपैयाँभन्दा बढीको क्षति पुर्याएको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रत्येक वर्ष १५ देखि २० दिन बाढी पहिरोका कारण जलविद्युत् केन्द्रको उत्पादन ठप्प हुने तथ्य आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
जलवायु परिवर्तनले जलविद्युत्को दीर्घकालीन उत्पादन क्षमतामा गिरावट आउँछ । सुरुमा हिमाल पग्लिँदा पानी धेरै हुन्छ तर दीर्घकालमा स्रोत सुक्दै जाँदा उत्पादन घट्छ । आइपिसिसीका अनुसार सन् २१०० सम्ममा नेपालको ५० प्रतिशत जलविद्युत् सम्भावना गुम्न सक्ने खतरा छ । सन् २०५० सम्ममा तापक्रम वृद्धिको कारण नेपालको जलविद्युत उत्पादन १० देखि १५ प्रतिशत ले घट्ने सम्भावना छ, (जल तथा ऊर्जा आयोग, २०२२) ।
यद्यपि, जलवायु परिवर्तनको कारण विद्युत् उत्पादनमा सकारात्मक पक्ष पनि भेटिन्छन् । भारी वर्षा तथा त्यसपछिको बाढीबाट अतिरिक्त ऊर्जा उत्पादन गर्न सकिन्छ । वर्षाको अतिरिक्त पानीलाई जलाशयमा भण्डारण गरी बढी विद्युत् उत्पादन गर्न सकिन्छ । जसले सुख्खा मौसममा पनि निरन्तर उत्पादन सम्भव बनाउँछ । त्यस्तै पम्प स्टोरेज प्रविधि प्रयोग गरेर पानी माथिल्लो जलाशयमा पुनः पठाएर आवश्यकता अनुसार विद्युत् उत्पादन गर्न सकिन्छ ।
हिमनदीहरू पग्लँदै गर्दा केही दशकसम्म पानीको प्रवाह अधिक हुने सम्भावना हुन्छ । यस्तो समयमा नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाहरू तीव्र निर्माण गरेर २०–३० वर्षको उत्पादन अवधिलाई लाभदायक बनाउन सकिन्छ । साथै मौसमी भण्डारण प्रणाली विकास गर्न सकिन्छ, जसले अतिरिक्त प्रवाहलाई सम्हाल्न मद्दत गर्छ ।
जलविद्युत् उत्पादन र बजारीकरणका लागि कार्बन वित्त, ग्रीन बोन्ड, र जलवायु कोष जस्ता अन्तर्राष्ट्रिय स्रोतहरूबाट जलविद्युत् आयोजनामा लगानी ल्याउन सकिन्छ । यी र यस्ता केही सकारात्मक पक्ष भए पनि समग्र रूपमा जलवायु परिवर्तनका सकारात्मक भन्दा धेरै नकारात्मक असर हरू नै देखिन्छन् । हुन त हरित जलवायु कोष मार्फत नेपालले जलविद्युत्का लागि १०० मिलियनसम्म सहायता पाउने सम्भावना देखिने कुराहरू सकारात्मक पाइन्छन् तर त्यसका लागि ठोस योजना चाहिन्छ ।
लेखक पोखरेल वातावरणविद् हुन् ।