विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । झण्डै डेढ दशकअघि सेयर बजारमा जलविद्युत् समूहका कम्पनीको उपस्थिति नगन्य थियो । सूचीकृत कम्पनीको संख्या, कारोबार रकम, बजार पुँजीकरण जस्ता सूचकका आधारमा जलविद्युत् कम्पनीको योगदान उल्लेख्य थिएन । यसैकारण, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले जलविद्युत् कम्पनीहरूलाई छुट्टै समूहका रूपमा वर्गीकरण गरेर सम्बन्धित सूचनाहरू संकलन गर्ने, प्रशोधन गर्ने तथा प्रचारप्रसार गर्ने गरेको थिएन । सर्वसाधारण लगानीकर्ताको चासो पनि कम थियो ।

डेढ दशकपछि सेयर बजारमा जलविद्युत् बेवास्ता गर्नै नसकिने समूहका रूपमा आएको छ । २०६० साल असारमा नेशनल हाइड्रो पावर कम्पनी नेप्सेमा सूचीकृत भएपछि सेयर बजारमा जलविद्युत् कम्पनीको प्रवेश सुरु भएको हो । त्यसपछि, २०६१ सालको पुसमा बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र २०६२ चैतमा चिलिमे हाइड्रो पावर कम्पनी सेयर बजारमा भित्रिएका हुन् । आर्थिक वर्ष (आव) २०७०/२०७१ सम्म पनि सेयर बजारमा जलविद्युत् समूहका सूचीकृत कम्पनीको संख्या ६ मात्रै थियो ।

कम्पनीको संख्या

संख्याकै आधारमा हाल जलविद्युत् कम्पनीहरूको संख्या सेयर बजारमा सबैभन्दा धेरै छ । २०७९ कात्तिकसम्म जम्मा २४२ सूचीकृत कम्पनीमध्ये ५९ (२४.४ प्रतिशत) जलविद्युत् समूहका छन् । यसलाई एउटा संख्यात्मक उपलब्धि मान्नुपर्छ । लगानीकर्ताको हित, पुँजी बजारको विकास तथा कम्पनीहरूकै दिगो उन्नतिका लागि संख्यात्मक उपस्थिति पर्याप्त नहुन सक्छ । सर्वसाधारण लगानीकर्ताको चासो प्रतिफलमा हुन्छ, पुँजी बजार सम्बद्ध निकायहरूको चासो यसको सन्तुलित विकासमा । यस्तै, सम्बन्धित कम्पनीहरूको चासो वित्तीयरूपमा स्वस्थ र सबल संस्था हुन्छ । धेरै संख्यामा कम्पनी हुँदा लगानीकर्तालाई छनोटको सुविधा हुन्छ । यस सन्दर्भमा अरू सूचकहरू के हुन सक्छन ? छलफल, विवेचना आवश्यक हुन्छ ।

तालिकाः नेप्सेमा सूचीकृत कम्पनीहरू

 समूह संख्या    प्रतिशत 
वाणिज्य बैंक  २५   १०.३
उत्पादन १९   ६.६
होटल तथा पर्यटन  ५ २.१
अन्य ३  १.२
जलविद्युत् ५९ २४.४
व्यापार ४  १.७
निर्जीवन बिमा १७ ७.०
जीवन बिमा १२  ५.०
लघुवित्त संस्था ५६ २३.१
वित्त कम्पनी २० ८.३
लगानी    ६  २.५
विकास बैंक    १६   ६.६
जम्मा     २४२ १००

स्रोत : नेपाल स्टक एक्सचेन्ज

बजार पुँजीकरण

माथिको चार्टमा १२ समूहमा विभाजित सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण प्रस्तुत गरिएको छ । बजार पुँजीकरणले समग्र बजार, समूह वा सम्बन्धित कम्पनीको बजार मूल्यलाई जनाउँछ । यहाँनिर, चिजहरूको अन्तर्निहित मूल्य र बजार मूल्य फरक हो भन्ने कुरामा हेक्का राखनुपर्छ । बजार सहभागीहरू कसैको चासो अन्तर्निहित मूल्यमा हुन्छ भने बजार मूल्यमा मात्रै खेल्नेहरू पनि धेरै हुन्छन् ।

कम्पनीको सेयर मूल्यले सेयर संख्यालाई गुणा गरेपछि बजार पुँजीकरण प्राप्त हुन्छ । अर्थतन्त्रसँग सेयर बजारको आकार तुलना गर्न बजार पुँजीकरणको प्रयोग गरिन्छ । सूचीकृत कम्पनी कत्रो आकारको छ भन्ने संकेत पनि बजार पुँजीकरणले गर्छ । बजार पुँजीकरण बढी हुनुको अर्थ बजार फैलिएर गएको र अर्थतन्त्रमा महत्वपूर्ण हस्तक्षेप गर्ने अवस्थामा पुगेको भन्ने हुन्छ । अर्कोतर्फ, वित्त बजारमा अधिक तरलताका कारण पुँजीको लागत कम हुन गई सम्पत्तिको मूल्य बढ्ने हुँदा सेयरहरूको पनि मूल्य बढ्न सक्छ । यस किसिमले हुने बजार पुँजीकरणको विस्तार स्वस्थ र दिगो नहुन सक्छ । बरु आर्थिक संकट निम्त्याउन सक्छ ।

हाल जलविद्युत् समूहले समग्र बजार पुँजीकरणको १० प्रतिशत हिस्सा ओगट्छ । कुनै पनि जलविद्युत् कम्पनी बजार पुँजीकरणका आधारमा शीर्ष १० मा पर्दैनन् । यसको अर्थ समूहका हिसाबले बजार पुँजीकरणमा जलविद्युत्को हिस्सा ठूलो भए पनि कम्पनीहरू आफैंमा ठूला भने छैनन् । बजार पुँजीकरणका हिसाबले कम्पनीहरू सानो वा ठूलो हुनुको फाइदा र बेफाइदा दुवै हुन्छन् । कम्पनी, बजार सञ्चालक, मध्यस्थकर्ता, नियमन निकाय तथा लगानीकर्तालाई कम्पनी सानो वा ठूलो हुनुको प्रभाव अलगअलग हुन्छ । यसतर्फ सबै पक्ष सचेत हुनुपर्छ ।

जुन कुरा लगानीकर्ताका लागि ठिक हो त्यही कुरा नियमकका लागि ठिक नहुन सक्छ । उदाहरणका लागि साना कम्पनीबाट लगानीकर्ताले उच्च प्रतिफल पाउन सक्छन भने जोखिम पनि उत्तिकै हुन्छ । सैद्धान्तिक रूपमा फैलिने सम्भावना साना कम्पनीको हुन्छ । यसरी कम्पनी फैलिदा लगानीकर्तालाई लाभ हुन्छ । तर, के जलविद्युत् समूहका कम्पनीमा फैलिने सम्भावना छ ? भन्ने प्रश्न उत्तिकै महत्वपूर्ण हुन्छ ।

नियमकका लागि भने संस्थागत सुशासन र पारदर्शीता कायम गर्न ठूला कम्पनी उपयुक्त हुन सक्छन । संस्थागत सुशासन र पारदर्शीताका प्रावधानलाई स्रोतयुक्त र दीर्घकालिन सोच भएका कम्पनीले  मात्रै महत्व दिन्छन् । त्यसैगरी बजारको तीव्र उतारचढावबाट लगानीकर्तालाई सुरक्षित राख्ने आफ्नो उद्देश्य हासिल गर्न ठूला कम्पनी नियमकलाई सहयोगी हुन सक्छन् ।


 
स्रोत : नेपाल स्टक एक्सचेन्ज

चुक्ता पुँजी

चुक्ता पुँजीका आधारमा जलविद्युत् समूहका कम्पनीहरूले सेयर बजारको १४.६८ प्रतिशत हिस्सा ओगट्छन् । २०७९ साल कात्तिकसम्म नेप्सेमा सूचीकृत सेयरको चुक्ता पुँजी जम्मा ६ खर्ब ७२ अर्ब ६९ करोड रुपैयाँ रहेकोमा जलविद्युत् समूहको ९८ अर्ब ७६ करोड रुपैयाँ छ । पछिल्लो समयमा जलविद्युत् समूहका कम्पनीहरू सेयर बजारमा प्रवेश गरिरहेको अवस्थाले गर्दा चुक्ता पुँजीतर्फ यो समूहको हिस्सा अझै बढ्दै जाने देखिन्छ ।

चुक्ता पुँजीका आधारमा सरकारी स्वामित्वको अप्पर तामाकोसी हाइड्रो पावर सेयर बजारमा सूचीकृत सबैभन्दा ठूलो जलविद्युत् कम्पनी हो । चुक्ता पुँजीका आधारमा कम्पनी जति ठूलो हुन्छ सेयरधनीप्रति कम्पनीको दायित्व त्यति नै धेरै हुन्छ । कम्पनीले लगानीकर्तालाई धेरै प्रतिफल (लाभांश) बाँड्न सोही अनुसार गर्नुपर्छ । नेपालमा बोनस सेयर वा हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउने कम्पनीमा पनि लगानीकर्ताको आकर्षण उत्तिकै देखिन्छ । उनीहरूले यसरी पुँजी बढाउँदा कम्पनीको दायित्व बढ्ने र सम्भवित प्रतिफल दर कम हुनसक्ने कुरालाई महत्व दिएको देखिदैन । उनीहरूको जोड हकप्रद वा बोनसका रूपमा प्राप्त अतिरिक्त सेयरलाई बजारमा विक्री गरी तुरुन्तै लाभ प्राप्त गर्नेतर्फ देखिन्छ ।

संस्थागत सुशासन

सेयर बजारमा सूचीकृत कम्पनीहरूमध्ये जलविद्युत् समूहका कम्पनी असल संस्थागत सुशासनका दृष्टिले तुलनात्मक रूपमा कमजोर छन् । असल संस्थागत सुशासनका प्रचलित सिद्धान्त तथा अभ्यासलाई जलविद्युत् कम्पनीहरूले पूर्ण रूपमा पालना गरेको देखिँदैन । नाफा कमाउने र सेयरधनीलाई बाँड्नेमा सीमित परम्परागत व्यावसायिक शैलीलाई असल संस्थागत सुशासनका सिद्धान्तले पर्याप्त मान्दैन ।

तलिकाः चुक्ता पुँजीका आधारमा शीर्ष १० कम्पनी

कम्पनी चुक्ता पुँजी 
माथिल्लो तामाकोसी १०.५ अर्ब 
चिलिमे जलविद्युत् कम्पनी ६.७ अर्ब
रसुवागढी जलविद्युत् कम्पनी ६.१ अर्ब 
मध्य भोटेकोसी जलविद्युत् कम्पनी   ६.० अर्ब 
अपि पावर कम्पनी ३.८ अर्ब 
साहस ऊर्जा लिमिटेड ३.५ अर्ब 
सान्जेन जलविद्युत् कम्पनी ३.२ अर्ब 
बुटवल पावर कम्पनी ३.२ अर्ब 
ग्रिन भेन्चर्स लिमिटेड ३.१ अर्ब 
सानिमा माई हाइड्रो पावर कम्पनी ३.० अर्ब 

स्रोत : नेपाल स्टक एक्सचेन्ज

कम्पनीको आन्तरिक संरचना र बाह्य सम्बन्धको निर्माण बृहत् सामाजिक हित सुनिश्चित गर्ने किसिमको हुनुपर्छ भन्ने मान्यताले अन्तर्राष्ट्रिय स्वीकार्यता प्राप्त गरेको छ । यसलाई जलविद्युत् कम्पनीहरूले आत्मसात गरेको देखिदैन् ।

सेयरधनी, कर्मचारी, उपभोक्ता, सरकार र पर्यावरणप्रति कम्पनी जिम्मेवार हुनुपर्छ । कम्पनीले सबै सेयरधनीलाई समानुपातिकरूपमा प्रतिफल वितरण गर्नुपर्छ । यस्तो प्रतिफल अन्य कम्पनीहरूको तुलनामा सकेसम्म बढी हुनुपर्छ । उसले कामदार/कर्मचारीलाई पनि पर्याप्त पारिश्रमिक दिनुपर्छ, शोषण गर्नु हुँदैन । उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा सकेसम्म कम मूल्यमा उपलब्ध गराउनुपर्छ, छक्याउन, झुक्याउन हुँदैन ।

कम्पनी पारदर्शी हुनुपर्छ । कम्पनीको निर्णय र क्रियाकलापबाट प्रभावित हुने प्रत्येक सरोकारवालाई कम्पनीले के गर्दैछ भन्ने जानकारी हुनुपर्छ । सरोकारवालालाई अधिकतम, स्पष्ट र साँचो सूचना दिनुपर्छ । कम्पनी सञ्चालनको संरचनालाई जवाफदेही बनाइनुपर्छ । कम्पनीको व्यवस्थापन समूह सञ्चालक समितिप्रति जवाफदेही हुनुपर्छ भने सञ्चालक समिति साधारणसभाप्रति जवाफदेही हुनुपर्छ । यसका लागि प्रत्येक पदाधिकारीको जिम्मेवारी स्पष्ट बाँडफाँड गरिएको हुनुपर्छ ।

कम्पनीको व्यवहार न्यायोचित हुनुपर्छ । कम्पनीको कुनै पक्षलाई काखा र कुनै पक्षलाई पाखा गरिनु हुँदैन । कर्मचारीलाई शोषण गरेर सेयरधनी मोटाउने परिपाटीलाई न्यायोचित भन्न सकिँदैन । यसैगरी, सेयरधनीका बीचमा पनि विभेद हुनुहुँदैन । ठूला सेयरधनीलाई एक किसिमको र सानालाई अर्को व्यवहार गरिनु हुँदैन । सेयरधनीबीच लाभको वितरण समानुपातिक हुनुपर्छ । सेयरधनीसहित सबै पक्षलाई गरिने व्यवहारमा एकरूपता हुनुपर्छ । कम्पनीमा सबै पक्षका असन्तुष्टिलाई सम्बोधन गर्ने संयन्त्रको विकास र प्रभावकारी कार्यान्वयन भएको हुनुपर्छ ।

नेपालका जलविद्युत् कम्पनीमा उल्लेखित तत्वहरूको अभाव छ । कतिपय कम्पनीलाई यसबारे जानकारी नै छैन । जानकारी भएकाहरू पनि न्यूनतममात्र (बोलिचालीको भाषमा झारा टार्ने किसिमले) काम गर्छन् । उनीहरूको विधानमा, सञ्चालक समितिको संरचनामा, पारदर्शीता र खुलासाका विषयमा यस्तो देख्न पाइन्छ । यो गलत हो । संस्थागत सुशासन कमजोर हुँदा कुनै एक पक्षलाई हानी हुने मात्र नभई समग्र कम्पनीकै दिगोपनमा जोखिम निम्तिन्छ ।

जलविद्युत् परिसूचक र नेप्से परिसूचक

यस प्रसंगमा सेयर बजार परिसूचक के हो ? र किन चाहिन्छ ? भन्ने जानकारी लिनु महत्वपूर्ण हुन्छ । सेयर बजारमा सबैको इच्छा सस्तोमा किन्ने र महँगोमा बेच्ने हुन्छ । त्यसैले समग्रमा बजार कुन समयमा सस्तो र कुन समयमा महँगो हो भन्ने थाहा पाउनुपर्छ । यो थाहा पाउने एउटा माध्यम सेयर बजार परिसूचक हो । बजारमा धेरै कम्पनीहरूको कारोबार हुन्छ ।

प्रत्येक कम्पनीको मूल्य घट्यो वा बढ्यो थाहा पाउन समय लाग्छ, यसको सट्टामा सामूहिक अवस्था झल्काउने र तत्काल  बताउने गरी सेयर बजार परिसूचक बनाइएको हुन्छ । सेयर बजार परिसूचक एउटा औसत अंक हो । सामान्यतः सेयर बजारमा कारोबार भएका अधिकांश सेयरको मूल्य घट्दा बजार परिसूचक घट्छ र बढ्दा बढ्छ ।

संसारभर यसरी सेयर बजारमा परिसूचक गणना गर्दा फरकफरक विधि अपनाइएको हुन्छ । यस्ता विधिमा बजारको उतारचढावलाई परिसूचकले वास्तविक रूपमा प्रतिबिम्बित गरोस भन्ने उद्देश्य राखिएको हुन्छ । त्यसैले सेयर परिसूचक गणना तथा समायोजन जटिल बन्दै गएको छ ।

नेपाल स्टक एक्सचेन्जले समग्र बजारको अवस्था झल्काउने गरी भारित मूल्य विधि अनुसार २०५० सालदेखि नेप्से इन्डेक्स गणना गर्दै आइरहेको छ । वित्तीय तथा संस्थागत सुशासनका दृष्टिले तुलनात्मकरूपमा राम्रा कम्पनीहरूको समूह बनाएर सेन्सेटिभ इन्डेक्स बनाइएको भए पनि यसले त्यति चर्चा पाएको छैन ।

यसैगरी, सर्वसाधारणलाई जारी गरिएका सेयरलाई मात्रै समावेश गरी फ्लोट इन्डेक्स बनाइएको छ । स्टक एक्सचेन्जले वाणिज्य बैंक, उत्पादनमूलक, बिमा, विकास बैंक, वित्त कम्पनी, व्यापार, पर्यटनलगायत क्षेत्रगत आधारमा १२ वटा समूहका परिसूचक बनाउँछ । म्यूचुअल फण्डहरूको छुट्टै परिसूचक छ । जलविद्युत् समूहको परिसूचक २०६५ सालदेखि गणना तथा प्रकाशन गर्न थालिएको हो ।

 जलविद्युत् समूह र समग्र नेप्से तथा अन्य समूहका परिसूचकको गतिलाई हेर्ने हो भने जलविद्युत्ले समग्र नेप्सेलाई पछ्याएको देखिन्छ । अर्थात्, नेप्से र जलविद्युत् समूहको परिसूचकको उतारचढाव मिल्दोजुल्दो छ  । यसको अर्थ जलविद्युत् समूहका कम्पनीहरूप्रति लगानीकर्ताको धारणा समग्र बजारभन्दा खासै भिन्न छैन भन्ने हो । लामो समयसम्म समग्र बजारभन्दा जलविद्युत् समूहले भिन्न बाटो समाएको देखिँदैन । समग्र बजार बढ्दा जलविद्युत्को घट्ने वा समग्र बजार घट्दा जलविद्युत्को बढ्ने भएको छैन । व्यवसायको प्रकृति अनुसार अरू समूहभन्दा फरक जलविद्युत् कम्पनीले तुलनात्मकरूपमा स्थिर प्रतिफल प्रदान गर्ने भएकाले यसको गति पनि स्थिर हुनुपर्ने हो तर बजारले त्यस्तो संकेत गर्दैन । समग्र बजारको उतारचढावबाट जलविद्युत् कम्पनी प्रभावित भएको देखिन्छ ।

कारोबार रकम

समग्र बजारको कारोबार रकममा जलविद्युत् समूहको हिस्सा बढ्दै गएको छ । आव २०७८/७९ मा भएको जम्मा कारोबारमा जलविद्युत् समूहको हिस्सा ३० प्रतिशत थियो । आव २०७९/८० को कात्तिकसम्म जम्मा एक खर्ब ३४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा जलविद्युत् समूहका कम्पनीको ३८ अर्ब दुई करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो कूल कारोबारको २८ प्रतिशत हो । १० वर्ष अघिसम्म यस्तो अनुपात ५ प्रतिशतभन्दा कम हुन्थ्यो ।

लगानीकर्तालाई व्यस्त राख्न र बजारलाई चलायमान बनाउन जलविद्युत् समूह अपरिहार्य हुँदै गएको संकेत यसले गरेको छ । यो समूहमा संकट आउँदा बजार बिथोलिने सम्भावना उच्च हुँदै गएको छ । जलविद्युत् समूहका सूचीकृत कम्पनीको संख्या बढ्दै जाँदा कारोबार रकममा यो समूहको हिस्सा बढ्दै जानु स्वाभाविकै हो । तर, चुक्ता पुँजीलाई हेर्ने हो भने जलविद्युत् कम्पनीहरू अन्यभन्दा तुलनात्मकरूपमा साना छन् । यसको अर्थ जलविद्युत् कम्पनीहरूका थोरै सेयर बजारमा सूचीकृत छन् । तिनै थोरै सेयर पटक–पटक दोस्रो बजारमा किनबेच भइरहन्छ ।

तरलता

सेयरको दोस्रो बजारको उद्देश्य लगानीकर्तालाई तरलता (सेयर बिक्री गरी तुरुन्त नगदमा परिणत गर्ने) उपलब्ध गराउने हो । तरलतालाई बजारमा सूचीकृत सेयर  संख्या र कारोबार भएका सेयर संख्याका आधारमा मापन गर्न सकिन्छ । यस आधारमा अन्य समूहको भन्दा जलविद्युत्को सेयरमा तरलता अधिक देखिन्छ । जलविद्युत् कम्पनीको सेयर अनुपात सर्वसाधारणमा बढी हुने भएकाले पनि तरलता उच्च भएको हुन सक्छ । अर्कोतर्फ, सूचीकरण भएको तीन वर्षमै कारोबार रोक्का अवधि (लक इन) समाप्त हुने भएकाले ठूला लगानीकर्ता (संस्थापक) ले पनि सेयर बिक्री गरेर बाहिरिने गरेको देखिन्छ । यसले पनि तरलता अभिवृद्धि गरेको हुन सक्छ । उच्च तरलता जलविद्युत् समूहको सकारात्मक पक्ष हो ।

तालिकाः समूहगत तरलता अनुपात*

समूह  तरलता अनुपात 
वाणिज्य बैंक  १.७
विकास बैंक  ८.८
वित्त कम्पनी १९.७
पर्यटन तथा होटल  २.७
जलविद्युत् १२.१
लगानी ३.१
जीवन बिमा २.१
उत्पादन १०.१
लघुवित्त संस्था ४.४
निर्जीवन बिमा ३.८
अन्य  २.०
व्यापार ५.४

* आर्थिक वर्ष २०७९/८० कात्तिकसम्मको कारोबारमा आधारित

शीर्ष १० मा जलविद्युत् कम्पनी

सेयर बजारमा जलविद्युत् समूहको स्थान कस्तो छ ? भन्ने बारेमा सामान्य चर्चा माथि गरिएको छ । यसलाई सारांशमा हेर्ने अर्को तरिका बजारका विभिन्न सूचकको शीर्ष १० मा जलविद्युत् समूहका कम्पनी पर्छन कि पर्दैनन् भन्ने पनि हुन सक्छ ।

पछिल्लो समयका वार्षिक तथा मासिक कारोबार विवरणमा हेर्ने हो मिश्रित चित्र प्राप्त हुन्छ । माथि भनिसकियो कारोबार रकममा जलविद्युत् समूहको हिस्सा बढ्दै गएको छ । कारोबार रकमका आधारमा जलविद्युत् समूहका केही कम्पनी यदाकदा शीर्ष १० मा पर्ने गरेका छन् । यसमा एकरुपता र निरन्तरता भने देखिदैन ।

बजार पुँजीकरणका आधारमा जलविद्युत् समूहको शीर्ष १० मा उपस्थिति छैन् । यसबारे संक्षिप्त चर्चा माथि गरिसकियो । बजारमा जलविद्युत् समूहबाट धेरै कम्पनी छन् तर साना छन् । अझै पनि ठूला कम्पनी बजारमा आएका छैनन् । जलविद्युत् परियोजना निर्माणका लागि आवश्यक पुँजीको भरपर्दो स्रोत सेयर बजारलाई मानिएको छैन कि भन्ने यसले देखाउँछ ।

कारोबार र किनबेच हुने सेयर संख्याका आधारमा भने जलविद्युत् समूहका कम्पनीहरू पटक–पटक शीर्ष १० मा उक्लिने गरेका छन् । यसले तरलता बढाएको छ । यो सकारात्मक पक्ष हो । निश्चित समयावधिमा (दिन, साता, महिना वा वर्ष) एउटै कम्पनीको कति पटक कारोबार हुन्छ भन्ने पनि सेयर बजारमा चासो राख्नेहरूका लागि महत्वपूर्ण हुन्छ । यसले सूचीकृत कम्पनीहरूको सेयर उपलब्धता कम वा बढी के छ ? भन्ने जनाउँछ । यस आधारमा पछिल्लो समयमा जलविद्युत् समूहका कम्पनीहरू पटक–पटक कारोबार हुने शीर्ष १० कम्पनीमा पर्ने गरेका छन् । यस्ता कम्पनीहरूमा पुँजीगत लाभको सम्भावना उच्च हुन्छ भने तीव्र उतारचढावका कारण नोक्सानी हुने जोखिम पनि उत्तिकै हुन्छ ।

निष्कर्ष

सेयर बजारमा जलविद्युत् समूहको चर्चा गर्दा छलफलमा ल्याइनुपर्ने धेरै विषयमध्ये केहीलाई मात्र यस लेखमा समेटिएको छ । सेयर बजारको सन्तुलित विकासका लागि धेरैभन्दा धेरै जलविद्युत् कम्पनी यो बजारमा प्रवेश गर्नुपर्छ । जलविद्युत् परियोजनाका लागि आवश्यक सस्तो पुँजी पनि धितोपत्र बजारले उपलब्ध गराउन सक्नुपर्छ ।

यसैगरी, दोस्रो बजारमा सर्वसाधारणले जलविद्युत् समूहका कम्पनीको सेयर किनबेच गरेर कमाए वा गुमाए भन्ने विषय महत्वपूर्ण हो । तर, यसैमा मात्र जोड दिइयो भने सही निष्कर्षमा पुग्न सकिँदैन ।  बजारमा जलविद्युत् कम्पनीको सेयर कारोबारको सबै पक्षको उचित समीक्षा हुनुपर्छ । कम्पनीहरूको वित्तीय अवस्था, संस्थागत सुशासनको पक्षलाई पनि छुटाउन हुँदैन । यस लेखमा विषयको उठानमात्रै गरिएको छ । यी सबै विषयको छुट्टाछुट्टै र विस्तृत अध्ययन हुन सक्यो भने लगानीकर्ता, जलविद्युत् क्षेत्र र पुँजी बजारको  हित हुनेछ ।

लेखक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रवक्ता हुन्, याे आलेख २०७९ साल पुस १ गते प्रकाशित ऊर्जा खबर अर्धवार्षिक पत्रिकाको तेस्राे अंकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit