विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर २२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढाइएको छ ।  यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६.२५ मेगावाट बनाइएको प्रवर्द्धक कम्पनी हाइड्रो इम्पायर प्रालिले जनाएको छ । आयोजना प्रमुख रमेश सुवेदीले पानीको स्रोत पर्याप्त भएकाले ९.२५ मेगावाट क्षमता बढाइएको जानकारी दिए । 

‘सुरुङको आकार, हेड (विद्युत्‌गृहदेखि बाँधको उचाइ), टर्वाइनको क्षमता बढाउने र लगानी थप गरेपछि आयोजनाको क्षमता बढाउन विद्युत् विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ’, उनले भने, ‘थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले क्षमता अभिवृद्धि गरिएको हो ।’

यसअघि ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालिने पानीको मात्रा १४. ४१ घनमिटर प्रतिसेकेन्डबाट बढाएर १७.२४ घनमिटर प्रतिसेकेन्ड बनाइएको छ । अनुमानित लागत रु ८ अर्ब ४६ करोड ५४ लाख २ हजार रहेको हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । धवलागिरि–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी) मा विद्युत्‌गृह निर्माण सुरु भएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । 

विसं २०८१ फागुनदेखि ३ हजार ८३८ मिटर लामो सुरुङ निर्माण सुरु भएको थियो । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेबाट हालसम्म २ हजार ४०० मिटर सुरुङ निर्माण भइसकेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेबाट विद्युत्‌गृहसम्म ८४३ मिटर लामो पेनस्टक पाइपलाइन रहनेछ । यो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) हो । 

आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुच्छ्रे इन्जिनियरिङ प्रालि रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुच्छ्रे मेटल एन्ड मेसिनरी वर्कसप प्रालि परिचालित भएको छ। वित्तीय व्यवस्थापनका लागि सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नबिल बैंकले लगानी गरेका छन् । यसमा ७०–३० को अनुपातमा आधारित बैंक र स्वपुँजी रहनेछ । 

यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । करिब १० किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रि खोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । 

आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्‍याउन सहयोग गरेको छ । विसं २०८३ चैतसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख सुवेदीले बताए । 

क्षमता अभिवृद्धिको प्रक्रियाअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार धवलागिरि–४ नाउरामा मस्यौदा परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । 

परामर्शदाता इनर्जी रिसोर्सेस एन्ड सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक शङ्कर बस्यालले आयोजना निर्माणका क्रममा पर्ने वातावरणीय, सामाजिक, आर्थिक असर तथा न्यूनीकरणका उपायका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । आयोजना प्रभावित क्षेत्रमा नीतिगत व्यवस्थाअनुसार समुदाय सहयोगका विभिन्न कार्यक्रमका लागि रु ६ करोड ३४ लाख ९१ हजार बजेट प्रस्ताव गरिएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष यामबहादुर घर्ती, वडा सदस्य हरिप्रसाद तिलिजा, जनसुधार युवा क्लबका अध्यक्ष लीलबहादुर घर्ती, खाम्लाका बासिन्दा केशरमान पुन, चन्द्रज्योति मावि व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पुन र नाउराका बासिन्दा कुलबहादुर घर्तीले सुझाव दिएका थिए ।

पहुँचमार्गको स्तरोन्नति, खिवाङ–मुदी जोड्ने सडकमा मोटरबेल पुल, सडकको धुलो नियन्त्रण, सामाजिक उत्तरदायित्व कार्यक्रमका बजेटको पारदर्शी परिचालन गर्न उनीहरूले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३