काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशलाई अप्ठ्यारो परेको अहिलेको अवस्थामा आफू जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् । विदेश भ्रमणबाट फर्किएपछि शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो स्पष्ट पारेका हुन् ।
ऊर्जा क्षेत्रका दक्ष तथा अनुभवी इन्जिनियरहरू ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका कुलमान घिसिङ र कार्यकारी निर्देशक शाक्यले मिलेर काम गर्नुपर्ने चाहना आम नागरिकले व्यक्त गरिरहँदा शाक्यले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । शाक्यले लेखेका छन् – आज मेरो देश जलेर मल्हम पट्टी लगाउनु पर्ने बेला छ । देशले यति धेरै दुःख/कष्ट व्यहोरिरहेका बेला देशप्रति चिन्तित सबै नेपालीबाट सम्पूर्ण बलबुता र थप मेहनत तथा परिश्रमसहित योगदानको अपेक्षा गरिरहेको छ। यस्तो बेला उल्टै बाटो छोड्नु, मैदान छोडेर भाग्नु भनेको कर्तव्यच्यूत हुनु हो भन्ने मैले प्रस्ट बुझेको छु। यसरी कर्मभूमि र कार्यक्षेत्रको अवस्था बिग्रिएको बेला देशलाई धोका दिन चाहन्न । यो त झन् जिम्मेवारीबोध गरेर नयाँ पुस्ता (जेन–जेड) को भावनालाई बुझेर साथमा लिएर काम गर्ने बेला हो ।’
आफ्नो रगत र पसिनाले बनाएको घर समेत आवेगमा आएको भिडले क्षणभरमै ध्वस्त बनाएकोप्रति उनले दुःख व्यक्त गरेका छन् । घर ध्वस्त भएकाले सुत्न र आराम गर्नसमेत घर जाने अवस्था नरहेको भन्दै उनले बरु कार्यालयमै सुतेर भए पनि देशलाई आवश्यक परे २४ घण्टा नै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भनेका छन् – आफ्नो रगत–पसिनाले ठड्याएको घर, विद्युत् प्राधिकरणमा इमानदारितामा कसैले औला नठड्याएको रेकर्डसहित जे जति सम्पत्ति थियो, त्यो अनि घर गाडी समेत एउटा भीडको एकै छिनको आवेगमा ध्वस्त भएको र सुत्न, खान, आराम गर्न घर जाने अवस्था नै नरहेको यस्तो परिप्रेक्ष्य पनि विद्युत् प्राधिकरणमा मैले काम गरेर नेतृत्वसहित गन्तव्यमा पुर्याउन सहयोग गर्नु पर्छ भन्ने लाग्छ । यही जिम्मेवारीबोध र अफिसका सहकर्मी साथीहरूको अनुरोध समेतले गर्दा बरु अफिसमै सुतुँला तर आवश्यक परे चौबीसै घण्टा आफ्नो समय अफिसलाई नै दिनेगरी अहोरात्र देश र जनताको सेवामा खट्ने चाहना र प्रतिबद्धता व्यक्त गर्दछु । नेपालको जय होस् । नेपालीको जय होस् ।
याे पनि
ऊर्जा मन्त्री घिसिङ र कार्यकारी निर्देशक शाक्य मिलेरै काम गर्नुपर्ने आम नागरिकको धारणा