काठमाडौँ । नेपालको ऊर्जा विकासमा निजी क्षेत्रले साढे ३ दशकको अवधिमा निकै ठूलो फड्को मारेको विज्ञहरूले औँल्याएका छन् । यही अवधिमा निजी क्षेत्रले किलोवाटदेखि सयौँ मेगावाटका जलविद्युत् आयोजना निर्माणको क्षमता र अनुभव बटुलेको उनीहरूको धारणा थियो ।
ऊर्जा खबर र मार्टिन चौतारीको सहकार्यमा हुँदै आएको ऊर्जा नीति संवादको तेह्रौँ शृङ्खलाअन्तर्गत मंगलबार (वैशाख १६ गते) को छलफलमा उपस्थित अधिकांश विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा मार्टिन चौतारीका अध्यक्षसमेत रहेका ऊर्जा उद्यमी कुमार पाण्डेले ऊर्जा विकासमा साढे ३ दशकको यात्रा : फर्केर के पाइयो विषयमा प्रस्तुति राख्दै ऊर्जा क्षेत्रमा आफ्नो करिअर र समग्र निजी क्षेत्रकै यात्राबाट तथ्यगतरूपमा प्रकाश पारेका थिए । उनले विश्वका सबै मानिसको स्वप्न गन्तव्य मुलुकको रूपमा रहेको अमेरिका पुगेर पनि आफू दुई पटकसम्म फर्किएर ऊर्जा क्षेत्रको विकासमै क्रियाशील भएको बताए । उनले आफूले सुरुमा २०४८ सालमा अमेरिकाबाट इन्जिनियरिङ नेपाल फर्किएर ऊर्जा क्षेत्रमा क्रियाशील भएको बताए ।
‘त्यतिबेला नेपाल फर्किएको २ सातापछि नै बुटवल पावर कम्पनीको झिमरुक जलविद्युत् आयोजनामा काम गर्न गएको गएँ,’ उनले आफ्नो करिअरबारे सुनाए, ‘आँधीखोला र खिम्ति र अमेरिकी अनुदान सहयोगमा सञ्चालित ग्रामीण विद्युतीकरण आयोजनामा पनि काम गरेँ । काम सिकाउने गुरु चाहिँ नर्वेजियन इन्जिनियर अड हफ्टन, बलराम प्रधान, डीआर राणालगायत स्वदेशी तथा विदेशी इन्जिनियरहरू थिए ।’ त्यसैबेलादेखि मार्टिन चौतारीको स्थापना गरी मंगलबारे छलफल सुरु गरेको पनि उनले स्मरण गरे ।
‘त्यसबेला नेपालमा भर्खरै बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएको थियो, नयाँ संविधान आएको थियो,’ उनले भने, ‘निजी क्षेत्रलाई विद्युत् उत्पादन गर्न दिन २०४९ सालमा विद्युत् ऐन आयो । तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यले निजी क्षेत्रलाई पिपिए दर कति दिने भन्दा हामीले अवाक् भएका थियौँ । छलफलपछि २०५५ सालमा पिपिए दर लागु भयो ।’
२०६१/६२ तिर आफू पुनः अध्ययनका लागि अमेरिका गएको र अध्ययन सकेर पुनः फर्किएको बताए । ‘सुरुमा मेगावाटमा पनि जान नसकेर हामीले लमजुङमा १८३ किलोवाटको स्याङ्गे खोला जलविद्युत् आयोजना बनायौँ,’ उनले भने, ‘त्यतिबेला बैंक तथा अन्य क्षेत्रबाट लगानी जुटाउनु नै समस्याको विषय थियो, विद्युत् आयोजना निर्माणको व्यवहारिक ज्ञान, सिप र अनुभव नेपालीसँग थिएन ।’
किलोवाटका आयोजनाबाट २–४ मेगावाटका साना आयोजना हुँदै सयौँ मेगावाटका ठूला आयोजना निर्माणको क्षमता प्राप्त भएको भए पनि हाल सुरुवाती साना आयोजना रुग्ण अवस्था रहनु दुःखद् पक्ष भएको उनले बताए ।
कार्यक्रममा पूर्व जलस्रोत मन्त्रीसमेत रहेका ऊर्जाविद् दीपक ज्ञवालीले पाण्डेले अमेरिका छोडेर नेपालकै ऊर्जा विकासमा लाग्दा अमेरिकामा पाइन नसक्ने सामाजिक प्रतिष्ठा आर्जन गर्न सफल भएको बताए ।
‘तपाइँ अमेरिकामै बस्नु भएको भएर नेपाल आउँदा २/४ हजार डलर देखाएर फूर्ति लगाउन सक्नुहुन्थ्यो होला तर अमेरिकामा तपाइँको सामाजिक प्रतिष्ठा शून्यबराबर नै पनि हुन सक्ने सम्भावना थियो,’ उनले भने, ‘नेपाल आएर जुन सामाजिक प्रतिष्ठा कमाउनु भएको छ त्यो पनि ठूलो उपलब्धि हो ।’
विद्युत् नियमन आयोगकी सदस्य भागिरथी ज्ञवालीले विद्युत् नियमन आयोगले निजी ऊर्जा उद्यमीलाई सहजीकरण गर्ने विषयमा भूमिका निर्वाह गर्ने बताइन् । पूर्व ऊर्जा सचिव दिनेश घिमिरेले आफूले पनि सुरुवाती चरणमा सिकलेशलगायत लघु जलविद्युत् आयाेजनामा काम गर्ने अवसर पाएकोले सरकारी सेवामा समेत सहज भएको बताए ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक शेरसिंह भाटले जलविद्युत् आयोजनाको सामान ल्याउने क्रममा नै निजी क्षेत्रका प्रवद्र्धकलाई दुःख दिने नियत राखेर व्यवहार गरिने गरेको बताए । यस्ता अनेक झमेला सहेर पनि निजी क्षेत्रले ऊर्जा विकासमा गरेको योगदान सकारात्मक रहेको बताए ।
कार्यक्रममा ऊर्जा खबरका सल्लाहाकार सम्पादक समेत रहेका ग्रिन इनर्जी आन्टरप्रेनर्स नेपालका अध्यक्ष सूर्यप्रसाद अधिकारीले निजी ऊर्जा उद्यमीले भोग्नु परेका समस्याबारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ऊर्जाविद् डा. केपी दुलालले बुटवल पावर कम्पनी (बिपिसी) र लमजुङ विद्युत् विकास कम्पनी (लेट्को) जस्ता संस्थालाई नेपाल विद्युत् प्राधिकरणको प्रतिस्पर्धी संस्थाको रूपमा विकास गर्न सकेको भए ऊर्जा विकासमा अझ बढी सहजता आउन सक्ने उनले बताए ।
पाण्डेका सहपाठीसमेत रहेका नेशनल हाइड्रो पावर कम्पनीका सञ्चालक कञ्चनप्रकाश पाण्डे र पत्रकार विकास रौनियारले अमेरिका जस्तो देश छोडेर नेपाल आउनुको कारणबारे प्रश्न गरेका थिए । जवाफमा पाण्डेले आफूले नेपालमै बसेर ऊर्जा विकासमा लाग्न चाहेको बताए ।