काठमाडौँ । कालीगण्डकी नदीमा असोज ११ गते आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् केन्द्रको मर्मतसम्भारपछि विद्युत् उत्पादन सुचारु भएको छ । बाढी आएको ११औँ दिनमै मर्मत सकेर उत्पादन सुचारु गरिएको हो ।
बाढीले विद्युत्गृहमा डुबान हुनुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी केन्द्रको एउटा युनिट (२० मेगावाट) बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।
विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो । त्यसपछि टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबान भएको थियो । यसले गर्दा हालै निर्माण पूरा गरी परीक्षण उत्पादन सुरु गरेको केन्द्र बन्द गर्नुपरेको थियो ।
विद्युत्गृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी एउटा युनिट सञ्चालनमा ल्याइएको आयोजनाको प्रवर्धक रघुगंगा हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक गणेश केसीले बताए । ‘बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरणको मर्मतसम्भार गरी ११ दिनमै एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ,’ उनले भने, ‘अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
केन्द्रमा २०/२० मेगावाटका दुईवटा उत्पादन युनिट रहेका छन् । उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ ।