विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
‘बाली घोषणापत्र जारी गर्दै’ सम्पन्न भयो ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’

बाली (इन्डोनेसिया) । ‘पावरिङ सस्टेनेबल ग्रोथ (नवीकरणीय ऊर्जाको दिगो विकास)’ भन्ने निचोडका साथ तीन दिनसम्म आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’ भव्यताका साथ सम्पन्न भएको छ । इन्टरनेशनल हाइड्रो पावर एसोसिएसन (आइएचए) को आयोजनामा मंगलबारदेखि सुरु भएको सम्मेलन आज (बिहीबार) सम्पन्न भएको हो ।

एसिया, दक्षिण पूर्वी एसिया, युरोप, अमेरिका, चीन लगायत राष्ट्रबाट झण्डै ९ सय जनाको सहभागिता रहेको सम्मेलन ‘बाली घोषणापत्र’ जारी गर्दै सकियो । घोषणापत्रले स्वच्छ, नवीकरणीय ऊर्जाद्वारा भरपर्दो, सम्पन्न र न्यून कार्बनयुक्त अर्थतन्त्र निर्माणका लागि दिगो जलविद्युत् विकास हुनुपर्ने पक्षलाई जोड दिएको छ ।

ऊर्जा उत्पादन र भण्डारका लागि संसारको सबैभन्दा ठूलो स्रोत जलविद्युत् रहेको सन्दर्भ उल्लेख गर्दै यसबाट नै उन्नत औद्योगिक विकासमार्फत विश्वको अर्थतन्त्रलाई बलियो बनाउने घोषणापत्रले औंल्याएको छ । यसले, जलस्रोतको उचित सदुपयोग र व्यवस्थानमा समेत विशेष भूमिका खेल्ने उल्लेख छ । 

प्रयोगमा आउनु बाँकी अधिकांश जलविद्युत् क्षमता विकासोन्मुख देशहरूमा रहेको हुँदा बाली घोषणापत्रले ती राष्ट्रमा लगानी विस्तार गर्न आह्वान गरेको छ । हिजोको औद्योगिक क्रान्ति पनि पानीबाटै परिचालित रहेको हुँदा अबको दिगो विकासलाई समेत पानी, हावा र सूर्यबाट उत्पादित बिजुलीले रूपान्तरण गर्न सक्ने घोषणापत्रको निचोड छ । यसले, विश्वभरका नीति निर्माता र विकासकर्तालाई एकै ठाउँमा उभ्याउन सघाउने विश्वास गरिएको छ ।

समापन समारोहमा इन्डोनेसियाका ऊर्जा तथा खनिजस्रोत मन्त्री अरिफिन तसरिफले यो सम्मेलनले विश्वका राष्ट्रहरूलाई शून्य कार्बन उत्सजर्नको लक्ष्यमा पुग्न जलविद्युत् अपरिहार्य रहेको सन्देश दिएको बताए । ‘विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको असरबाट जोगिँदै दिगो विकासको यात्रामा अगाडि बढ्न जलविद्युत् बलियो माध्यम भएर आएको छ,’ उनले भने, ‘यसले, सन् २०६० सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्ने इन्डोनेसियाको लक्ष्यलाई पनि ठूलो मद्दत गर्ने छ ।’

आइएचएका उपाध्यक्ष सुशील पाेखरेलले समन्वय गरेकाे अन्तरक्रिया कार्यक्रममा नेपाली तथा विदेशी वक्ताहरू । तस्बिर: ऊर्जा खबर

यसैगरी, इन्डोनेसियाकै सामुद्रिक मामिला तथा लगानी समन्वय राज्यमन्त्री नानी हेन्डियार्टीले देशको राष्ट्रिय लक्ष्य भेट्टाउन यो सम्मेलन सहायक सिद्ध हुने बताइन् । ‘हामीसँग ९५ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भाव्यता रहेको छ तर अहिलेसम्म निकै थोरै मात्र उपयोगमा आएको छ,’ उनले भनिन्, ‘बाली घोषणापत्रले जलविद्युत् विकासमार्फत न्यून कार्बन उत्सर्जनमुखी अर्थतन्त्रको विकास गर्नेमा हामी विश्वस्त भएका छौं ।’

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा आइएचएका अध्यक्ष माल्कोल्म टर्नबुलले पनि जलविद्युत्, पम्प हाइड्रो, सोलार लगायतले दिगो आर्थिक विकासलाई सघाउँदै आएको बताए । ‘यसैका आधारमा अबको विकासलाई निरन्तरता दिँदै जानुपर्छ, सम्मेलनले विश्वलाई नै नवीकरणीय ऊर्जा विकास अपरिहार्य रहेको सन्देश दिएको छ,’ उनले भने, ‘अब स्वच्छ ऊर्जा विकासमा क्रान्ति ल्याउने समय आएको छ ।’

समारोहपछि प्रतिक्रिया दिँदै नेपाल विद्युत् प्राधिकरणका निर्देशक प्रबल अधिकारीले सम्मेलनले नेपालको जलविद्युत् क्षेत्र वैदेशिक लगानीको आकर्षक गन्तव्य रहेको सन्देश प्रवाह गरेको बताए । ‘सम्मेलनका क्रममा विभिन्न राष्ट्रका प्रतिनिधि तथा विकासकर्ताहरूसँग भएको छलफलदबाट उनीहरू नेपालमा लगानी गर्नका लागि उत्साहित देखिएको पाइयो,’ उनले भने, ‘यसले, स्वच्छ ऊर्जामा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउनेमा विश्वस्त हुन सकिन्छ ।’ अब नेपालले पनि यस्तै सम्मेलन आयोजना गरी जलविद्युत् विकासको अवस्था र आफ्नो क्षमतालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने उनको भनाइ थियो ।

सोही क्रममा आइएचएका नवनियुक्त उपाध्यक्ष तथा बिजबेल इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सुशील पोखरेलले नेपालको जलविद्युत् विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई पर्याप्त जानकारी दिन सफल भएको बताए । ‘हामी विदेशी नीति निर्माता, लगानीकर्ता, निर्माण व्यवसायी, परामर्शदाता लगायत सबै सरोकारवालाहरूलाई नेपालमा लगानीको वातावरण छ, भन्ने सन्देश दिन सफल भएका छौं,’ कार्यक्रमको समापनपछि उनले ऊर्जा खबरसँग भने, ‘वैदेशिक लगानी आकर्षित गर्न गर्नुपर्ने सक्दो प्रयासहरू गरिएको छ । अब नेपालमा सरकार र निजी क्षेत्र सँगै मिलेर काम गर्नुपर्ने अपरिहार्यता पनि देखाएको छ ।’

कार्यक्रमको समापनपछि प्रतिक्रिया दिँदै नेपाल हाइड्रो पावर एसोसिएसन (एनएचए) का अध्यक्ष अरुण रजौरियाले दिगो तथा नवीकरणीय ऊर्जा विकासमा नेपालले गरेका काम र प्रयासहरू अन्तर्राष्ट्रिय मञ्चमा गराउन सफल भएको बताए । ‘यस खालका अन्तर्राष्ट्रिय सम्मेलन नेपालमै गर्ने वातावरण बन्नुपर्छ, अब हामी यसको तयारीमा जुट्ने छौं,’ उनले भने, ‘नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएको नेपालका लागि अबका दिन उज्याला हुने अपेक्षा गर्न सकिन्छ ।’

आइएचएका उपाध्यक्ष सुशील पाेखरेलले समन्वय गरेकाे अन्तरक्रिया कार्यक्रमपछि नेपाली नेपाली तथा विदेशी वक्ताहरू । तस्बिर: ऊर्जा खबर

उता, इपानका उपाध्यक्ष आनन्द चौधरीले नेपालको जलविद्युत् विकास कार्बन उत्सर्जन घटाउने विकल्पमात्र होइन, हाम्रो वातावरणीय संरक्षणमा समेत उतिकै जिम्मेवार हुन सक्ने सन्देश गएको बताए । ‘अब हामीले हाम्रो जलविद्युत् विकासको क्षमतालाई द्रुत गतिमा बढाउँदै लैजानुपर्ने भएको छ,’ उनले भने, ‘नेपालको फस्टाउँदै गरेको जलविद्युत् उद्योगका हिसाबले अबको बाटो नवीकरणीय ऊर्जा विकासको रहेको देखियो । इपानले पनि अब यसतर्फ काम गर्दै जाने छ ।’ 

सम्मेलनमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जलस्रोतको बहुउपयोग र ऊर्जा डेभलपर्स प्रालिका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का सल्लाहकार भानु पोखरेलले नेपालको जलविद्युत् विकास र निजी क्षेत्रको योगदानका विषयमा कार्यत्रपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउने व्यक्तिहरूमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिृकत अर्जुनकुमार गौतम, नेपाल प्राधिकरण विद्युत् विकास विभागका निर्देशक नसिबमान सिंह प्रधान, प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवाली रहेका थिए ।

यसैगरी, ऊर्जा डेभलपर्सका गणेशप्रसाद न्यौपाने, एनएमबी बैंक लिमिटेडका लगानी प्रमुख श्रीजेश घिमिरे तथा दिगो बैंकिङ प्रमुख दिनेश दुलाल, हाइड्रो कन्सल्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठ, इपानकी सचिव कविता कँडेल, हाइड्रो इम्पाएर प्रालिका कार्यकारी निर्देशक काजी लामा लगायत ४० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

याे पनि पढ्नुहाेस्

- इन्डोनेसियाको बालीमा आजबाट ३ दिने ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’ सुरु

- नेपालका ३ जलविद्युत् आयोजनाहरू ‘हाइड्रो पावर सस्टेनेबिलिटी सर्टिफाइड’

- अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री टर्नबुललाई भेटी नेपालको जलविद्युत्‌मा लगानी भित्र्याउनका लागि सहजीकरण गरिदिन आग्रह

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit