काठमाडौँ । बूढीगण्डकी जलाशय जलविद्युत् आयोजनाका लागि आवास तथा बेनीघाट-सिउरेनी बजार (सलाङ सडक) जोड्न बूढीगण्डकी नदीमा निर्माण गर्नुपर्ने पुलका लागि बोलपत्र आह्वान गरिएको छ । प्रवर्द्धक कम्पनी बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडले आज सोमबार त्यसको आह्वान गरेको हो ।
कम्पनीका अनुसार राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (सिंगल स्टेज टू इन्भेलप) प्रक्रियामार्फत योग्य बोलपत्रदाताबाट प्रस्ताव माग गरिएको छ । पहिलो ठेक्का क्याम्प तथा सहायक पूर्वाधार निर्माण सम्बन्धी रहेको छ, जसको अनुमानित लागत करिब ३३ करोड ६२ लाख रुपैयाँ रहेको छ । उक्त काम गर्न २६ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको परियोजनामा काम गरेको हुनुपर्ने उल्लेख छ । साथै, त्यसका लागि १ करोड २७ लाख रुपैयाँको बोलपत्र जमानत आवश्यक पर्ने छ ।
त्यसैगरी दोस्रो ठेक्का बुढीगण्डकी नदीमा पुल निर्माण (बेनीघाट–सिउरेनीबजार–सलाङ सडक खण्ड) सम्बन्धी रहेको छ । यसको अनुमानित लागत १६ करोड १० लाख रुपैयाँ रहेको छ । यसमा १२ करोड ९० लाख रुपैयाँ बराबरको काम गरेको अनुभव हुनुपर्ने छ, जसमा ६० लाख ५० हजार रुपैयाँ बोलपत्र जमानत तोकिएको छ ।
दुवै ठेक्काका लागि बोलपत्रको मान्य अवधि १२० दिन रहने छ भने बोलपत्र जमानतको अवधि १५० दिन रहने कम्पनीले जनाएको छ । बोलपत्र कागजातको मूल्य २० हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले इच्छुक तथा योग्य कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली मार्फतसमेत आवेदन दिन सक्ने उल्लेख छ । ऊर्जा पूर्वाधार विकासमा महत्त्वपूर्ण मानिएको बूढीगण्डकी अन्तर्गत यी निर्माण कार्य अघि बढिरहँदा आयोजनाको समग्र प्रगतिले तीव्रता लिने अपेक्षा गरिएको छ ।