• प्राधिकरण : ९८०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३२५० मे.वा.घन्टा
  • आयात : २८७ मे.वा.घन्टा
  • निर्यात : ७१२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३०१२७ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५१८ मे.वा.
×

उत्प्रेरणाकाे धरातल र प्राधिकरणमा कर्मचारी उत्प्रेरणा

२०७८ साउन १४

कर्मचारी उत्प्रेरणा : संगठनमा  कार्यरत कर्मचारीलाई संगठनात्मक उद्देश्य प्राप्तिको लागि स्वत:स्फुर्त काममा तल्लिन हुन प्रेरित गर्ने व्यक्तिको आन्तरिक मनोभावनालाई उत्प्रेरणा भनिन्छ । उत्प्रेरणाले व्यक्तिमा रहेको आन्तरिक क्षमता तथा शक्तिलाई कार्यरूपमा परिणत गर्दछ । व्यक्तिमा काम गर्ने क्षमता हुँदाहुँदै काम गर्ने इच्छा नहुन सक्छ, यस्तो अवस्थामा उत्प्रेरणा पायो भने व्यक्तिमा काम गर्ने इच्छा जागृत हुन जान्छ । यसर्थ, उत्प्रेरणालाई कार्य गर्ने क्षमता र कार्य गर्ने इच्छाबीचको पुलसमेत भन्ने गरिन्छ । उत्प्रेरणाले व्यक्तिमा काम गरुँ-गरुँ भन्ने आन्तरिक भावना जागृत गराउँछ र  व्यक्तिको कार्यक्षमता वढाउँछ ।

उत्प्रेरणाका प्रकार:

कर्मचारी उत्प्रेरणालाई निम्नानुसार बर्गीकरण गरी अध्ययन  गर्न सकिन्छ :

क) सकारात्मक र नकारात्मक उत्प्रेरणा : कर्मचारीहरूलाई पुरस्कार, प्रशंसा तथा विविध प्रकारका मौद्रिक र गैरमौद्रिक सेवा सुविधा उपलव्ध गराई कामप्रति उत्प्रेरित गराउने कार्य सकारात्मक उत्प्रेरणा हो । सकारात्मक उत्प्रेरणाले कर्मचारीलाई लाभको प्रलोभनमा पारेर काम गर्न उत्प्रेरणा जगाउँछ। सकारात्मक उत्प्रेरणाले कर्मचारीको मनोबल उच्च पार्दै कर्मचारीलाई सधैं कामप्रति उत्प्रेरित र जिम्मेवार बनाउँछ ।

नकारात्मक उत्प्रेरणाले कर्मचारीहरूलाई डर त्रास र भयको माध्यमबाट पनि कामप्रति उत्प्रेरित  गराउन सकिन्छ भन्ने विश्वास राख्दछ। काम नगर्नेलाई सेवावाट अलग गर्ने, अनुशासनको कारबाही गर्ने, ग्रेड घटुवा गर्ने, तलब रोक्का गर्ने ,सरुवा गर्ने जस्ता क्रियाकलापको माध्यमवाट कर्मचारीमा भय, त्रास र डर उत्पन्न गराई कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न सकिन्छ। नकारात्मक उत्प्रेरणाका विधि छोटो समयका लागि परिस्थित हेरी प्रयोग गर्नु आवश्यक छ। नकारात्क उत्प्रेरणाका विधि धेरै प्रयोग गरेमा संगठनमा विवाद तथा द्वन्द्व बढेर जान्छ जुन संगठनका लागि हानिकारक हुन्छ ।

ख) मौद्रिक र गैरमौद्रिक उत्प्रेरणा : प्रत्यक्ष आर्थिक लाभ हुने सेवा सुविधाद्वारा कर्मचारीलाई उत्प्रेरित गर्ने विधि मौद्रिक उत्प्रेरणा हो । मौद्रिक उत्प्रेरणाका तत्त्व अन्तगर्गत आकर्षक तलब सुविधा, भत्ता, ग्रेड, अतिरक्त समय भत्ता, पेन्सन, उपादान, बिदा वापतको रकम, कार्यसम्पादनमा आधारित तलब, बाेनसलगायत मौद्रिक सेवा सुविधा पर्दछन् । प्रत्यक्षरूपमा आर्थिक लाभसँग नजोडिएका सेवा सुविधाद्वारा कर्मचारीलाई उत्प्रेरित गर्ने विधि गैरमौद्रिक उत्प्रेरणा हो । यसअन्तर्गत निर्णय प्रक्रियामा सहभागिता, प्रशंसा तथा पुरस्कार, स्याबासी, बृत्ती विकासका अवसर अधिकार प्रत्यायोजन असल कार्यवातावरण, गुनासो सुनुवाई, तालिम, गरेको कामलाई मान्यता र प्रोत्साहन लगायतका कार्य पर्दछन् । संगठनको क्षमता तथा कर्मचारीको आवश्यकता तथा मनोविज्ञान बुझी मौद्रिक र गैरमौद्रिक दुवै उत्प्रेरणाका उपायहरू संगठनमा लागू गर्नुपर्ने हुन्छ।

ग) आन्तरिक तथा बाह्य उत्प्रेरणा : काम गर्दै जाँदा व्यक्तिमा स्वत: उत्पन्न हुने उत्प्रेरणा आन्तरिक उत्प्रेरणा हो । काम गर्ने क्रममा आउने आन्तरिक सन्तोष, गौरव, आत्मसम्मान आन्तरिक उत्प्रेरणाका महत्त्वपूर्ण स्रोत हुन् । त्यसैगरी, काम गरिसकेपछि प्राप्त हुने स्याबासी, प्रशंसा, पुरस्कार, तलब-भत्ता लगायत बाह्य उत्प्रेरणाका तत्त्व हुन् ।

त्यसैगरी, उत्प्रेरणालाई व्यक्तिगत र सामुहिक उत्प्रेरणाका रूपमा समेत विभाजन गरी अध्यन गर्न सकिन्छ । कर्मचारीले व्यक्तिगतरूपमा प्राप्त गर्ने प्रशंसा, पुरस्कार थप भत्ता लगायतका लाभ व्यक्तिगत उत्प्रेरणाका तत्त्वहरू हुन् भने कर्मचारीहरूले सामुहिकरूपमा प्राप्त गर्ने विभागीय पुरस्कार, व्याच प्रमोशनलगायत सामुहिक उत्प्रेरणा हुन्।

प्राधिकरणमा कर्मचारी उत्प्रेरणाका लागि विद्यमान व्यवस्था :

विद्दुत उत्पादन, प्रसारण,  वितरण र व्यापारको समेत जिम्मेवारी पाएको विद्दुत प्राधिकरण सबैभन्दा बढी जनशक्ति कार्यरत रहेको सार्वजनिक संस्थान हो । हाल यस संस्थामा कुल स्वीकृत दरबन्दी ११०५२ रहेकोमा स्थायी कर्मचारीको संख्या ८४६७ (२०७८ पौष मसान्तसम्म)   रहेको छ र ज्यालादारी कर्मचारीको संख्या करिव २८०० छन् । प्राधिकरणले कार्यरत कर्मचारीलाई कामप्रति उत्प्रेरित गराउँदै सेवाप्रवाहलाई थप प्रभावकारी गराउन विभिन्न प्रकारका उत्प्रेरणाका उपायहरु अवलम्वन गरेको छ ।

ती उपायहरु निम्नानुशार रहेका छन् :

प्राधिकरणले कर्मचारीहरुलाइ कामप्रति उत्प्रेरित गराउँदै सांगठनिक लाभ लिन नेपाल विद्दुत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०७५ मा सकारात्मक उत्प्रेरणा (मौद्रिक र गैरमौद्रिक), नकारात्मक उत्प्रेरणा ,व्यक्तिगत र सामुहिक उत्प्रेरणाका विभिन्न व्यवस्था गरेको देखिन्छ ती व्यवस्थाहरू देहायवमोजिम रहेका छन्  :

प्राधिकरणले तलब , तलब वृद्धि, ग्रेड, वार्षिक ग्रेड वृद्धि, अतिरिक्त समय भत्ता, खाजा भत्ता, सिफ्ट्ट भत्ता, काउन्ट्टर भत्ता ,जोखिम भत्ता, औषधीउपचारबापतको रकम, बिदाबापतको रकम, उपादान, पेन्सन, सावधिक जीवन बिमा, चाडपर्वखर्च, पोसाक भत्ता, काज दुर्गम भत्ता,बैठक भत्ता, शिसु स्याहार भत्ता, वार्षिकाेत्सव भत्ता लगायतका मौद्रिक उत्प्रेरणाको व्यवस्था गरेको छ ।

त्यसैगरी, गैरमौद्रिक उत्प्रेरणाको रूपमा तालिम, विदेश भ्रमण, आवास सुविधा, बिदाको सुविधा, सवारी सुविधा, निर्णय प्रक्रियामा आधिकारिक ट्रेड युनियनका माध्यमबाट सहभागिता, बृति विकास,सुपरिवेक्षकको माध्यमबाट गुनासो सुनुवाई लगायत सुविधा कर्मचारीहरूलाई दिइएको छ । प्राधिकरणका कर्मचारीलाई सचेत गराउने, विभागीय कारवाहीस्वरूप विभिन्न कारबाही गर्ने, सरुवा गर्ने लगायत व्यवस्थाले नकारात्मक उत्प्रेरणाको काम गरेको पाइन्छ । व्यक्तिगत उत्प्रेरणाका रूपमा कर्मचारीलाई तलब भत्ता लगायतका सुविधाका साथमा कर्मचारीलाई प्रोत्साही पुरस्कारको व्यवस्था गरिएको छ भने सामुहिक उत्प्रेरणाका रूपमा उत्कृष्ट कार्यालयलाई पुरस्कारको व्यवस्था गरिएको छ।

कर्मचारी उत्प्रेरणाको विद्यमान अवस्था

प्राधिकरणका कर्मचारीको उत्प्रेरणाको स्तर कस्तो छ ? कर्मचारीको उत्प्रेरणा बढाउन मौद्रिक वा गैरमौद्रिक उत्प्रेरणामध्ये कुन सबैभन्दा बढी प्रभावकारी छ ? के प्राधिकरणले अवलम्ब गरेका उत्प्रेरणाका उपायहरू प्रयाप्त छन् ? यी र यस्तै उत्प्रेरणा सम्बन्धी विविध सवालको बारेमा औपचारिकरूपमा प्राधिकरणले हालसम्म अध्ययन गरेको भने देखिँदैन । कर्मचारी सेवा सर्त विनियमावलीमा समेटिएका अनेकन सेवा सुविधा निजामती सेवावाट साभार गरिएको छ भने पेशागत विशिष्टताका आधारमा थोरै मात्र उत्प्रेरणाका उपायहरू अवलम्बन गरेको देखिन्छ ।

पंक्तिकारले वितरण तथा ग्राहकसेवा निर्देशनालयअन्तर्गत कार्य गर्ने कर्मचारीको उत्प्रेरणाका सम्बन्धमा गरेको अनौपचारिक सर्वेक्षण तथा अध्ययनले प्राधिकरणमा कार्यरत कर्मचारीको उत्प्रेरणाका सम्बन्धमा केही तथ्य उजागर गरेको छ । यस अध्ययनका केही प्रमुख निष्कर्ष देहायवमोजिम रहेको पाइयो :

सर्वेक्षणमा सहभागी  ७३ प्रतिशत कर्मचारीले मौद्रिक उत्प्रेरणालाई महत्त्व दिएको पाइयो भने २७ प्रतिशत कर्मचारीले गैरमौद्रिक उत्प्रेरणाका तत्वलाइ महत्त्व दिएको पाइयो ।

मौद्रिक उत्प्रेरणाका तत्त्वमध्ये ८१ प्रतिशत कर्मचारीले अतिरिक्त समय भत्तालाई उत्प्रेरणाको प्रमुख तत्वको रुपमा लिने गरेको देखियो ,त्यसैगरी दोस्रो प्रमुख तत्त्वको रूपमा तलब बृद्धि र तेस्रो तत्त्वका रूपमा ‍औषधीउपचारबापतको रकमलाई लिने गरेको देखियो ।

मौद्रिक उत्प्रेरणाका तत्त्वमध्ये ८१ प्रतिशत कर्मचारीले अतिरिक्त समय भत्तालाई उत्प्रेरणाको प्रमुख तत्वको रुपमा लिने गरेको देखियो ,त्यसैगरी दोस्रो प्रमुख तत्त्वको रूपमा तलब बृद्धि र तेस्रो तत्त्वका रूपमा ‍औषधीउपचारबापतको रकमलाई लिने गरेको देखियो । गैरमौद्रिक उत्प्रेरणाका तत्त्वमध्ये कर्मचारीले पुरस्कार तथा ग्राहक र सुपरिवेक्षकवाट प्राप्त हुने प्रशंसालाई महत्त्व दिएको पाइयो । उक्त सर्वेक्षणमा कर्मचारीहरूले प्राधिकरणले क्षमता विकासका तालिम प्रयाप्त सञ्चालन नगरेकोप्रति गुनासो समेत व्यक्त गरेका छन् । उमेर समुहलाई आधार मान्दा ५० वर्षभन्दा माथिका कर्मचारीको उत्प्रेरणास्तर कमजोर रहेको पाइयो भने नवप्रवेशीहरूको उत्प्रेरणास्तर सन्तोषजनक पाइयो । प्राधिकरणले उपलब्ध गराएका सेवा सुविधाप्रति कर्मचारीहरु पूर्ण सन्तुष्ट नभए पनि निराश भने नरहेको अध्यनबाट प्रष्ट भएको छ ।

नेपाललगायत अतिकम विकसित मुलुक र विकासशील मुलुकका कर्मचारीले मौद्रिक उत्प्रेरणाका तत्त्वलाई ज्यादा महत्त्व दिने गरेको विभिन्न विद्वानका अनुसन्धानमा उल्लेख गरेको पाइन्छ । विकसित मुलुकका कर्मचारीले मौद्रिक सुविधाभन्दा गैरमौद्रिक सुविधालाई बढी महत्त्व दिएको पाइन्छ। मौद्रिक वा गैरमौद्रिक तत्त्वमध्ये कर्मचारी उत्प्रेरणाका लागि कुन तत्त्व बढी प्रभावकारी छ भन्ने सम्बन्धमा व्यवस्थापनविद्बीच समेत मतऐक्यता देखिfदैन । टेलर, अब्राहम मास्लो लगायतका व्यवस्थापनविद्ले मौद्रिक उत्प्रेरणालाई उत्प्रेरणाको प्रमुख तत्त्वको रूपमा लिएका छन् ।

हर्जबगले गैरमौद्रिक उत्प्रेरणालाई ज्यादा महत्त्व दिएको पाइन्छ । यी दुख् तत्त्वमध्ये कुनलाख् बढी महत्त्व दिने भन्ने सन्दर्भमा कर्मचारीको आर्थिक अवस्था, रुची, आवश्यकता, कर्मचारीको माग, संगठनको क्षमता, बजारको मूल्य अवस्था, सुशासनको अवस्था, सरकारको  क्षमतालगायतका पक्ष जिम्मेवार हुने गर्छन् । कर्मचारीलाई कामप्रति उत्प्रेरित बनाउँदै संगठनात्मक लाभ लिन मौद्रिक र गैरमौद्रिक दुवै उत्प्रेरक तत्त्वबीच उचित तादम्यता हुनु अपरिहार्य छ ।

(लेखक केसी, नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रशासकीय अधिकृत हुन्)

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit