दोलखा । सिँगटी–लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माण पूरा हुन नसकी अलपत्र परेको छ । २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित १६ वर्षअघि ठेक्का लागेको आयोजनाको एउटा सर्किट ५ वर्षअघि निर्माण पूरा भई सञ्चालनमा आएको थियो तर अर्को सर्किटको निर्माण पूरा गरी हालसम्म सञ्चालनमा ल्याउन नसकिएको हो । प्रसारण लाइन निर्माण समयमै पूरा नहुँदा दोलखाको उत्तरी क्षेत्रमा निर्माण भएका जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा उत्पादन गर्न पाएका छैनन् ।
प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ भएपछि २५ मेगावाटको सिँगटी खोला जलविद्युत् केन्द्रको प्रत्यक्ष सहयोगमा २०७८ असारमा सिङ्गल सर्किट लाइन सञ्चालनमा ल्याइएको थियो । त्यसपछि, सिँगटी खोलासहित १० मेगावाटको सिप्रिङ खोला र ५ मेगावाटको घट्टे खोलाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । यद्यपि, प्रसारण लाइनको पहिलो सर्किट समेत समयमा सञ्चालनमा नआउँदा सिँगटी खोलाले समेत निर्माण तथा सबै परीक्षण पूरा भएको ५ महिनापछि मात्र विद्युत् उत्पादन गर्न पाएको थियो ।
पछिल्लो ५ वर्षमा तल्लो खारे खोलाको ११, सुरी र माथिल्लो सुरी खोलाको १४, साँघु खोलाको २५ तथा कालिञ्चोक–साँघु जलविद्युत् केन्द्रको ५ गरी ५५ मेगावाट विद्युत् थपिएको छ । यी समेत अहिले सिँगटी सबस्टेसनमा करिब ९५ मेगावाट विद्युत् जोडिएको छ तर प्रसारण लाइनको दोस्रो सर्किट निर्माण पूरा गरी सञ्चालनमा ल्याउन नसक्दा एउटा सर्किटबाट मात्रै उत्पादन सुरु गरेका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा उत्पादन तथा प्रसारण गर्न सकिएको छैन ।
प्रसारण लाइनको क्षमताको सीमितताका कारण वर्षायाममा समेत कुनै पनि वर्ष पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नपाएको सिँगटी हाइड्रो इनर्जी लिमिटेडका कार्यकारी निर्देशक सुदीप खड्काले बताए । ‘वर्षामा समेत ९० प्रशितशतभन्दा बढी विद्युत् उत्पादन गर्न पाइएको छैन,’ उनले भने ।
४ वटा जलविद्युत् आयोजना निर्माण गरी उत्पादन गरिरहेका हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरुङले पनि क्षमता अनुसार उत्पादन गर्न नपाएको बताए । भोटेकोसी बाढीका कारण धेरै जलविद्युत् आयोजनाका विद्युत् उत्पादन भएको अवस्थामा सिँगटी क्षेत्रको विद्युत् खेर जानु राम्रो नभएको उनले बताए ।
त्यसैगरी, ३० मेगावाटको खानी खोला जलविद्युत् आयोजना पनि प्रसारण लाइनकै पर्खाइमा छ । कोप्लाङदेखि सिँगटीसम्मको १३२ केभी प्रसारण लाइनको निर्माण कार्य यही (खानी खोला–१) का प्रवर्द्धक ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले गरिरहेको छ । भारतीय ठेकेदार कम्पनीबाट पेटी ठेक्का लिएर सिँगटी–लामोसाँघु प्रसारण लाइन निर्माणको जिम्मासमेत ग्रीन लाइफसँग सम्बद्ध लगानीकर्ताले नै लिएका छन् । आफ्नो जलविद्युत् आयोजना उत्पादनमा जाने समय नजिकिँदै गर्दा सिँगटी–लामोसाँघु प्रसारण लाइन अलपत्र परेपछि उक्त कम्पनीले काममा अग्रसरता लिएको थियो । यद्यपि, एक दशक बितिसक्दा पनि कम्पनीले प्रसारण लाइन निर्माण सकेको छैन ।
अर्कोतर्फ, सिङ्गल सर्किट मात्रै सञ्चालन हुँदा लाइनमा कुनै समस्या आए विद्युत् उत्पादन नै बन्द गरेर मर्मत गर्नुपर्ने हुन्छ । यस्तो बेला विद्युत् कम्पनीहरूको विद्युत् खेर जाने र नोक्सानी हुने देखिन्छ । डबल सर्किट सञ्चालनमा ल्याउन सके एउटा सर्किट चलाएर अर्को लाइन मर्मत गर्दा विद्युत् उत्पादन नै बन्द गर्नु नपर्ने हुन सक्ने थियो ।
आयोजना प्रमुख राजन ढुङ्गेलले ठेकेदारको ढिलासुस्ती, स्थानीय अवरोध, जग्गा विवाद तथा मुआब्जासम्बन्धी समस्याका कारण आयोजना समयमै पूरा हुन नसकेको बताए । ‘डबल सर्किटको लाइन तान्ने काम पूरा भइसकेकोले दशैँअघि नै डबल सर्किट लाइनको परीक्षण पूरा गरी लाइन सञ्चालनमा ल्याइने छ,’ उनले भने, ‘केही समयपछि सबै निरीक्षण गरेर डबल सर्किटमा चार्ज हुन्छ ।’
ढिलाइको कारण
नेपाल विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र प्रसारण लाइन र सिँगटी सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
सबस्टेसनका लागि करिब साढे १७ करोड रुपैयाँ र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको थियो । यद्यपि, पहिलो पटक ठेक्का सम्झौताको म्याद थप भएपछि ठेकेदार कम्पनी सम्पर्कविहीन बनेको थियो ।
त्यतिबेला ग्रीन लाइफको खानी खोला आयोजनाको निर्माण प्रगति ८० प्रतिशतभन्दा बढी पुगिसकेकोले एक वर्षभित्र विद्युत् उत्पादन गर्ने अवस्था थियो । सोही आधारमा नेपाल विद्युत् प्राधिकरणले अरावली इन्फ्राको नेपाली प्रतिनिधिका रूपमा ग्रीन लाइफले काम गर्ने गरी ठेक्काको म्याद थपेको थियो ।
ग्रीन लाइफले काम सुरु गरेलगत्तै २०७२ वैशाखको भूकम्प र त्यसपछिको नाकाबन्दीले निर्माण प्रभावित भयो । परिस्थिति सहज बन्दै जाँदा ठेक्काको म्याद सकिएको थियो ।
त्यसपछि प्राधिकरणले ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउने तयारी गरे पनि विभिन्न पहलपछि पुनः म्याद थपिएपछि ग्रीन लाइफले काम अघि बढाएको थियो । यद्यपि, अपेक्षित गतिमा काम हुन सकेन ।
प्रसारण लाइन निर्माणका क्रममा स्थानीय समस्या पनि थपिँदै गए । भूकम्पपछि प्रसारण लाइनको रुटमा पर्ने केही स्थानमा घर निर्माण भए । कतिपय ठाउँमा जग्गा किनबेच भयो । मुआब्जा र रुट परिवर्तनको मागलाई लिएर दोलखा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा स्थानीयले अवरोध गरेका थिए ।
कतिपय स्थानमा सुरक्षाकर्मीको उपस्थितिमा समेत काम गर्नुपरेको थियो । आयोजना प्रमुख ढुङ्गेलका अनुसार स्थानीय समस्या समाधानका लागि केन्द्रस्तरबाट समेत पहल गर्नुपरेको थियो । उनले प्रसारण लाइन निर्माणको समस्या कुनै एउटा आयोजनाको प्रयासबाट मात्र समाधान नहुने भन्दै राज्यले नै प्रभावकारी पहल गर्नुपर्ने बताए ।