काठमाडौँ । असोज ९ गतेदेखि भएको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण आकस्मिक रूपमा बन्द भएका विद्युत् आयोजना क्रमशः सञ्चालनमा आउन थालेका छन् । भदो १० यता विभिन्न कारणले आएको बाढीपहिरोका कारण उत्पादन तथा प्रसारण संरचनामा क्षति पुग्दा ३८ वटा जल तथा सौर्य विद्युत् आयोजना प्रभावित भएका थिए । कुल क्षमता १ हजार २ सय ९२ मेगावाटका यी आयोजना मध्ये ८ वटा आयोजनाको २३० मेगावाट विद्युत् अझै राष्ट्रिय प्रणालीबाट बाहिर रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अविरल वर्षापछिको बाढीपहिरोका कारण विभिन्न विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही उत्पादन केन्द्र सञ्चालनमा आइसकेका छन् । प्रसारण टावरमा क्षति पुगेका कारण उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि विद्युत् प्रणालीमा जोडिन नसकेका आयोजनालाई सञ्चालनमा ल्याउन भने केही समय लाग्ने छ । केही प्रसारण संरचना मर्मत भएपछि सञ्चालनमा आउने अवस्थामा छन् ।
सेती–मादीको २६२ र मर्स्याङ्दी नदी कोरिडोरको १९० मेगावाट सञ्चालनमा
बाढीका कारण अवरुद्ध भएका सेती–मादी नदी कोरिडोरका २६२ मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आइसकेका छन् । त्यस्तै मर्स्याङ्दी करिडोरमा अवरुद्ध भएका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पनि सञ्चालनमा आएका छन् ।
यसरी यी दुई करिडोरका मात्रै ४५२ मेगावाट क्षमताका प्रभावित उत्पादन केन्द्र पुनः सञ्चालनमा आएका छन् । बाढीका कारण अवरुद्ध भएको १४४ मेगावाटको कालीगण्डकी ‘ए’ पनि सञ्चालनमा ल्याउने क्रममा रहेको प्राधिकरणले जनाएको छ ।
कुश्मा–दाना क्षेत्रमा ३५८.२ मेगावाट प्रभावित
प्राधिकरणको क्षेत्रगत विवरणअनुसार बाढीबाट सबैभन्दा बढी क्षमतामा कुश्मा–दाना क्षेत्रका जलविद्युत् आयोजना प्रभावित भएकाे छन् । यहाँ १२ वटा उत्पादन केन्द्रको ३५८.२ मेगावाट क्षमता प्रभावित भएको छ ।
यस क्षेत्रमा निलगिरि–१ को ३८ मेगावाट, निलगिरि–२ को ७१ मेगावाट, मिस्त्रीको ४२ मेगावाट, घरखोलाको १४.८ मेगावाट, थापाखोलाको १३.६ मेगावाट, रेलेखोलाको ६ मेगावाट र घलेम्दीको ५ मेगावाट क्षमता रहेको छ। त्यस्तै माथिल्लो राहुघाट ४८.५ मेगावाट, राहुघाट मंगले ३५.५ मेगावाट, ठुलोखोला २१.३ मेगावाट, माथिल्लो ठुलोखोला २२.५ मेगावाट र राहुघाट ४० मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन् ।
यस प्रसारण लाइनमा क्षति पुगेका कारण यस क्षेत्रका ७ वटा जलविद्युत् केन्द्रको १९० मेगावाट विद्युत् प्रसारण हुन नसकेको छ । तीमध्ये केही आयोजना उत्पादन गर्न सक्ने अवस्थामा भए पनि प्रसारण लाइनको क्षतिका कारण विद्युत् प्रणालीमा पठाउन नसकिएको प्राधिकरणले जनाएको छ ।
राहुघाट सञ्चालनमा ल्याउन अझै १० दिन लाग्ने
बाढीबाट राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा पानी पसेकाले सफाइ गरी आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । स्विचयार्डको अवस्था भने सामान्य रहेकाले चार्ज गरिसकिएको छ ।
राहुघाट सबस्टेसनमा जोडिएका र बाढीका कारण अवरुद्ध भएका आयोजनामध्ये ४० मेगावाटको राहुघाटबाहेक १२७ मेगावाट क्षमताका आयोजना सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।
पोखरा क्षेत्रमा १२१ मेगावाट प्रभावित
असोज ९ पछिको बाढीपहिरोले पाेखरा क्षेत्रमा ५ वटा उत्पादन केन्द्रको १२१ मेगावाट क्षमता प्रभावित भएको छ । यसमा सुपर मादी ४४ मेगावाट, माथिल्लो मादी २५ मेगावाट, मादमे खोला २९ मेगावाट, सिक्लेस १२ मेगावाट र नामर्जुन ११ मेगावाट छन् ।
सुपर मादी, माथिल्लो मादी, सिक्लेस र नामर्जुनमा बाढी तथा मादमे खोलामा आफ्नै कारण उत्पन्न खराबीलाई उत्पादन प्रभावित भएको हुनुको कारण उल्लेख प्राधिरणले उल्लेख गरेको छ ।
मर्स्याङ्दीमा १८९ र कालीगण्डकीमा १४४ मेगावाट प्रभावित
मर्स्याङ्दी करिडोरमा ३ वटा आयोजनाको १८९ मेगावाट प्रभावित भएको छ । यसमा मध्य मर्स्याङ्दी ७० मेगावाट, माथिल्लो मर्स्याङ्दी ५० मेगावाट र मर्स्याङ्दी ६९ मेगावाट छन् ।
कालीगण्डकी करिडोरमा १४४ मेगावाटको कालीगण्डकी ‘ए’ प्रभावित भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले दिएको छ । बाटो अवरुद्ध भएकाले अन्य स्थानको विस्तृत क्षति विवरण आउन बाँकी रहेको छ ।
समुन्द्रटार र मोदीमा ४९ मेगावाट प्रभावित
समुन्द्रटार क्षेत्रमा ३ वटा आयोजनाको २१ मेगावाट र मोदी क्षेत्रमा २ वटा आयोजनाको २८ मेगावाट प्रभावित भएको छ । समुन्द्रटारमा तादी थाप्रेक ५ मेगावाट, माथिल्लो तादी ११ मेगावाट र तादी खोला ५ मेगावाट छन् । मोदी क्षेत्रमा मध्य मोदी १८ मेगावाट र तल्लो मोदी–१ को १० मेगावाट क्षमता प्रभावित भएको विवरणमा उल्लेख छ ।
भाेटेकाेसी–त्रिशूली करिडोरका ४३०.८ मेगावाट अझै प्रणाली बाहिर
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली करिडोरमा १२ वटा उत्पादन केन्द्रको ४३०.८ मेगावाट क्षमता प्रभावित भएको छ । यसमा रसुवागढी १११ मेगावाट, सान्जेन ७८ मेगावाट, माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट, सान्जेन ४२.५ मेगावाट, त्रिशूली २४ मेगावाट, नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजना २५ मेगावाट, चिलिमे २२.१ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट, माथिल्लो मेलुङ १४.३ मेगावाट, देवीघाट १४.१ मेगावाट र मेलुङ खोला ५ मेगावाट छन् ।
माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी हबमा क्षति पुग्नुका साथै विभिन्न जलविद्युत् केन्द्रमा क्षति हुँदा यस क्षेत्रको ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ । यस क्षेत्रमा प्राधिकरण तथा उसका सहायक कम्पनीको प्रारम्भिक अनुमानित क्षति करिब ७४ अर्ब रुपैयाँ रहेको छ ।
यसरी कुश्मा–दाना ३५८.२ मेगावाट, पोखरा १२१, मर्स्याङ्दी १८९, कालीगण्डकी १४४, भाेटेकाेसी–त्रिशूली ४३०.८, समुन्द्रटार २१ र मोदी २८ मेगावाट गरी ३८ वटा उत्पादन केन्द्रको कुल १,२९२ मेगावाट क्षमता प्रभावित भएको छ ।
वितरण लाइन पनि क्रमशः सुचारु हुँदै
बाढीपहिरोका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको थियो। म्याग्दी, बागलुङ, झापुटार सबस्टेसन र रुकुम पूर्वमा विद्युत् सुचारु भइसकेको छ ।
मुस्ताङ, प्युठान र रोल्पामा सोही दिन अपराह्नसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सुचारु गर्ने प्राधिकरणको योजना रहेको थियो ।
सुख्खायाममा २३७२.७७ मेगावाट पुर्याउने तयारी
बाढीपहिरोबाट प्रभावित आयोजनाको पुनःस्थापनासँगै प्राधिकरणले आगामी सुख्खायामको माग व्यवस्थापनको तयारी पनि अघि बढाएको छ । सुख्खायाममा आन्तरिक उत्पादनबाट १,२१८ मेगावाट उपलब्ध हुने अनुमान गरिएको छ ।
त्यसमा ढल्केबर–मुजफ्फरपुरबाट ६००.८० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहार–उत्तर प्रदेशका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटिसीमार्फत १५० मेगावाट गरी १,१५४.८० मेगावाट विद्युत् आयात गर्ने योजना छ । यसअनुसार सुख्खायाममा कुल उपलब्ध क्षमता २,३७२.७७ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ ।
यसका अतिरिक्त पिक समयमा १३२ केभी लाइनमार्फत सम्पतियाबाट ७०.८, रामनगरबाट ३६.४, रक्सौलबाट ८९.२ र टनकपुरबाट ५५ मेगावाट गरी २५१.४ मेगावाट सम्म अस्थायी विद्युत् आयात गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
यसरी बाढीपहिरोबाट प्रभावित १,२९२ मेगावाट क्षमताका ३८ उत्पादन केन्द्रमध्ये प्रणालीबाहिर रहेको २३० मेगावाटलाई क्रमशः प्रणालीमा फर्काउँदै, अन्य प्रभावित संरचनाको मर्मत तथा पुनःस्थापनासँगै आगामी सुख्खायामको विद्युत् माग व्यवस्थापन गर्ने प्राधिकरणको योजना रहेको छ ।