काठमाडौँ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा प्रवर्द्धन गरिएको ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । यस लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार धनुषाको ढल्केबर सबस्टेसनदेखि सोही जिल्लाको हंसपुर नगरपालिका–१ मा अवस्थित बालगंगा सबस्टेसनसम्म निर्माण भएको उक्त डबल सर्किट प्रसारण लाइनबाट विद्युत् प्रवाह गरी परीक्षण गर्न लागिएको हो । मंगलबार (२०८३ असार १६ गते) देखि उच्च भोल्टेजको विद्युत् प्रवाह गरेर लाइनको परीक्षण सुरु गरिने र परीक्षण सफल भएपश्चात उक्त लाइनलाई स्थायी रूपमा सञ्चालनमा ल्याइने छ । लाइनमा उच्च भोल्टेजमा विद्युत् प्रवाह हुने भएकाले सर्वसाधारणको जीउधनको सुरक्षाका लागि प्राधिकरणले विशेष सतर्कता अपनाउन आह्वान गरेको छ ।
यस प्रसारण लाइनको रुट धनुषाका विभिन्न स्थानीय निकायहरू भएर जाने गरी निर्माण गरिएको छ । त्यसअन्तर्गत जिल्लाको बटेश्वर गाउँपालिका–५, लक्ष्मिनियाँ गाउँपालिका–३ र ६, मिथिला विहारी नगरपालिका–८, ९ र १०, औरही गाउँपालिका–१ र हंसपुर नगरपालिका –१, ४ र ९ पर्दछन् ।
यी क्षेत्रका बासिन्दाहरूलाई प्रसारण लाइनका टावरहरूमा नचढ्न, कुनै पनि वस्तुले तारमा नछुन र ‘खतरा’ सङ्केत जनाइएका वस्तु वा संरचनाहरूलाई नछुन आयोजनाको आग्रह छ । साथै आफ्ना बालबालिकालाई समेत यस विषयमा सचेत गराई टाढै राख्न आह्वान गरिएको छ ।
लाइन परीक्षणका क्रममा कतै स्पार्क (विद्युतीय झिल्का) उत्पन्न भएमा वा अन्य कुनै खतरा देखिएमा तुरुन्त नजिकका प्रहरी चौकी तथा प्राधिकरणको कार्यालयमा खबर गर्न आह्वान गरिएको छ ।