विद्युत आपूर्ति : प्राधिकरण : १०४२७ मे.वा.घन्टा / निजी क्षेत्र : ११६६० मे.वा.घन्टा / आयात : ६०६७ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग : २८१५४ मे.वा.घन्टा/ उच्च माग : १३१९ मेगावाट मे.वा.घन्टा/ निर्यात : मेगावाट
×

देशमा वायु ऊर्जा विकासकाे संक्षिप्त सिंहावलोकन

२०७८ जेठ २३

काठमाडाैं । देशमा वायु ऊर्जा विकासकाे इतिहास जलविद्युत् जस्ताे शताब्दीऔं पुरानाे छैन । यसबाट उत्पादित विद्युत्काे पहुँच कूल जनसंख्याकाे निकै कममा मात्र पुगेकाे छ । यद्यपि, विकासका दृष्टिले वायु उर्जाले पनि तीन दशकभन्दा लामाे इतिहास बनाइसकेकाे छ । यस अवधिमा जुन हिसाबले याे क्षेत्रकाे विकास हुनुपर्ने थियाे । त्याे भएकाे छैन । सरकारले निरन्तर प्रयास गर्दै आए पनि वायु उर्जाबाट विद्युत् उत्पादन गर्ने अभियान त्यति छिटाे दाैडिन सकेकाे छैन । यसकाे मुख्य कारण, हामीसँग अध्ययन भएका पर्याप्त तथ्य तथ्यांक नहुनु, देशकाे भाैगाेलिक जटिलताका कारण अध्ययन सहज नहुनु तथा सरकार एवं सम्बन्धित निकायकाे समेत यसतर्फ कम ध्यान जानुले वायु उर्जाकाे क्षेत्रमा चाहे जति उपलब्धि हासिल हुन नसकेकाे पक्ष स्वीकार्नुपर्छ ।

देशमा जलविद्युत्काे अथाहा सम्भावना छ । अन्तर्राष्ट्रियस्तरमा यसकाे उपयाेगकाे सान्दर्भिकता पनि त्यति नै बढिरहेकाे छ । यद्यपि, पछिल्लाे दशकमा भने सरकारले मिश्रित ऊर्जा विकास प्रणालीलाई अवलम्बन गरिसकेकाे छ । जसअनुसार जलविद्युत् सहित साैर्य, वायु, बायाेग्यास र अन्य वैकल्पिक स्राेतबाट विद्युत् उत्पादन गर्नुपर्ने अवधारणाले मूर्त रूप लिएकाे छ । सरकार (ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालय) ले २०७५ साल बैशाख २५ गते जारी गरेकाे ऊर्जा क्षेत्रकाे श्वेतपत्रमा समेत मिश्रित उर्जा विकासलाइ स्पष्टरूपमा किटान गरिएकाे छ । यता सरकारले हरेक वर्षकाे बजेट तथा नीति कार्यक्रममा पनि यसलाई लिपिबद्ध गर्दै आएकाे छ । अतः अब जलविद्युत् मात्र नभई वैकल्पिक स्राेत (वायु, साेलारलगायत) बाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा आवद्ध गरी प्रणालीकाे सुरक्षा र गुणस्तरीय विद्युत् आपूर्तिलाई सुनिश्चित नगरी भएकाे छैन ।

पृष्ठभूमि

सन् १९८९ मा मुस्ताङको कागबेनीमा २० किलोवाट क्षमताको प्रणाली जडान गरी वायु ऊर्जा उत्पादनको सुरुवात भएको थियो । योसँगै नेपालमा अर्को वायु ऊर्जा प्रणाली विकासका लागि झन्डै दुई दशक कुर्नुपर्यो । त्यो समयमा राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा साना क्षमताका वायु ऊर्जा प्रवर्द्धन गर्ने कार्यमा जोड दिइएको थियो ।

सन् १९८९ देखि २०१० सम्म वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्राक्टिकल एक्सनको सहयोगमा नेपालमा केवल १३ किलोवाट मात्र वायु ऊर्जा जडान भएको थियो । यूएनइपी/जिइफको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सन् २००८ मा सोलार एन्ड विन्ड इनर्जी रिसोर्स एसेस्मेन्ट (स्वेरा) को अध्ययन नै नेपालमा विस्तृतरूपमा वायु ऊर्जा सम्भाव्यताको खोजी गर्ने पहिलो प्रयास थियो ।

नेपालमा करिब ३००० मेगावाट वायु ऊर्जा उत्पादनको सम्भाव्यता रहेको उक्त अध्ययनको प्रक्षेपण थियो । यो प्रक्षेपण नेपाल विद्युत् प्राधिकरणको प्रणालीबाट १५ किलोमिटर क्षेत्रभित्र रहेको Wind Energy potential map of 5 Km resolution काे मान्यताको आधारमा वायु शक्तिको घनत्व ३०० वाट प्रतिवर्गमिटर मापनको आधारमा प्राप्त भएको हो ।

केन्द्रले देशका सम्भाव्य स्थानहरूबाट निरन्तर वायु ऊर्जा सम्बन्धी तथ्यांकको अनुगमन गरिरहेको छ । तथापि, यस क्षेत्रमा वायु ऊर्जा तथ्यांक विश्लेषण, विस्तृत सम्भाव्यता अध्ययन तथा वायु ऊर्जा सम्बन्धी नीतिगत योजना तयार गर्ने दक्ष जनशक्तिको कमी रहेको छ । मेट मास्ट प्रणाली जडान तथा कम्तीमा वर्षमा एक पटक सो प्रणालीको डाटा अनुगमन अर्को महत्त्वपूर्ण कार्य हो । जुन केन्द्रले लामो समयदेखि निरन्तर गर्दै आएको छ ।

हालसम्म करिब २१ वटा वायु ऊर्जा मापन (मेट मास्ट) प्रणाली जडान सम्पन्न भई नियमित तथ्यांक प्राप्त गर्ने कार्य भइरहेको छ । नवलपरासीको धौवादीमा एसियाली विकास बैंक (एडिबी) को आर्थिक तथा प्राविधक सहयोगमा १० किलोवाटको वायु ऊर्जा प्रणाली र २ किलोवाट पिकको सौर्य प्रणाली (सौर्य वायु मिश्रित पाइलट प्रोजेक्ट) सम्पन्न भएयता केन्द्रले वायु ऊर्जा सम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

सिन्धुलीकाे चिसापानीमा जडान गरिएकाे साैर्य/वायु मिनी ग्रिड प्रणाली

नेपालमा वायु ऊर्जाको सम्भाव्यता

हालसम्म नेपालमा वायु ऊर्जाको सम्भाव्यता पत्ता लगाउन तपसिल बमोजिमका दुई वटा अध्ययन गरिएको छ :

१. सौर्य तथावायु ऊर्जा स्रोत विश्लेषण अध्ययन (SWERA-2008)

२. ऊर्जा क्षेत्र व्यवस्थापन सहयोग कार्यक्रम (ESMAP-2016)

१. सौर्य तथावायु ऊर्जा स्रोत विश्लेषण अध्ययन

सन् २००८ मा सरकार र युएनइपी/जिइफको सहयोगमा केन्द्रद्वारा कार्यान्वयन गरिएको स्वेरा (SWERA) का उपलब्धि तपसिल बमोजिम रहेका छन् :

नेपालमा वायु ऊर्जाको कूल सम्भाव्यता

प्राधिकरणको प्रणालीबाट १५ किलोमिटर क्षेत्रभित्र रहेको Wind Energy potential map of 5 Km resolution को मान्यताको आधारमा वायु शक्तिको घनत्व प्रतिवर्गमिटर ३०० वाटलाई आधार मान्दा जम्मा ६०७४ वर्गकिलोमिटर जति क्षेत्रफलमा ३०० वाट वायु शक्ति घनत्व रहेको छ । यदि, सो क्षेत्रफलको १० प्रतिशतमात्रै क्षेत्रफललाई आधार मान्ने हो भने ६०७.४ वर्गकिलोमिटरमा प्रतिवर्गकिलोमिटर ५ मेगावाटको दरले ३००० मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । जुन देशको हालको विद्युत् मागभन्दा धेरै बढी हुन आउँछ ।

नवलपरासीकाे धाैवादीमा जडान गरिएकाे देशकै पहिलाे साैर्य/वायु मिनी ग्रिड प्रणाली

२. ऊर्जा क्षेत्र व्यवस्थापन सहयोग कार्यक्रम

विश्व बैंक र सरकारको सहयोगमा सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य देशको माइक्रो स्केल हाई रिजोलुसन विन्ड म्याप तयार गर्नु रहेको छ । यो प्रोजेक्टको उपलब्धि तपसिल बमोजिम छन् :

भविष्यमा वायु ऊर्जा परियाेजना विकासका लागि सम्भावित स्थानहरू

क्र.स. जिल्ला स्थान क्षेत्र अवस्थिति
१. जुम्ला ताताेपानी, नाराकाेट, मुदुली, तीला पाेखरी पश्चिम उच्च पहाडी तर नदी बेसिन
२. हुम्ला चाल्ला पश्चिम उच्च पहाडी क्षेत्र
३. मुस्ताङ जाेमसाेम, कागबेनी, लाेमान्थाङ, छुसाङ, ताङ्बे, मार्फा, टुकुचे मध्य उच्च पहाडी क्षेत्र तर नदी बेसिन
४. सिन्धुली महादेव डाँडा, हरिहरपुर गढी, बाहुन तिल्पुङ मध्य मध्यपहाडी
५. पाँचथर अमरपुर बजार, सप्तमी पूर्व मध्यपहाडी
६. अछाम कमल बजार पश्चिम मध्यपहाडी
७. बझाङ पारा काट्ने, डिंगा पराेस पश्चिम मध्यपहाडी
८. नवलपरासी धाैवादी पश्चिम चुरे
९. प्युठान नेटा, पश्चिम मध्यपहाडी
१०. कैलाली चिसापानी पश्चिम मध्यपहाडी
११. ताप्लेजुङ सुकेटार, उत्तरी क्षेत्र पूर्व मध्यपहाडी
१२. इलाम फिक्कल पूर्व मध्यपहाडी
१३. माेरङ थलाहा पूर्व समथर
१४. साेलुखुम्बु पाताले, ट्याङ्बाेचे, फेरिचे, पाङबाेचे, खुम्जुङ पूर्व उच्च पहाडी
१५. मकवानपुर फापरबारी, ठिंगन, राइ गाउँ, भाेर्लेनी मध्य मध्यपहाडी
१६. ललितपुर ठूलाे दुर्लुङ मध्य मध्यपहाडी
१७. धादिङ गुम्दी, महादेवस्थान मध्य मध्यपहाडी
१८. पाल्पा मित्याल पश्चिम मध्यपहाडी
१९. गुल्मी ग्वादी, कृष्णडाँडा, बाँझकटेरी पश्चिम मध्यपहाडी
२० रसुवा स्याँफ्रुबेँसी मध्य उच्चपहाडी
२१. ओखलढुंगा ओखलढुंगा पूर्व मध्यपहाडी
२२. संखुवासभा उत्तरी क्षेत्र पूर्व उच्च हाडी

स्राेत : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र

केन्द्रले वायु ऊर्जा सम्बन्धी तथ्यांक संकलनका लागि बिगतमा १० मिटर, २० मिटर तथा ३० मिटर उचाईका मेट मास्ट प्रणाली जडान गरेकोमा मोरङको थलाहा, बझाङ्गको पाराकाट्ने, मकवानपुरको फापरबारी, पाँचथरको सप्तमी, जुम्लाको तातोपानी, धादिङको ब्रोम्डी, सिन्धुलीको हरिहरपुरगढी र बाहुन तिल्पुङ, गुल्मीको बाँझकटेरीमा ३० मिटरभन्दा अग्लो मेट मास्ट प्रणाली जडान गरिएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित ESMAP परियोजना अन्तर्गत ८० मिटर उचाईका १० वटा मेट मास्ट प्रणाली जडान भइसकेका छन् । त्यसैगरी, एडिबीको सहयोगमा सञ्चालित सासेक सासेक परियोजना अन्तर्गत ४० मिटर उचाईका २ वटा र ६० मिटर उचाईका ३ वटा गरी जम्मा ५ वटा मेट मास्ट प्रणाली जडान भइसकेका छन् ।

पाल्पाकाे मित्यालमा जडान गरिएकाे साैर्य/वायु मिनी ग्रिड प्रणाली

वायु ऊर्जा टर्बाइन जडान तथा डाटा लगिङको प्रगति

केन्द्रले देशभरिका विभिन्न स्थानहरूमा कूल जडित क्षमता ३०० किलोवाटभन्दा बढी वायु ऊर्जा उत्पादनमा सघाउ पुर्याएको छ । वायु ऊर्जाबाट उत्पादित विद्युतबाट झन्डै ५२५ घरधुरी लाभान्वित भएका छन् । त्यस्तै देशभर करिब २१ स्थानमा मेट मास्ट प्रणाली जडान गरी वायु सम्बन्धी तथ्यांक मापनमा सघाउ पुर्याएको छ ।

ठूला वायु ऊर्जा परियोजनामा केन्द्रको भूमिका

सन् २०१५ देखि केन्द्रले एडिबी र विश्व बैंक जस्ता विकास साझेदारसँगको सहकार्यमा नेपालमा ठूला क्षमताका वायु ऊर्जा परियोजना विकासका लागि वायु ऊर्जाको सम्भाव्यता अध्ययन तथा विन्ड एटलस तयार गर्ने कार्य गर्दै आएको छ । विश्व बैंकको सहयोगमा सञ्चालित ESMAP परियोजना अन्तर्गत ८० मिटर उचाईका १० वटा मेट मास्ट प्रणाली जडान भइसकेका छन् ।

त्यसैगरी, एडिबीको सहयोगमा केन्द्रद्वारा सञ्चालित सासेक परियोजना अन्तर्गत १ मेगावाट क्षमतासम्मका वायु ऊर्जा प्रणाली विकासका लागि सम्भाव्यता अध्ययन भएको छ । जसअन्तर्गत वायु सम्बन्धी तथ्यांक मापन गर्न ५ वटा वायु मापन प्रणाली (मेट मास्ट) जडान भइसकेको छ ।

अनुकूल नीति तर्जुमा गर्न सके देशका सम्भाव्य स्थानहरूमा सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडेलमा वायु ऊर्जा प्रणाली जडान गरी विद्युत उत्पादन गर्न सकिने सम्भावना देखिएको छ । अनुकूल नीतिगत वातावरणसहित भायबिलिटी ग्याप फन्डिङ (भिजिएफ) र सहुलियत दरको ऋण उपलब्ध गराउन सकिए वायु ऊर्जा प्रवर्द्धनमा सहयोग पुग्नेछ । साथै, १५औं पञ्च वर्षीय योजनामा उल्लिखित नवीकरणीय ऊर्जाको अनुपात १२ प्रतिशत र वायु ऊर्जाबाट १० मेगावाट विद्युत् उत्पादन गर्न सहयोग पुग्ने देखिन्छ ।

अछामकाे कमल बजारमा गरिएकाे साैर्य/वायु मिनी ग्रिड प्रणाली

केन्द्रकाे सहयाेगमा जडान भएका साैर्य/वायु मिश्रित प्रणालीहरू

क्र.स. आयाेजनाकाे नाम जिल्ला लाभांवित घरधुरी जडित क्षमता (किलाेवाट)
१. धाैवादी साैर्य/वायु मिनी ग्रिड नवलपरासी ५५ साैर्य २/वायु १० (मिश्रित क्षमता १२)
२. भाैर्लेनी साैर्य/वायु मिनी ग्रिड मकवानपुर १३५ साैर्य १५/वायु १० (मिश्रित क्षमता २५)
३. ताताेपानी साैर्य/वायु मिनी ग्रिड जुम्ला १४५ साैर्य ११/वायु १५ (मिश्रित क्षमता २६)
४. कमल बजार साैर्य/वायु मिनी ग्रिड अछाम १६० साैर्य ११/वायु २० (मिश्रित क्षमता ३१)
५. हर्रेकाँडा साैर्य/वायु मिनी ग्रिड सुर्खेत ३५ साैर्य ५/वायु ३ (मिश्रित क्षमता ८)
६. चिसापानी साैर्य/वायु मिनी ग्रिड सिन्धुली ८५ साैर्य १५/वायु २० (मिश्रित क्षमता ३५)
७. पूरा काट्ने साैर्य/वायु मिनी ग्रिड बझाङ ६५ साैर्य ७/वायु १५ (मिश्रित क्षमता २२)
८. मित्याल साैर्य/वायु मिनी ग्रिड पाल्पा ७१ साैर्य १०/वायु १५ (मिश्रित क्षमता २५)
९. नाराकाेट साैर्य/वायु मिनी ग्रिड जुम्ला २३८ साैर्य ५०/वायु ३० (मिश्रित क्षमता ८०)
१०. सप्तमी साैर्य/वायु मिनी ग्रिड पाँचथर ११० साैर्य ५०/वायु २० (मिश्रित क्षमता ७०)
  कूल   १०९९ साैर्य १७६/वायु १५८ (मिश्रित क्षमता ३३४)

स्राेत : वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र

सम्भावित ठूला क्षमताका वायु ऊर्जा परियाेजनाहरू

क्र.स. परियाेजनाकाे नाम जिल्ला क्षमता (मेगावाट)
१. कर्णाली चिसापानी वायु ऊर्जा परियाेजना कैलाली १०
२. ताताे पानी वायु ऊर्जा परियाेजना जुम्ला
३. मुस्ताङ वायु ऊर्जा परियाेजना मुस्ताङ १००
  कूल   १११

स्राेत : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र

(अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक हुन् ।)

प्रतिक्रिया

सम्पादकः लक्ष्मण वियोगी
© 2021 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Degit