दोलखा । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेड पहिलो पटक नाफामा गएको छ । कम्पनीको प्रवर्द्धनमा निर्मित आयोजनाको विद्युत् उत्पादनमा वृद्धि हुनुका साथै ऋणको ब्याजदरसमेत घटेपछि यो अवस्था देखिएको हो ।
२०७८ भदौ ४ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको आयोजनाले उत्पादनको सुरु चार वर्षसम्म लगातार घाटा व्यहोर्दै आएको थियो । आर्थिक वर्ष (आव) २०८२/८३ मा भने कम्पनी नाफामा जाने निश्चित भएको निमित्त कार्यकारी अधिकृत पूर्णगोपाल रञ्जितले बताए । विगतको तुलनामा विद्युत् उत्पादन बढेको र गत वैशाखदेखि ऋणको ब्याजदर घट्दा आम्दानी बढेकाले कम्पनी नाफामा गएको र आन्तरिक हिसाब-किताब सकिएपछि नियमानुसार चौमासिक प्रतिवेदन सार्वजनिक गरिने उनको भनाइ छ ।
गत वर्ष आयोजनाले करिब ९० करोड रुपैयाँ नाफा कमाएको छ । यस वर्ष सुक्खा मौसममा पर्याप्त वर्षा भई नदीमा पानीको बहाव बढेकाले विद्युत् उत्पादनमा उल्लेख्य सुधार आएको हो । नेपाल विद्युत् प्राधिकरणसँगको विद्युत् खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाले वार्षिक २ अर्ब २८ करोड १२ लाख ५५ हजार युनिट विद्युत् उपलब्ध गराउनुपर्ने हुन्छ ।
सम्झौता अनुसार विद्युत् पुर्याउन नसक्दा विगतका तीन वर्ष प्राधिकरणले जरिवाना लगाउँदा कम्पनीले नाफा कमाउन सकेको थिएन । आव २०८२/८३ मा भने सम्झौताभन्दा बढी विद्युत् प्राधिकरणको प्रसारण लाइनमा उपलब्ध गराइएको छ । विगतका चार वर्षमा सम्झौता अनुसार विद्युत् नपुग्दा आयोजनाले १ अर्ब रुपैयाँभन्दा बढी जरिवाना तिरेको थियो ।
सुक्खा मौसममा सम्झौता अनुसार विद्युत् दिन नसक्दा प्राधिकरणले भुक्तानी गर्ने रकमबाटै जरिवाना कटाउने गरेको छ । अघिल्लो आव २०८१/८२ मा मात्रै कम्पनीले २२ करोड जरिवाना तिरेको थियो, जुन वर्ष २०८१ असोज १२ को पहिरोले बालुवा थिग्राउने पोखरीमा क्षति पुर्याउँदा चार महिना उत्पादन बन्द हुनुका साथै मर्मतमा २ अर्बभन्दा बढी खर्च भएको थियो । आयोजनाले उत्पादन सुरु गरेको वर्ष २०७८/७९ मा सबैभन्दा कम ३३ लाख ६९ हजार र २०७९/८० मा सबैभन्दा बढी ५३ करोड ८३ लाख ६० हजार रुपैयाँ जरिवाना तिरेको थियो ।
आयोजनाका लागि वर्षौंदेखि महँगो ब्याज तिर्दै आएको कम्पनीले पछिल्लो समय ऋण लगानीकर्तासँगको सहमतिमा ब्याजदर घटाउन सफल भएको छ । २०८२ वैशाखदेखि लागु हुने गरी वार्षिक ब्याजदर ८.२५ प्रतिशतबाट घटाएर ६.७५ प्रतिशत कायम गरिएको छ । घटेको ब्याजदरका कारण मात्रै कम्पनीलाई वार्षिक ७५ करोड रुपैयाँ बचत हुने निमित्त प्रमुख कार्यकारी अधिकृत रञ्जितको दाबी छ ।
यो ब्याज तीन वर्षका लागि 'लक' गरिएकाले आगामी तीन वर्षमा २ अर्ब २५ करोड रुपैयाँ बचत भई नाफा अझै बढ्ने अनुमान गरिएको छ । यद्यपि, आव २०८२/८3 को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनी अझै ६९ अर्ब ८० करोड दीर्घकालीन र २ अर्ब ७ करोड अल्पकालीन गरी कुल ७२ अर्ब रुपैयाँको उच्च ऋणभारको दबाबमा छ । कम्पनीको ऋणमध्ये कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको मात्रै ५० अर्बभन्दा बढी छ, जसको ब्याजदर वैशाखदेखि घटेको हो । नेपाल सरकारले विद्युत् प्राधिकरणमार्फत दिएको ऋणको ब्याज भने यसअघि नै वार्षिक ६ प्रतिशत रहँदै आएको छ ।
चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत् बिक्रीबाट ७ अर्ब ७१ करोड ८ लाख रुपैयाँ आम्दानी गरे पनि उच्च वित्तीय लागत, मूल्यह्रास र रोयल्टीका कारण खुद नाफा २८ करोड ६७ लाख रुपैयाँमा सीमित भएको थियो । आंशिकजलाशय भए पनि निजी क्षेत्रका अन्य आयोजनाको तुलनामा माथिल्लो तामाकोसीको पिपिए हिउँदमा रु. ७.३० और वर्षामा रु. ३.८६ मात्र रहेकाले निकै कम छ ।
आयोजनाको पिपिए पुनरावलोकनको पटक-पटक माग भए पनि प्राधिकरणका कर्मचारी नै कम्पनीको बोर्डमा बहुमत सञ्चालक रहँदासमेत पुनरावलोकन हुन सकेको छैन । यद्यपि, कम्पनीले विगतमा रोकिएका दुई आर्थिक वर्षको साधारण सभा गत चैतमा सम्पन्न गरिसकेको छ भने आयोजनाबाट गत जेठ १५ गतेदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।