काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आइतबार स्थापनाको ४०औँ वार्षिकोत्सव मनाइरहेको छ । नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार संस्थाकाे स्थापना भएको थियो । वार्षिकोत्सवका अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले संस्थाको विगत, वर्तमान र भविष्यको कार्यदिशासमेत औँल्याउँदै शुभकामना वक्तव्य जारी गरेका छन् ।
कार्यकारी निर्देशक शाक्यले जारी गरेको शभुकामना वक्तव्य (पूर्णपाठ)
समस्त आदरणीय ग्राहक महानुभावहरू,
नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ मा भए गरेका गतिविधिहरूको विवरण प्रस्तुत गर्न पाउँदा मैले अत्यन्त गौरवान्वित महशुस गरेको छु । नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार गठित यो संस्थाले आज आफ्नो ४०औँ वार्षिकोत्सव मनाइरहेको छ । हाम्रो लामो सेवाकालमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने सम्बद्ध सबैप्रति म यस अवसरमा हार्दिक आभार व्यक्त गर्दछु ।
आजको महत्त्वपूर्ण दिनले हामीलाई विगतका उपलब्धिहरूको समीक्षा गर्न, वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न र नेपालको प्रगतिमा सशक्त योगदान दिने हाम्रो प्रतिबद्धता पुनः प्रकट गर्ने अवसर प्रदान गरेको छ । पछिल्ला चार दशकमा नेपालको ऊर्जा क्षेत्रको मेरुदण्डको रूपमा स्थापित यस संस्थाले लामो समयसम्म कायम लोडसेडिङको अन्त्य पछि आफ्नो मूख्य ध्येय नै देशभर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गराउने एवं ग्राहक सेवा सुदृढीकरण गर्नेतर्फ केन्द्रीत रहँदै केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्नसमेत सफल भएको छ ।
सरकारले लिएको ऊर्जा विकासका लक्ष्यहरू प्राप्त गर्न र समृद्ध नेपालको निर्माणमा सहयोग पुर्याआउने उद्देश्यले प्राधिकरणले निरन्तर काम गरिरहेको छ । यसका लागि रणनीतिक उच्च भोल्टेज प्रसारण लाइन तथा सबस्टेसनहरू, ठूला जलाशययुक्त तथा अर्ध–जलाशययुक्त जलविद्युत् आयोजनाहरूको निर्माण, वितरण प्रणालीको सुदृढीकरण र ग्राहकहरूसम्म विद्युत् पुर्याउने संरचनाहरूको विकासमा प्राधिकरण सक्रिय छ । निजी क्षेत्रको सहभागिता प्रवर्द्धन, आन्तरिक प्रक्रियामा पारदर्शिता, जवाफदेहिता एवं दक्षता सुनिश्चित गर्न, प्राधिकरणलाई डिजिटलाईज गर्न तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नसमेत प्राधिकरण प्रतिबद्ध छ ।
प्राधिकरणले गत आ.व. २०८१/८२ मा सम्पादन गरेका कार्य र त्यसबाट प्राप्त नतिजाहरूको सङ्क्षिप्तक विवरण देहायबमोजिम रहेको छः
क) सञ्चालन कार्यसम्पादन समीक्षा
आ.व. २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत् प्रणालीमा कूल जडित क्षमता ३५९१ मेगावाट पुगेको छ । आ.व. २०८१/८२ मा राष्ट्रिय प्रणालीमा १५,६४१ गिगावाट घण्टा विद्युत् उपलब्ध भएको थियो जसमा प्राधिकरण तथा यसका सहायक कम्पनीहरूको योगदान ३४% र स्वतन्त्र विद्युत् उत्पादक (क्ष्एए) हरूको योगदान ५५% रहेको थियो भने ११% विद्युत् भारतबाट आयात गरिएको थियो । नेपालको आन्तरिक विद्युत् खपत अघिल्लो आ.व.को तुलनामा १०.७% ले वृद्धि भई ११,३१९ गिगावाट घण्टा पुगेको थियो ।
भारततर्फ भएको विद्युत् निर्यात अघिल्लो आ.व. को तुलनामा २२.३३% ले वृद्धि भई २,३८० गिगावाट घण्टामा पुगेको थियो । सोही अवधिमा नेपालले १७१२ गिगावाट घण्टा विद्युत् आयात गरेको थियो । यस प्रकार आ.व. २०८१/८२ मा नेपाल बाट ६६८ गिगावाट घण्टा खुद विद्युत् निर्यात भएको थियो । २०८२ असार १८ गते प्राधिकरणको प्रणालीमा सर्वाधिक माग २,९०१ मेगावाट रेकर्ड गरिएको थियो जसमध्ये २,२१४ मेगावाट स्वदेशमै खपत भएको थियो भने ६८७ मेगावाट भारततर्फ निर्यात भएको थियो । सुक्खा मौसममा नदी प्रवाही आयोजनाहरूको उत्पादन घटेका कारण २०८१ पुस महिनामा भारतबाट अधिकतम २७४ मेगावाट विद्युत् आयात गरिएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा ४.६% ले वृद्धि भई ५७.१ लाख पुगेको छ । यसमा सामुदायिक ग्रामीण विद्युतीकरण मार्फत सेवा लिइरहेका झण्डै ४ लाख ७० हजार ग्राहकहरू समावेश छैनन् । कूल ग्राहक संख्यामध्ये घरेलु ग्राहकहरूको हिस्सा ९१.०८%, औद्योगिक ग्राहकको हिस्सा १.२३% तथा अन्य ग्राहकहरूको हिस्सा ७.६९% रहेको छ । राष्ट्रिय ग्रिड पहुँच करिव ९८% पुगेको छ भने प्रति व्यक्ति वार्षिक विद्युत् खपत ४२० युनिटबाट बढेर ४६५ युनिट पुगेको छ । विद्युत् चुहावटमा ०.४७% ले कमी आई आ.व. २०८१/८२ मा १२.२६% कायम भएको छ । प्राधिकरणको औसत विद्युत् बिक्री प्रति ग्राहक १८७३ युनिटबाट वृद्धि भई आ.व. २०८१/८२ मा प्रति ग्राहक १९७८ युनिट पुगेको छ ।
प्राधिकरणले वितरण प्रणालीको विश्वसनीयता मापन गर्नका लागि अन्तर राष्ट्रिय प्रचलन बमोजिम यसएआइएपलआइ (सिस्टम एभरेज इन्टरअपसन फ्रीकोङ्सी इडेक्स) र यसएआइडिआइ ( सिस्टम एभरेज इन्टरअपसन डियूरेसन इन्डेक्स) सूचाकाङ्कहरूको शुरुवात गरेको छ । यी सुचकाङ्कहरूको आधारमा प्रणालीको प्रत्येक वर्षको विश्वसनियतालाई दाँज्न सकिन्छ ।
ख) आर्थिक कार्यसम्पादन समीक्षा
विद्युत् निर्यातबाट भएको आम्दानी रु.१७ अर्ब ४७ करोड १० लाख सहित आ.व. २०८१/८२ मा प्राधिकरणले विद्युत् बिक्रीबाट रु. १ खर्व २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको थियो । यो आ.व.२०८०/८१ को तुलनामा ८.४६% ले बढी हो । अन्य स्रोतबाट प्राप्त आम्दानी सहित आर्थिक वर्ष २०८१/८२ को कूल आम्दानी १ खर्व ३८ अर्व ८७ करोड रहेको थियो ।
आ.व. २०८१/८२ मा प्राधिकरणको कूल सञ्चालन खर्च अघिल्लो आ.व. को दाँजोमा १०.१५% ले वृद्धि भई रु. ९७ अर्व ७८ करोड ७० लाख पुगेको छ । विद्युत् खरिद बापतको मात्र खर्च आ.व. २०८०/८१ को तुलनामा ११.७३% ले वृद्धि भई ७७ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अन्य मुख्य खर्चहरूमा उत्पादनतर्फ रु. २ अर्ब ७ करोड, प्रसारणतर्फ रु. ३ अर्ब २४ करोड, वितरणतर्फ रु.१२ अर्ब २२ करोडर रोयल्टीतर्फ रु.१ अर्ब ८४ करोड रहेको छ। यी खर्चहरूको अलवा ब्याज खर्च, ह्रास कट्टी खर्च, वैदेशीक विनिमयमा भएको नोक्सानी सहित आ.व. २०८१/८२ को कूल खर्च १ खर्व २९ अर्व ८१ करोड रहेको छ ।
आ.व. २०८१/८२मा प्राधिकरणको कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ जुन आ.व. २०८०/८१ को तुलनामा ३७.३२% ले कम हो ।
प्राधिकरणको कूल सम्पत्ति आर्थिक वर्ष २०८०/८१ को दाँजोमा ६.२% ले वृद्धि भई आ.व. २०८१/८२ मा रु. ६ खर्व ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । सरकारी अनुदान, सडक बत्ती अनुदान तथा ट्रङ्कलाइन बक्यौता बाहेक प्राधिकरणको औसत संकलन अवधि ४५.८४ दिन रहेको छ । आ.व. २०८१/८२ मा प्राधिकरणले ५ एम्पियर क्षमतासम्मका करिब २० लाख ७३ हजार ५१४ ग्राहस्थ ग्राहकहरूलाई कूल १७ करोड ६७ लाख ११ हजार युनिट विद्युत् निःशुल्क उपलब्ध गराएको थियो । प्राधिकरणको औसत बिक्री दर प्रति युनिट ९.४४ रुपैयाँ रहेको छ । अनलाइन भुक्तानी मार्फत अघिल्लो आ.व. मा रु.२७ अर्ब ४४ करोड संकलन भएकोमा उल्लेख्य रूपमा वृद्धि भई समीक्षा आ.व. २०८१/८२ मा यो रु.३४ अर्ब ३३ करोड पुगेको छ ।
ग) पूर्वाधार विस्तारको प्रगति/समीक्षा
आ.व. २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कूल ४३४ मेगावाट विद्युत् उत्पादन क्षमता थप भएको छ । जसमा प्राधिकरणको सहायक कम्पनीहरूको योगदान १५३.५ मेगावाट छ भने निजी क्षेत्रको योगदान २८०.५ मेगावाट रहेको छ । सहायक कम्पनीहरूमध्ये रसुवागढी हाइड्रोपावर कम्पनीबाट १११ मेगावाट र साञ्जेन जलविद्युत् कम्पनीबाट ४२.५ मेगावाट विद्युत् थप भएको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीबाट निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई परिक्षण कार्य अन्तिम चरणमा पुगेको छ । अन्य सहायक कम्पनीहरूबाट निर्माणको विभिन्न चरणमा रहेका आयोजनाहरूमा राहुघाट (४० मेगावाट), तनहुँ (१४० मेगावाट), त्रिशूली ३ बी (३७ मेगावाट), रोल्वालिङ (२२ मेगावाट), तामाकोशी पाँचौँ (९९.८ मेगावाट), माथिल्लो मोदी ए (४२ मेगावाट), माथिल्लो मोदी (१८.२ मेगावाट) पर्दछन् ।
आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कूल २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भई प्रसारण लाइनको कूल लम्बाइ ६,७६० सर्किट किलोमिटर पुगेको छ भने जम्मा २०३४ सर्किट किलोमिटर प्रसारण लाइनहरू निर्माणाधीन अवस्थामा छन् । प्रसारण सबस्टेसन क्षमता गत आ.व. मा १,०७३ एमभिए थप भई कूल १४,१२३ एमभिए पुगेको छ भने ६३३८.५० एमभिए क्षमताका सबस्टेसनहरू निर्माणाधीन अवस्थामा छन् । आ.व. २०८१/८२ मा नयाँ खिम्ती–बाह्रबिसे ४०० केभी,चिलिमे–त्रिशूली २२० केभी, न्यू बुटवल–बर्दघाट २२० केभी, ढुङ्गेसाङ्गु–बसन्तपुर २२० केभी र ढल्केवर–लोहरपट्टी १३२ केभी प्रसारण लाइनहरूको निर्माण सम्पन्न भएको छ । यसैगरी, मार्किचोक, उदिपुर र बाह्रबिसे २२०/१३२ केभी जि.आइ.यस. सबस्टेसन, ढल्केवर–लोहरपट्टी १३२ केभी, मूलपानी १३२/११ केभी सबस्टेसन, प्रसौनी १३२/११ केभी सबस्टेसन र अमलेखगञ्ज १३२/६६/११ केभी सबस्टेसनहरूको निर्माण सम्पन्न भएका छन् भने मलेखु १३२/३३ केभी सबस्टेसनको विस्तार सम्पन्न भएको छ । आ.व. २०८२/८३ मा सम्पन्न हुने गरी ५२ वटा ग्रिड सबस्टेसनहरूमा सबस्टेसन अटोमेशन प्रणाली कार्यान्वयन भइरहेको छ ।
आ.व. २०८१/८२ मा ४७३ एमभिए क्षमता बराबरका १४ वटा ३३/११ केभी सबस्टेसनहरू र ९३३६ सर्किट किलोमिटर वितरण लाइन थप भएको छ । त्यस्तै ३३८ एमभिए क्षमता बराबरको ३१५१ वटा वितरण ट्रान्सफर्मरहरू थप गरिएका छन् । वितरण लाइनहरूको कूल लम्बाई २ लाख १८ हजार ६६ सर्किट–किलोमिटर र वितरण सबस्टेसनको क्षमता २९९७ एमभिए नाघेको छ । ऊर्जा मिटरिङ तथा बिलिङ प्रणालीमा स्मार्ट मिटर तथा स्मार्ट ग्रिड प्रविधिको प्रयोग गरी एडभान्स मिटेरिङ इन्फ्रास्ट्रक्चर (एएमआइ) लागू गरिएको छ ।
एसियाली विकास बैंकको सहयोगमा स्यूचाटारमा अत्याधुनिक वितरण प्रणाली नियन्त्रण केन्द्र (डिष्ट्रीबुसन कन्ट्रोल सेन्टर) स्थापना भएको छ जसबाट काठमाडौँ उपत्यकाको विद्युत् प्रवाहको अनुगमन, नियमन र नियन्त्रण गर्न सकिनेछ । साथै, उक्त नियन्त्रण केन्द्रमा निकट भविष्यमै पोखरा, भरतपुर, बनेपा र पाँचखालका वितरण प्रणालीहरू समेत समाहित हुनेछन् । एडिबीकै सहयोगमा स्यूचाटारमा अत्याधुनिक डाटा सेन्टर/प्रणाली समेत निर्माण भएकोछ, जसबाट प्राधिकरणका सम्पूर्ण डिजिटल डाटाको भण्डारण तथा सेवाहरू सञ्चालन गर्न सकिनेछ ।
घ) निजी क्षेत्रको संलग्नता
नेपाल विद्युत् प्राधिकरणले मुलुकको ऊर्जा माग पूरा गर्न निजीक्षेत्रको संलग्नतालाई महत्त्व दिँदै विद्युत् खरिद सम्झौता पावर पर्चेज अग्रिमेन्ट (पिपिए) गर्दै आएको छ । सञ्चालनमा रहेका निजी क्षेत्रका आयोजनाहरूको संख्या हालसम्म २०४ वटा पुगेको र ती आयोजनाहरूको कूल जडित क्षमता २,९२९ मेगावाट रहेको छ । ४,३०३ मेगावाट क्षमताका १४२ वटा आयोजनाहरू वित्तीय व्यवस्थापन सम्पन्न भई निर्माणका चरणमा छन् भने कूल ४,२०३ मेगावाटका १४८ आयोजनाहरू विकासका विभिन्न चरणमा छन् । आ.व.२०८१/८२ मा ३१ वटा निजी प्रवर्द्धकहरूसँग ९३२ मेगावाट जलविद्युत् आयोजना र ८ वटा प्रवर्द्धकहरूसँग जम्मा १७० मेगावाटको सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता भएको छ । यससँगै प्राधिकरणले निजी विद्युत् उत्पादकसँग गरेको कूल विद्युत् खरिद सम्झौता संख्या ४९४ पुगेको छ जसको कूल क्षमता ११,४३६ मेगावाट रहेको छ । ऊर्जा उत्पादनमा विविधता ल्याउने उद्देश्यले प्रतिस्पर्धात्मक बोलपत्र मार्फत देशका विभिन्नँ स्थानहरूमा कूल ९६० मेगावाट क्षमताका सौर्य विद्युत् आयोजनाहरूको विकासका लागि प्रवर्द्धकहरूसँग विद्युत् खरिद बिक्री सम्झौता भइरहेको र ती आयोजनाहरू क्रमशः निर्माण हुँदै २ वर्षभित्र सम्पन्न हुनेछन् ।
ङ) सीमापार विद्युत् व्यापार
आर्थिक वर्ष २०८१/८२ नेपालका लागि विद्युत् व्यापारको क्षेत्रमा ऐतिहासिक वर्ष रह्यो । यो वर्ष नेपाल, भारत र बङ्गलादेशबीचको त्रिपक्षीय सहमति अनुसार नेपालबाट ४० मेगावाटको विद्युत् बङ्गलादेश निर्यात गर्न आरम्भ भएको छ ।
नेपालले भारतसँग पावर एक्चेन्ज मार्केट (डे–अहेड र रियल टाइम मार्केट) , मध्यम अवधि द्विपक्षीय सम्झौता तथा भारत–नेपाल विद्युत् आदान प्रदान संयन्त्र मार्फत निरन्तर ऊर्जा व्यापार गर्दै आएको छ । पछिल्लो पटक प्राप्त विद्युत् खरिद अनुमति सहित भारत निर्यातका लागि ३० वटा जलविद्युत् केन्द्रहरूबाट उत्पादन हुने कूल १०१० मेगावाट विद्युत् बिक्रीका लागि भारत सरकारबाट अनुमति प्राप्त भएको छ । भारततर्फ भएको विद्युत् निर्यातबाट रु. १७.४७ अर्ब आम्दानी भएको थियो भने आयातका लागि रु.१२.९ अर्ब खर्च भई आ.व. २०८१/८२ मा रु.४ अर्व ५७ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ । यसले नेपालको व्यापार घाटा न्यूनीकरणमा योगदान गर्नसक्ने देखिन्छ ।
भावी कार्यदिशा
आगामी दिनमा आइपर्ने चुनौतीहरूको सामना गर्दै विद्युत् पूर्वाधारको विकास, ग्राहकसेवाको सुदृढीकरण, संस्थागत कार्य सम्पादन दक्षता अभिवृद्धि एवं डिजिटल प्रविधिको विस्तार गर्दै सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्य अगाडि बढाइने छ । हाल निर्माणाधिन आयोजनाहरू सम्पन्न गर्दै नेपाल सरकारको प्राथमिकतामा परेका र सहायक कम्पनीमार्फत अघि बढाइएका दूधकोशी जलाशययुक्त (६७० मेगावाट), उत्तरगंगा जलाशययुक्त (८२८ मेगावाट), माथिल्लो अरुण (१०६३ मेगावाट), तनहुँको तल्लोसेती (१२६ मेगावाट), बझाङ्गको चैनपुर सेती (२१० मेगावाट), बझाङ्गकै सेतीनदी–३ (८७ मेगावाट) र संखुवासभाको इखुवाखोला (४० मेगावाट) आयोजनाहरूको निर्माणलाई गति दिइनेछ ।
कर्णाली चिसापानी बहुउद्देश्य जलविद्युत् आयोजना (१०,८०० मेगावाट), जावातिला अर्धजलाशययुक्त (७०.३७ मेगावाट), सुनकोशी–३ (६८३ मेगावाट), आँधीखोला (१८०मेगावाट),अरुण–४ (४९०.२ मेगावाट) आदि आयोजनाहरूको निर्माण अघि बढाइने छ ।
ऊर्जा सुरक्षा र दैनिक माग व्यवस्थापनको दृष्टिकोणबाट आवश्यक देखिएको पम्प स्टोरेज आयोजनाहरू (१०० मेगावाटको कूलेखानी– सिस्नेरी, ३३४ मेगावाटको स्यार्पु ताल र ४९५ मेगावाटको हुलिङटार) एवं ब्याट्री स्टोरेज आयोजनाहरूको विस्तृत अध्ययन गरी कार्य अगाडि बढाइनेछ । सन् २०५० सम्मको विद्युत् माग धान्ने मात्र नभई विद्युत्को गुणस्तर वृद्धि तथा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न काठमाडौँ लगायत मुख्य शहरहरूमा पर्याप्त प्रसारण तथा वितरण प्रणालीको निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
बह्राबिसे–काठमाडौँ र हेटौँडा–ढल्केवर ४०० केभी प्रसारण लाइनहरू सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । नयाँबुटवल–लमही ४०० केभी, तिङ्ला–दूधकोशी–ढल्केवर ४००केभी, अरुण हब–इनरुवा ४०० केभी, नयाँ खिम्ती–ढल्केवर ४०० केभीर लप्सीफेदी–तीनपिप्ले २२० केभी प्रसारण लाइन आयोजनाहरूलाई अघि बढाइने छ ।
सीमापार विद्युत् आदान–प्रदानका लागि भारततर्फ इनरुवा–न्यूपूर्णिया, दोधारा (लम्की) – बरेली ४०० केभी र चीनतर्फ चिलिमे–रसुवागढी– केरुङ २२० केभी प्रसारण लाइन आयोजनाहरूको निर्माणलाई अघि बढाइने छ । यी प्रसारण लाइनहरू नेपालले २०३५ सम्म १५,००० मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राप्त गर्न र भारततर्फ आगामी १० वर्षमा १०,००० मेगावाट विद्युत् आयात गर्ने प्रतिबद्धता पूरा गर्न महत्त्वपूर्ण हुनेछन् ।
काठमाडौँको ६ लाख ग्राहकको घरमा पूर्व–जडित मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्नुका साथै मुलुकभरका ग्राहकको घरमा जडान भएका मिटरलाई क्रमशः स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य अगाडि बढाइनेछ । विद्युतीकरणलाई जारी राख्दै देशका सम्पूर्ण नागरिकको घरधुरीमा पूर्ण विद्युतीकरण गर्ने र औद्योगिक एवं व्यापारिक लगायत सबै वर्गका ग्राहकको आवश्यकता अनुसार विद्युत् आपूर्तिका लागि वितरण प्रणालीको विस्तार एवं सुदृढीकरणका कार्यहरू गरिने छन् ।
परम्परागत तथा खनिज ऊर्जालाई प्रतिस्थापन गर्न ग्राहस्थ उपयोग, चार्जिङ स्टेशन, कृषि, उद्योग, पर्यटन आदि क्षेत्रमा विद्युत्को खपतमा व्यापक वृद्धि हुनेगरी आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ । साथै निजी क्षेत्रलाई समेत यस व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिनेछ । प्राधिकरणको सङ्गठनात्मक क्षमता एवं सेवा प्रवाहको दक्षता अभिवृद्धि गर्न प्राधिकरणको क्ष्त् एयष्अिथ २०८० अनुरूप डिजिटलाइजेसनको कार्य अगाडि बढाइनेछ ।
संस्थागत सुधारका लागि पाँच वर्षे संस्थागत विकास योजना तयारी गरी लागू गरिनेछ । आ.व. २०८१/८२ देखि सुरु गरिएको कर्मचारीहरूको सेवाकालिन तालिम लगायत मानव संसाधन विकासका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
आभार
आफ्नो स्थापनाको ४०औँ वार्षिकोत्सवको यस सुखद अवसरमा म नेपाल सरकार, प्रदेश सरकार, विभिन्न स्थानीय तहहरू, वित्तीय क्षेत्र समस्त ग्राहक वर्ग, विद्युत व्यापारमा संलग्न संस्थाहरू, दातृनिकाय तथा विकास साझेदार, निजीक्षेत्र, पत्रकार बन्धुहरू लगायत समस्त तह र तप्काका व्यक्ति, सङ्घ–संस्थाहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक प्राधिकरणका हरेक कार्यहरूमा एकताबद्ध भई संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागि समर्पित प्राधिकरणका आधिकारिक ट्रेड युनियन, क्रियाशिल ट्रेड युनियनहरू एवं सम्पूर्ण कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।
आवश्यक सुरक्षा र सतर्कताका अपनाउँदा–अपनाउँदै पनि गतवर्ष विद्युतीय दुर्घटनाका कारण आफ्नो ज्यान गुमाउनुहुने प्राधिकरणका कर्मचारी तथा सर्वसाधारण प्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । आगामी दिनहरूमा विद्युतीय दुर्घटना हुन नदिन थप सतर्कता अपनाई प्रभावकारी सुरक्षा उपाय अवलम्बन गरिने विश्वास दिलाउन चाहन्छु । अन्त्यमा, समस्त उपभोक्ताहरूलाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत आपूर्ति गरी उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणको कार्य सम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरूपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एक पटक हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद ।
हितेन्द्र देव शाक्य
कार्यकारी निर्देशक नेपाल विद्युत् प्राधिकरण
मिति: २०८२ भदौ १ गते ।