काठमाडौँ । तीस र चालीसको दशक देशमा सुधारिएको पञ्चायतले शासन गरिरहेको समय । ‘पञ्चायतका खेलाडी’ उपनामले समेत परिचित सूर्यबहादुर थापा २०३५ सालतिर देशको प्रधानमन्त्री थिए । राजा वीरेन्द्रको शासनकालमा २०४०–४२ सालसम्म नगेन्द्रप्रसाद रिजाल र लोकेन्द्रबहादुर चन्दले समेत उक्त जिम्मेवारी सम्हालेका थिए ।
विद्युत् विकासका दृष्टिले यतिबेलासम्म देशमा पुगनपुग १६३ मेगावाटमात्र उत्पादन भएको देखिन्छ । परिमाणका हिसाबले न्यून देखिए पनि पञ्चायतले सपना भने ठूलै देखेको पाइन्छ । त्यतिबेलै हो, तत्कालीन श्री ५ सरकारले ‘बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना’को पहिचान गरेको ।
२०३५ साल (सन् १९७८) मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को गण्डकी नदी बेसिन गुरुयोजना अन्तर्गत ‘बूढीगण्डकी’को पहिचान भएको अभिलेख भेटिन्छ । यस अवधिबाट गणना गर्ने हो भने यो आयोजनाले ४७ वर्षे यात्रा पार गरिसक्यो । यो त्यतिबेला जन्मेको बच्चा अधबैँसे उमेरतिर ढल्किँदै गरेको उमेर पनि हो ।
मनन गरौँ – एउटा मान्छे जन्मेर झन्डै ५० वर्ष हाराहारी पुग्दासम्म देशमा एउटा महत्त्वाकांक्षी विद्युत् आयोजना बन्न सक्दैन । यो कसको कमजोरी ? शासक, नेतृत्व, कार्यान्वयनकर्ता निकाय, नीति वा कानुनको ? यसबारे लामो वादविवाद वा छलफल हुन सक्छ । यो नटुङ्गिने बहस पनि होला ।
ढिलाइका अन्य उदाहरण
एकछिन छिमेकी देशतर्फ फर्किऔँँ –
भागीरथी र भिलङ्गना नदीको सङ्गममा निर्मित २४०० मेगावाट विद्युत् उत्पादन क्षमतासहितको टेहरी बाँधको योजना सन् २०६१ सालमा अघि बढाइएको थियो । वातावरणविद् र भारतका धेरै धार्मिक राष्ट्रवादीका कारण लामो समयसम्म यसको विरोध भयो । सन् १९७८ सालमा निर्माण सुरु भई सन् २००६ मा पूरा भयो । योजना, अध्ययनदेखि निर्माणसम्म यसले करिब ४५ वर्ष समय व्यतित गरेछ ।
गुजरात र राजस्थानमा पानी पुर्याउने योजनासहित भारतकै नर्मदा नदीमा निर्मित 'सरदार सरोवर बाँध'को काम पूरा हुन पनि लामो समय लागेको देखिन्छ । यसको परिकल्पना स्वतन्त्र भारतका ‘लौह पुरुष’को रूपमा परिचित बल्लभभाइ पटेलले गरेका थिए । सन् १९६१ मा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले जग बसालेको आयोजना सन् २०१७ सालमा पूरा भई नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । यसले पनि ५६ वर्ष समय लिएको देखियो ।
यसैगरी, चीनको याङ्जी नदीमा निर्मित संसारकै ठूलो थ्री गोर्जेज बाँध पहिचान, अध्ययन र निर्माणमा त झन् एक शताब्दी नै लागेको देखिन्छ । २२,५०० मेगावाटको यो बाँधको परिकल्पना सन् १९१९ मा आधुनिक चीनका संस्थापक जननेता सन यात–सेनले गरेको भेटिन्छ । उनले आफ्नो पुस्तक ‘द इन्टरनेसनल डेभलपमेन्ट अफ चाइना’मा याङ्जी नदीको शक्तिलाई विद्युत्मा बदल्न सकिने प्रस्ताव गरेका थिए ।
यद्यपि, चीनको आन्तरिक राजनीतिक अस्थिरता, दोस्रो विश्वयुद्ध र आर्थिक अभावका कारण यो योजना दशकौँसम्म अगाडि बढ्न सकेन । सन् १९५० को दशकमा माओ त्सेतुङले पनि यसमा चासो देखाएका थिए । अझ रोचक कुरा त धर्म र वातावरणवादीको विरोध, आन्तरिक राजनीति जस्ता कारणले ४० वर्षसम्म यो आयोजना बनाउने वा नबनाउने भन्ने बहस भइरह्यो ।
अन्ततः सन् १९९२ मा मात्र चिनियाँ राष्ट्रिय जन–काँग्रेसले औपचारिकरूपमा थ्री गोर्जेज निर्माणको स्वीकृति दियो । सन् १९९४ डिसेम्बर १४ देखि यसको निर्माण कार्य सुरु भएको थियो । करिब १८ वर्ष अर्थात् २०१२ मा यस आयोजनाका सबै युनिटबाट विद्युत् उत्पादन भएको थियो ।
सन यात–सेनको परिकल्पनादेखि निर्माण पूरा भएको समयसम्म गणना गर्दा थ्री गोर्जेजले ९३ वर्षको चक्र पार गरेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा (नासा) का वैज्ञानिकहरूका अनुसार बाँधमा जम्मा भएको विशाल जलराशीका कारण पृथ्वीको घुम्ने गति सुस्त भएको छ । करिब ४२ अर्ब टन (४० क्युबिक किलोमिटर) पानी जम्मा गरिएको बाँध समुद्री सतहबाट १७५ मिटर उचाइमा छ । नासाको गणना अनुसार यही कारण पृथ्वीको एक दिनको लम्बाइ ०.०६ माइक्रोसेकेन्ड बढेको छ ।
ठूला आयोजना निर्माणमा लामो समय खर्चिएका संसारमा अनेक आयोजना भेटिन्छन् । यसको अर्थ हो – बाँधजन्य वा जलाशय वा पूर्वाधारका ठूला आयोजना पहिचानदेखि निर्माणसम्म एउटा लामो श्रृङ्खला पार गर्नुपर्छ । ‘बूढीगण्डकी’ले पनि विभिन्न चक्रहरू पार गर्दै आएको छ । अझै धेरै कठिन समयबाट गुज्रिनु पर्ने देखिन्छ । तथापि, अब भने निर्माणसम्बन्धी गतिविधिले गति लिने आधारहरू बनेका छन् ।
अद्यावधिक उपलब्धि
बूढीगण्डकीको नाममा चार दशकभन्दा लामो समय त अनेक कागजी अध्ययन र खिचातानीमा बित्यो । कहिले सरकारले विकास समिति मार्फत निर्माण गर्ने, कहिले नेपाल विद्युत् प्राधिकरणमार्फत बनाउने वा विदेशी कम्पनीलाई सुम्पिने नाममा ‘बूढीगण्डकी’को बहाबजस्तै समय बगेको बग्यै भयो । अब भने निर्माणले गति लिने सङ्केत देखिएको छ ।
सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड स्थापनापछि निर्माण गतिविधिले तीव्रता पाएको देखिन्छ । कम्पनी सञ्चालक समितिले गत माघ ८ गते स्वीकृत गरेको ‘संस्थागत रणनीति तथा आयोजना विकास मार्गचित्र, २०८२’ अनुसार समयसीमा नै तोक्यो ।
सञ्चालक समितिको निर्णयले अगाडि बढ्ने बाटो स्पष्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले बताए । ‘गोरखा र धादिङ खण्डको बेनीघाट–सिउरेनीबजार–सलाङ सडक जोड्ने गरी नदीमा स्थायी पुल तथा कर्मचारी/कामदारका लागि स्थायी आवास निर्माण गर्न चैतमै बोलपत्रसमेत आह्वान भइसक्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘अब २१ महिनाभित्र पूर्वतयारीका काम सकेर २०८४ पुसदेखि निर्माणमा लैजाने लक्ष्य छ ।’
निर्माण सुरु गरेको ८ वर्षमा पूरा गरी २०९२ साल माघभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । मार्गचित्रले वित्तीय व्यवस्थापनदेखि आयोजना पूरा हुँदासम्म (१० वर्ष) मा गरिने प्रत्येक कार्यको समयसीमा समेत निर्धारण गरेको छ ।
मार्गचित्र अनुसार वित्तीय ढाँचा र योजना २०८२ साल माघभित्र स्वीकृत गर्ने लक्ष्य थियो । कम्पनीले तालुक मन्त्रालयमार्फत गत माघ २ गते नै यस्तो ढाँचाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्यो तर स्वीकृत भएन । पुनः फागुन ८ गते प्रस्ताव पेश गरेपछि स्वीकृत गरियो । चैत ९ गते मात्र कम्पनीले प्रमाणीकरण भएको पत्र पायो ।
‘वित्तीय ढाँचाको स्वीकृति लक्षित समयभन्दा ३ महिना ढिलो हुन गयो तर यसमा सन्तुलन मिलाएर काम अघि बढाउने छौँ,’ रजौरियाले स्पष्ट पारे ।
लगानी जुटाउन व्यावसायिक ऋण लिने र ऊर्जा बन्ड जारी गर्ने प्रक्रिया २०८३ साल माघभित्र पूरा गर्ने लक्ष्य छ । यस्तै, सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र लिने, आयोजना विकास सम्झौता (पिडिए), विद्युत् खरिद सम्झौता (पिपिए), कम्पनीको नीतिगत तथा संरचनागत सुधार, आयोजनास्थलमा न्यूनतम पूर्वाधार निर्माण, परामर्शदाता छनोट तथा आवश्यक खरिद प्रक्रिया समेत द्रूत गतिमा अघि बढाउने तालिका छ ।
अबको ४ वर्ष ८ महिना अर्थात् २०८७ मंसिरभित्र भौतिक तथा वित्तीय प्रगति करिब ३५ प्रतिशत पुर्याउने र २०९२ माघभित्र बिजुली बाल्ने कम्पनीको योजना छ ।
इपिसी ढाँचा
मार्गचित्र अनुसार आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) ढाँचामा विकास गरिने छ । यसका लागि परामर्शदाताले बोलपत्र सम्बन्धी कागजात तयार पारिसकेको छ । सम्भाव्यता अध्ययन तथा विस्तृत डिजाइन प्रतिवेदनमा निर्माण ३ प्याकेजमा विभाजित छ ।
लट–१ मा पहुँचमार्ग, पुल र रोजगारदाताको आवास, लट–२ मा बाँध, स्पिल वे, टेल वाटर बाँध र डाइभर्सन टनेल लगायत संरचना र लट–३ मा पावर इन्टेक, मुख्य सुरुङ, विद्युत्गृहको सिभिल संरचना, हाइड्रो/इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान, टेलरेस च्यानल, जिआइएस स्वीचयार्ड र प्रसारण लाइन एवम् सबस्टेसनसँग सम्बन्धित संरचना छन् ।
लट–१ अन्तर्गतका कार्य रोजगारदाताकै डिजाइनबमोजिम एकाइ दर (युनिट रेट) र परिमाणका आधारमा भुक्तानी हुने निर्माण ठेक्कामा हुनेछन् । लट–२ र ३ का काम पूर्णतः इपिसी ढाँचामा सम्पन्न गरिने छ ।
सरकारी स्वामित्व
२०७९ सालमा मन्त्रिपरिषद्ले कम्पनी मोडलमा आयोजना विकास गर्ने निर्णय गरेपछि अधिकांश स्वामित्व सरकारकै राखियो; जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ५०, अर्थ मन्त्रालय ३० र विद्युत् प्राधिकरण २० प्रतिशत हिस्साका संस्थापक रहने टुङ्गो लागेको थियो ।
आयोजनाले मुनाफा दिने सुनिश्चित भएपछि मात्र उक्त सेयर संरचनामा परिमार्जन गरी कम्पनीको जारी पुँजी मध्येबाट आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई १०/१० प्रतिशत सेयर वितरण गर्ने अवधारणा छ । त्यसो भएमा कम्पनीमा सरकार (ऊर्जा र अर्थ मन्त्रालय) को कुल ६०, प्राधिकरणको २० र नेपाली नागरिकको २० प्रतिशत सेयर स्वामित्व कायम हुने छ ।
प्रवद्र्धक कम्पनीको अधिकृत र जारी पुँजी २०/२० अर्ब रहने छ । संस्थापकले तत्काल चुक्ता गर्न कबुल गरेको १६ अर्ब रुपैयाँ भने चुक्ता पुँजी रहने उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा ऊर्जा र अर्थ मन्त्रालयबाट ११/११ करोड तथा प्राधिकरबाट ६० लाख १० हजार गरी कुल २२ करोड ६० लाख १० हजार रुपैयाँ कम्पनीलाई चुक्ता भइसकेको छ ।
वित्तीय प्रारूप
फ्रान्सेली कम्पनी ट्र्याक्टेबेलले टुङ्गो लगाएको डिपिआरमा अनुमानित लागत २ खर्ब ५९ अर्ब रुपैयाँ थियो । स्वीकृत वित्तीय ढाँचामा भने ४ खर्ब ६ अर्ब १५ करोड ९० लाख रुपैयाँ छ । यसमध्ये ३ खर्ब ७३ अर्ब ८८ करोड ५० लाख रुपैयाँ आधारभूत लागत र ३२ अर्ब २७ करोड ४ लाख रुपैयाँ ब्याज रहने प्रक्षेपण छ । कुल लागतमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी रहने छ; जसअनुसार २ खर्ब ८४ अर्ब २९ करोड ऋण र १ खर्ब २१ अर्ब ८३ करोड ८० लाख रुपैयाँ स्वपुँजी लगानी हुने छ । स्वपुँजीमा सरकार र प्राधिकरणको हिस्सा क्रमशः ९७ अर्ब ४७ करोड र २४ अर्ब ३६ करोड ७० लाख रुपैयाँ रहने छ ।
लगानी जुटाउन मिश्रत वित्तीय ढाँचा (ब्लेन्डेड फाइनान्सिङ) अपनाइने उल्लेख छ । ऋणको हिस्सामध्ये १ खर्ब ५० अर्ब ३० करोड ९० लाख रुपैयाँ सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत सरकारी निकायबाट सहुलियतमा लगानी गर्ने योजना छ । बाँकी १ खर्ब ३ अर्ब ९८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग व्यावसायिक ऋण लिइने छ । अपुग ३० अर्ब रुपैयाँको लगानी ऊर्जा ऋणपत्र (बण्ड) मार्फत जुटाउने उल्लेख छ ।
सरकारी स्रोत
आयोजनामा सरकारका तर्फबाट स्वपुँजी र ऋण गरी कुल २ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँ लगानी हुने उल्लेख छ । यसको स्रोतको रूपमा पेट्रोलियम पूर्वाधार कर, आयोजना निर्माण अवधिमा प्राप्त हुन् मूल्य अभिवृद्धि कर (भ्याट) तथा भन्सार महसुल र हालसम्म भएको सरकारी लगानी समावेश छ । पेट्रोलियममा प्रतिलिटर १० रुपैयाँ दरले प्राप्त हुने पूर्वाधार करको ५० प्रतिशत रकम आर्थिक वर्ष (आव) २०८२/८३ देखि १० वर्षसम्म प्रवाह गरिने छ । यसबाट मात्रै १ खर्ब ६६ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ जुट्ने अनुमान छ ।
आयोजना निर्माण क्रममा सरकारले भ्याट र भन्सारबापत ३५ अर्ब ८० करोड रुपैयाँ प्राप्त गर्ने छ । उक्त राजस्वसमेत सरकारी हिस्सामै पुँजीकृत हुने छ । यसबाहेक वन तथा जग्गा अधिग्रहणका काममा सरकारले हालसम्म लगानी गरेको करिब ४५ अर्ब रुपैयाँ समेत त्यसरी नै स्वपुँजीमा गणना गरिने भनिएको छ । आयोजनामा हुने लगानीको भुक्तानी सम्बन्धित निकायले वार्षिक १० देखि १५ प्रतिशतले निर्माण अवधिभर (८ वर्षभित्र) पूरा गरिसक्नुपर्ने व्यवस्था छ ।
सरकारी सहुलियतपूर्ण ऋणको १ प्रतिशत, ऊर्जा बन्डबाट सङ्कलित रकमको ५ प्रतिशत र व्यावसायिक ऋणको ब्याज बढीमा ९ प्रतिशतसम्म सीमित हुने अनुमान छ । यस आधारमा निर्माण अवधिभर लगानीको औसत ब्याज ५–६ प्रतिशतमै सीमित रहने प्रक्षेपण छ । ऋण लगानीको भुक्तानी ८ वर्षे निर्माण अवधि सहित २३ वर्ष निर्धारण गरिएको छ । साथै, आयोजनाबाट स्वपुँजी लगानीको प्रतिफल (रिटन अन इक्विटी–आरओई) १५ देखि २१ प्रतिशतसम्म रहेन अनुमान देखिएको छ ।
बाँध, विद्युत्गृह र जलाशय
धादिङको बेनिघाटस्थित त्रिशूली र बुढीगण्डकी दोभानको करिब २ किलोमिटर माथिल्लो क्षेत्रमा आयोजनाको विद्युत्गृह र बाँध निर्माण गरिने छ । विस्तृत अध्ययनअनुसार २६३ मिटर अग्लो बाँध निर्माण र १२०० मेगावाट विद्युत् उत्पादन हुने छ । बाँधदेखि माथिल्लो क्षेत्रमा बरिब ४५ किलोमिटर लम्बाइ तथा ६३ वर्ग किलोमिटर क्षेत्रफलको जलाशय निर्माण बन्ने छ; जुन पोखराको फेवातालभन्दा १६ गुणा ठूलो हुने अनुमान छ ।
आयोजनाबाट हिउँदमा १४०८ र वर्षामा १९७५ गिगावाट घन्टा तथा वार्षिक औसत ३३८३ गिगावाट घन्टा ऊर्जा उत्पादन हुने प्रक्षेपण थियो । पछिल्ला वर्षमा गरिएको नदीको जलमापनका आधारमा हिउँदमा १६२३ र वर्षामा २६२७ तथा वार्षिक औसत ४२५० गिगावाट ऊर्जा उत्पादन हुने अनुमान छ ।
उत्पादित बिजुली विद्युत्गृहदेखि ४० किलोमिटर टाढा बूढीगण्डकी–नौबिसे ४०० केभी वा ५८ किलोमिटर टाढा बूढीगण्डकी–हेटौँडा ४०० केभी डबल सर्किट लाइनमार्फत प्रस्तावित नौबिसे वा हेटौँडा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ । यद्यपि, सरकारी लगानी र अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)’ को अनुदानमा निर्माणाधीन लप्सीफेदी–रातमाटे–दमौली–सुनौली र रातमाटे–हेटौँडा ४०० केभी मार्फत पनि बिजुली प्रवाहको सम्भावना औँल्याइएको छ ।
२०७२ सालमा तयार गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अनुसार जलाशयलगायत संरचना निर्माणबाट कुल ३ हजार ५६० घरपरिवार विस्थापित हुनेछन् । तिनको पुनर्बास तथा पुनःस्थापना गर्न प्रतिपरिवार एक रोपनीका दरले घडेरी उपलब्ध गराउने प्रस्ताव गरिएको छ । पुनर्वास गराइने एकीकृत बस्तीमा बाटोघाटो, मन्दिरलगायत सार्वजनिक संरचना निर्माण गर्न कुल ४०५ हेक्टर जमिनको खाँचो देखिएको छ । यसका लागि सम्भाव्य ४४ वटा पुनर्वास तथा पुर्नस्थापना स्थानको सूची तयार पारिएको छ ।
ऊर्जा सुरक्षा
बूढीगण्डकीलाई ‘बहुउद्देश्यीय’मा नराखिए पनि यसबाट प्रशस्त बहुआयामिक लाभ हुने देखिन्छ । नेपालमा नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको बाहुल्यता रहँदा हिउँदको ऊर्जा माग र आपूर्तिबीच असन्तुलन बढेको छ । भारतबाट आयात गरेर हिउँद र उच्च माग हुने समयमा विद्युत् आपूर्तिमा सन्तुलन कायम गर्नुपर्ने अवस्था छ ।
हाल हिउँदको उच्च मागको समयमा झन्डै १५०० गिगावाट घन्टा ऊर्जा अपुग छ । त्यो अभाव बूढीगण्डकीले नै पूर्ति गर्ने रजौरियाको दाबी छ । बर्खामा ऊर्जा आन्तरिक खपत नभएमा निर्यात गरी राष्ट्रिय आम्दानी बढाउन सकिन्छ । साथै, पेट्रोलियमजस्ता आयातित ऊर्जाबाट हुने जोखिम कम गरी ऊर्जा सुरक्षाको प्रत्याभूति हुने छ ।
सौर्य विद्युत्
मार्गचित्रअनुसार जलाशयको २५ प्रतिशत क्षेत्रमाथि ‘फ्लोटिङ सोलार’ राखी १००० मेगावाट सौर्य विद्युत् उत्पादन हुने छ । थप ५३ अर्ब लगानी गरेर वार्षिक करिब १७०० गिगावाट घन्टा ऊर्जा उत्पादन गर्न सकिन्छ । जलविद्युत्को आम्दानीले नै सौर्य विद्युत् उत्पादन गर्न सकिने औँल्याइएको छ । यसका लागि थप जग्गा, प्रसारण लाइन, पहुँच मार्गजस्ता पूर्वाधारको व्यवस्था नगरी त्यहीँका निर्मित संरचना उपयोग हुनेछन् ।
तल्लो तटीय लाभ
आयोजनाको जलाशयबाट नदीमा प्रवाह हुने नियत्रित बहाबका कारण तराई क्षेत्रका उर्वर भूमिमा साविकका र प्रस्तावित सिँचाइ आयोजनाबाट थप सिँचाइ सुविधा विस्तार गर्न सकिन्छ । बाढी नियन्त्रण, हिउँदमा नदीको बहाब बढाउने जस्ता लाभसमेत दिने छ । यो लाभ तल्लो तटीय देश भारतले समेत प्राप्त गर्ने हुँदा लाभ–लागत बाँडफाँटमा कूटनीतिक प्रयत्न जरुरी देखिन्छ ।
पर्यटन र मनोरञ्जन
आयोजनाको विशाल जलाशयमा जलपर्यटन तथा सहासिक पर्यटन विकासको प्रशस्त सम्भावना औँल्याइएको छ । साथै, अन्य मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्न सकिने अध्ययन गरिएको छ । जलाशयको परिधिमा चक्रपथ निर्माण गरी होटेल, पार्क, सपिङ सेन्टरजस्ता पर्यटक लक्षितव्यवसाय चलाउन सकिने छ ।
काठमाडौँ, पोखरा, भरतपुरजस्ता प्रमुख सहर नजिक रहेकोले यसलाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने आधारसमेत देखिन्छ । यसबाट आयोजना सञ्चालन अवधि (५० वर्ष) मा औसत वार्षिक ३ अर्ब ७० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । अर्को महत्त्वपूर्ण सम्भावना जलयातायातको समेत हो । यसबाट गोरखाका उत्तरी हिमाली क्षेत्र लाभान्वित हुने देखिन्छ ।
जलाशयमा गरिने मत्स्यपालनबाट मात्रै वार्षिक करिब ४ अर्ब ७० करोड रुपैयाँ बराबरको माछा उत्पादन गर्न सकिने देखिएको छ; जुन पर्यटकीय स्थलमै खपत भई माछा आयातमा कमी हुन सक्छ ।
रोजगारी
आयोजना निर्माण अवधिभर प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा करिब ६ हजार व्यक्तिले रोजगारी पाउने अनुमान छ । साथै, सयौँ व्यक्ति यसैसँग जोडिएर स्वरोजगार हुने आधार तयार हुने सम्भावना समेत देखिएको छ ।
|
‘तोकिएको समयमै निर्माण पूरा गर्न कटिबद्ध छौँ’ अरुण रजौरिया प्रमुख कार्यकारी अधिकृत, बूढीगण्डकी जलविद्युत् कम्पनी २०८२ साल साउन २२ गते मेरो नियुक्ति भएको हो । मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको ८ महिना पूरा भयो । मैले करिब ३ दशकको जलविद्युत् विकासको अनुभव यहीँ लगाउने छु । म आएपछि कम्पनीले मुआब्जा वितरण, गुनासा सम्बोधन तथा फर्छ्याैट, जलमापनजस्ता कार्यलाई निरन्तरता दियो । अधिग्रहण गर्नुपर्ने कुल ५८ हजार रोपनीमध्ये ४९ हजार रोपनीको काम सकेर ९६ प्रतिशत मुआब्जा वितरण भइसक्यो । केही सरकारी तथा अदालतमा विचाराधीन निजी जग्गा अधिग्रहण र मुआब्जा वितरण बाँकी छ । यस अवधिमा कम्पनीले करिब ३ हजार गुनासामध्ये २ हजार ५०० सम्बोधन तथा फछ्र्यौट गरी प्रतिवेदन समेत तयार पारिसकेको छ । अहिले कम्पनीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) प्रतिवेदन तयारी हुँदै छ । बूढीगण्डकी जलाशय आयोजना हरेक हिसाबले महत्त्वपूर्ण छ । काठमाडौँ, पोखरा, भरतपुर जस्ता प्रमुख विद्युत् खपत हुने क्षेत्र (लोड सेन्टर) को मध्यभागमा अवस्थित छ । यसबाट हुने आर्थिक–सामाजिक लाभ अझ व्यापक र बहुआयामिक छ । धेरै चरण र तहमा भएका अध्ययनले समेत आयोजनालाई उत्कृष्ट मानेको देखिन्छ । अब आयोजना अघि बढाउनुको विकल्प छैन । पूर्व–तयारीका काम सक्न दिनरात खटिइएको छ । सरकारले समेत निर्माणमा लैजान तदारुकता देखाइरहेको छ । प्रधानमन्त्री, अर्थ मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सभामुख, त्यस क्षेत्रका सांसदहरू, स्थानीय प्रतिनिधि लगायत सबै आयोजना अघि बढाउनुपर्ने पक्षमा देखिनु भएको छ । ऊर्जा मन्त्रीज्यूले सहजीकरण गर्न आफू जुनसुकैबेला तयार रहेको बताउनु भएको छ । कम्पनीको संस्थागत रणनीति तथा आयोजना विकास मार्गचित्र अनुसार हरेक काम समयसीमाभित्र सम्पन्न हुनेछन् । २०९२ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यमा हामी कटिबद्ध छौँ । |
पहिचानदेखि हालसम्मको समय शृङ्खला
|
२०३५ (सन् १९७८) : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को गण्डकी नदी बेसिन गुरुयोजना अन्तर्गत पहिचान । २०४१ (सन् १९८४) : सरकारद्वारा पहिलो प्रारम्भिक तथा सम्भाव्यता अध्ययन । २०५५ (सन् १९९८) : पहिलो विस्तृत सम्भाव्यता अध्ययन पूरा भई लामो समयसम्म निस्क्रिय । २०६७–२०६८ (सन् २०१०–२०११) : नेपाल विद्युत् प्राधिकरणद्वारा पुरानो अध्ययन पुनरावलोकन, समयानुकुल अद्यावधिक । २०६८ (सन् २०११) : तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कार्यकालमा बजेटमार्फत ‘राष्ट्रिय गौरवको आयोजना’ सूचीमा समावेश । बूढीगण्डकी आयोजना विकास समिति गठन । जग्गा अधिग्रहणलगायत काम सुरु । २०६९–२०७३ : विकास समितिको कार्यकारी अध्यक्षको जिम्मेवारीमा डा. लक्ष्मीप्रसाद देवकोटा । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा । २०६९ (सन् २०१२) : समितिको गठन आदेश परिवर्तन, तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले कार्यकारी अध्यक्षको व्यवस्था परिवर्तन गराई मन्त्रालयका तत्कालीन सहसचिव गोपाल बस्नेतलाई कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको । २०७१–२०७४ : सुरुमा ६०० मेगावाटमा अध्ययन भएको आयोजनाको क्षमता १२०० मेगावाट बनाउन सकिने सुझावसहित फ्रान्सेली परामर्शदाता कम्पनी ट्रयाक्टेबेल इन्जिनियरिङद्वारा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समितिलाई हस्तान्तरण । २ खर्ब ५९ अर्ब रुपैयाँ लागत अनुमान । २०७३ जेठ ३ : अध्ययन, खरिद, निर्माण तथा लगानी व्यवस्थापन (इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन विद फाइनान्स – इपिसिएफ) मोडलमा निर्माण प्रस्तावसहित चीन सरकारको पूर्ण स्वामित्वको चाइना गजुबा ग्रूप कम्पनी (सिजिजिसी) को प्रवेश । २०७३ जेठ १५ : तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले ल्याएको आर्थिक वर्ष २०७३/७४ को बजेटमार्फत आयोजनाका लागि लगानी जुटाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँका दरले पूर्वाधार कर उठाउने व्यवस्था । २०७३ साउन : तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको प्रस्तावमा विकास समिति खारेज । कम्पनी मोडलमा आयोजना बनाउने मन्त्रिपरिषद्को निर्णय । २०७३ चैत २८ : सिजिजिसीद्वारा आयोजना निर्माणका लागि आफ्नो क्षमता, अनुभव र योग्यता झल्किने कागजातसहित लगानी गर्न तयार बैंकहरूको आशयपत्र र लगानी क्षमतासमेत संलग्न रहेको दस्तावेज सरकारसमक्ष पेश । २०७४ जेठ ९ : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा) द्वारा विकास समितिबाट खोसेर बिनाप्रतिस्पर्धा आयोजना सिजिजिसीलाई दिने निर्णय । २०७४ जेठ २१ : इपिसिएफ मोडलमा सिजिजिसीलाई आयोजना विकास गर्न दिने विषयमा ऊर्जा मन्त्रालय र सिजिजिसीबीच समझदारी (एमओयू) । २०७४ भदौ १९ : ऊर्जा मन्त्रालयद्वारा बूढीगण्डकी आयोजना चीनको ‘बिआरआई’ परियोजना अन्तर्गत समावेश गरी सहयोगका लागि प्रस्ताव गर्न परराष्ट्र मन्त्रालयलाई बोधार्थसहित अर्थ मन्त्रालयलाई औपचारिक पत्र । २०७४ असोज : सिजिजिसीलाई बूढीगण्डकी बनाउन दिने समझदारी खारेज गर्न तत्कालीन संसदको कृषि तथा जलस्रोत समिति र अर्थ समितिद्वारा सरकारलाई निर्देशन । २०७४ कात्तिक २८ : नेपालका र भारतीय केही सञ्चार माध्यमद्वारा चिनियाँ कम्पनीबाट खोसेर देउवा नेतृत्वको सरकारले उक्त आयोजना भारतीय कम्पनीलाई बुझाउन लागेको भन्ने समाचार सम्प्रेषण । २०७४ मंसिर १ : समझदारी तोड्नु परे दुवै पक्षले एक–अर्कालाई एक महिनाअघि नै पूर्व जानकारी गराउनुपर्ने प्रावधानविपरीत सरकारले एकपक्षीयरूपमा समझदारी खारेज गरेको भन्दै सिजिजिसीद्वारा प्रधानमन्त्रीलाई बोधार्थसहित ऊर्जा मन्त्रालयलाई पत्र । २०७४ मंसिर ४ : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा (तत्कालीन उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा) द्वारा उक्त आयोजना विद्युत् प्राधिकरणको संयोजनमा स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय । २०७४ मंसिर ८ : लगानी मोडालिटीबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोजनका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन; जसमा राष्ट्र बैंकका तत्कालीन गभर्नर चिरञ्जीवी नेपाल, अर्थ सचिव शंकरप्रसाद अधिकारी, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, ऊर्जा सहसचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य । २०७४ पुस ३ : वाग्ले समितिद्वारा निर्माणसम्बन्धी तीन विकल्प र सुझावसहित प्रतिवेदन पेश । पहिलो – एक विशिष्ट संयन्त्र (स्पेशल पर्पस भेइकल) मोडलमा प्राधिकरणको सहायक कम्पनी खडा गरी ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा बनाउने । दोस्रो– सरकारको पूर्ण लगानीमा प्राधिकरणले बनाउने । तेस्रो– इपिसिएफ मोडलमा बनाउने । २ खर्ब ७० अर्ब रुपैयाँ लागत अनुमान । २०७४ माघ २६ : स्वदेशी लगानीमै आयोजना बनाउन सकिने गरी तयार गरेको वाग्ले प्रतिवेदन प्रतिवेदन मन्त्रिपरिषद्द्वारा स्वीकृत । २०७५ भदौ १ : आयोजनामा आफूहरूले धेरै काम गरिसकेको र इपिसिएफ ढाँचामा बनाउन तयार रहेको भन्दै सिजिजिसीद्वारा पुनः आशयपत्र पेश । २०७५ असोज ५ : मन्त्रिपरिषद् बैठकद्वारा ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयलाई सिजिजिसीसँग वार्ता गरी आयोजना विकासका लागि सम्झौतामा हस्ताक्षर गर्न निर्देशन । २०७६ पुस ३ : निर्माणबारे २०७६ पुस ३ र ४ गते वार्ता गर्न आएको सिजिजिसी त्यसपछि सम्पर्क विहीन । २०७९ असार १४ : कम्पनी मोडलमा आयोजना विकास गर्ने मन्त्रिपरिषद्को निर्णय । २०७९ भदौ १७ : बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता । २०८२ साउन २२ : कम्पनीको सिइओमा अरुण रजौरिया नियुक्त । २०८२ माघ ८ : कम्पनी सञ्चालक समितिद्वारा आयोजना विकास गर्न ‘संस्थागत रणनीति तथा आयोजना विकास मार्गचित्र, २०८२’ स्वीकृत । २०८२ फागुन ८ : मन्त्रिपरिषद्द्वारा आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत । २०८२ चैत ३० : निर्माणको पूर्वतयारी स्वरूप बेनीघाट–सिउरेनी बजार–सलाङ सडक खण्ड जोड्ने स्थायी पुल र कर्मचारी/कामदारको स्थायी आवास निर्माण गर्न बोलपत्र आह्वान । |