काठमाडौँ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा डा. जगदीश्वर कर्माचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव कर्माचार्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्दै ऊर्जा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले कर्माचार्यसहित तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो । समितिको सोमबार बसेको बैठकले कर्माचार्यलाई पहिलो, नवीनराज सिंहलाई दोस्रो र मीना श्रेष्ठलाई तेस्रो वरीयतामा राखेर सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा सरकारले पहिलो नम्बरमा रहेका कर्माचार्यलाई सचिवमा बढुवा गरेको हो । प्रचलित व्यवस्थाअनुसार समितिले सिफारिस गरेका तीन वरिष्ठ सहसचिवमध्येबाट सरकारले एक जनालाई सचिवमा बढुवा गर्ने व्यवस्था छ ।
कर्माचार्य यसअघि पनि प्राविधिकतर्फ सचिव बढुवाको सिफारिसमा परिसकेका थिए । अघिल्लो पटक चिरञ्जीवी चटौत पहिलो, कर्माचार्य दोस्रो र नवीनराज सिंह तेस्रो वरीयतामा सिफारिस भएका थिए । उक्त सिफारिसबाट सरकारले चटौतलाई सचिवमा बढुवा गरेको थियो ।
यसपटक सचिवमा बढुवा भएका कर्माचार्य ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमै कार्यरत थिए । उनी यसअघि मन्त्रालयमा निमित्त सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । सचिवमा बढुवा भएपछि उनलाई सोही मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो ।
यसअघि ऊर्जा सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेपछि मन्त्रालयमा सचिव पद रिक्त रहेको थियो । उक्त रिक्त पदमा कर्माचार्यलाई पदस्थापन गरिएको हो ।
ऊर्जा मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेसँगै कर्माचार्यले मन्त्रालयअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका नीति, योजना तथा कार्यक्रम कार्यान्वयनको प्रशासनिक नेतृत्व गर्नेछन् ।