काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय विद्युत् विनिमय (आइएक्स) मा बिक्री गर्न अनुमति प्राप्त गरेको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत स्वीकृत आयोजनाहरूको विद्युत् आइइएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न मंसिर २ गते अनुमति दिएको हो ।
उक्त अनुमतिअनुसार ५९४ मेगावाट विद्युत् २०८३ मंसिर २ देखि २०८४ जेठ ३१ गतेसम्म आइएक्समा बिक्री गर्न सकिनेछ ।अनुमतिप्राप्त परिमाणमध्ये २०५ मेगावाट विद्युत् कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत आइएक्समा बिक्री गरिनेछ ।
नेपाल विद्युत् प्राधिकरण र भारतका एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ । चालु वर्षका लागि सम्झौताअनुसार विद्युत् निर्यात गर्ने अवधि गत ३१ अक्टोबर (१४ कात्तिक) मा समाप्त भएको थियो ।
मध्यकालीन सम्झौताअन्तर्गत निर्यात हुँदै आएको विद्युत् वैकल्पिक बजारका रूपमा आइएक्समा बिक्री गर्न आवश्यक अनुमतिका लागि प्राधिकरणबाट निर्यातयोग्य आयोजनाहरूको सूचीे निर्यात अवधि समाप्त हुनुअघि नै भारतीय सम्बन्धित निकायमा पेश गरिएको थियो । त्यसपछि स्वीकृतिका लागि सम्बन्धित निकायहरूमा निरन्तर पहल हुँदै आएको थियो ।
सोही प्रक्रियाअन्तर्गत हाल ५९४ मेगावाट विद्युत आईएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए । उनका अनुसार एनभिभिएनमार्फत ३८९ मेगावाट र पिटिसीमार्फत २०५ मेगावाट गरी ५९४ मेगावाट विद्युत् आइएक्समा बिक्री गर्ने अनुमति प्राप्त भएको हो ।
प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत आइएक्सको डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । त्यसैगरी, द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार भारतका हरियाणा तथा बिहार र बंगलादेशमा विद्युत निर्यात हुँदै आएको छ ।
थप २१ मेगावाट विद्युत् निर्यात स्वीकृति
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । सेती खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् २०८३ मंसिर २ देखि २०८४ भदौ १५ गतेसम्म आइएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।
यससँगै हालसम्म नेपालबाट भारततर्फ कुल १,१९८ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त भएको छ । त्यस्तै, आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि भारतबाट १,००४ मेगावाट विद्युत् आयात गर्नसमेत अनुमति प्राप्त भइसकेको छ ।