काठमाडौं । एक वर्षको समयावधिमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तथा निजी विद्युत उत्पादकहरूले करिब ७२३ मेगावाट बिजुली केन्द्रीय प्रणालीमा योगदान पुर्याएका छन् । आर्थिक वर्ष (आव) २०७८/७९ मा २५ विद्युत आयोजनाबाट उक्त परिमाणको विद्युत उत्पादन भएको हो ।
विद्युत उत्पादन गरी प्रणालीमा योगदान पुर्याउनेमा सबैभन्दा बढी भूमिका प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडद्वारा निर्मित ४५६ मेगावाटको माथिल्लो तामाकोसीको रह्यो । यसपछि बाँकी विद्युत निजी क्षेत्रका जलविद्युत, सोलार र बगासबाट उत्पादन भएको छ ।
यो चालू आवमा सरकारले राखेको लक्ष्यको करिब आधा उपलब्धि (करिब ४४.३८ प्रतिशत) मात्र हो । चालू आवमा १६२९ मेगावाट विद्युत उत्पादन थप गरी जडित क्षमता ३००० मेगावाट पुर्याउने लक्ष्य राखेको थियो तर जडित क्षमता करिब २२१० मेगावाट हाराहारी तथा विद्युत उत्पादन गरेका आयोजनाको संख्या १३३ पुगेको छ ।
प्रणालीमा थपिएकामा १९ वटा जलविद्युत (७०६ मेगावाट), ५ वटा सोलार (१४ मेगावाट) र ३ मेगावाटको एउटा उखुको खोस्टा (बगास) बाट विद्युत उत्पादन गरेका आयोजनाहरू छन् । प्रणालीमा आएका ठूला आयोजनाहरूमा माथिल्लो तामाकोसी सहित २५ मेगावाटको सिंगटी, ३० मेगावाटको न्यादी, ५२.२ मेगावाटको लिखु–४, २९.०४ मेगावाटको तल्लो लिखु लगायत छन् ।
यसैगरी, सौर्य आयोजनाहरूमा ४ मेगावाटको चन्द्रनिहापुर, ५ मेगावाटको बेलचौतारा, १ मेगावाटको ढल्केबर, ३ मेगावाटको ढल्केबर र १ मेगावाटको सिमरा रहेका छन् । यो वर्ष चिनी उद्योगबाट उत्पादन भएको ३ मेगावाट विद्युत पनि प्रणालीमा थपिएको छ; जुन इन्दु शंकर चिनी उद्योगले उत्पादन गरेको छ ।
यो वर्ष ३० मेगावाटको लिखु–ए, २५ मेगावाटको दोर्दी खोला–ए, २७ मेगावाटको दोर्दी निर्माण सम्पन्न भएर पनि प्रसारण लाइन तयार नहुँदा प्रणालीमा जोडिन सकेनन् । उता प्राधिकरणका सहायक कम्पनीहरूबाट निर्माणाधीन ५७ मेगावाटका माथिल्लो तथा सान्जेन र १११ मेगावाटको रसुवागढी सहित निजी क्षेत्रको ८६ मेगावाटको सोलु–दूधकोसी, ८२ मेगावाटको तल्लो सोलु पनि चालू वर्षमा आउन सकेनन् ।
कोराना महामारी (कोभिड–१९) को असर तथा प्रसारण लाइन निर्माण नहुँदा अधिकांश आयोजनाले तोकिएको समयमा उत्पादन सुरु गर्न नसेकेको देखिन्छ । यसै आवभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहे पनि महामारी लगायत कारणले पछाडि धकेलिएका सान्जेन, रसुवागढी, डाउन पिलुवा र सोलु बेसीन, दोर्दी बेसीन, कालंगा गाड बेसीनमा निर्माणाधीन आयोजनाले आगामी आर्थिक वर्षभित्र उत्पादन सुरु गर्ने प्रक्षेपण गरेका छन् ।
आर्थिक वर्ष २०७८/७९ भित्र प्रणालीमा जोडिएका विद्युत आयोजनाहरू
जलविद्युत आयोजनाहरू
स्राेत : नेपाल विद्युत प्राधिकरण
सुनुवार विगत ५ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।