दोलखा । निर्माणाधीन जुम खोला जलविद्युत् आयोजनाको क्षमता ५६ मेगावाट बढेर ७० मेगावाट हुने भएको छ । आयोजनाको टेलरेस राख्ने देउरालीमा भीषण पहिरोका कारण ठाउँ सार्दा आयोजनाको क्षमता बढेको हो । २०८२ जेठ १८ गते र असोज २१ गते देउरालीभन्दा तल भीषण पहिरो गएको थियो । पहिरो नियन्त्रण काबु बाहिर गएपछि टेलरेस आउटलेट स्थानान्तरण गरिएको हो ।
टेलरेस आउटलेट स्थानान्तरणसँगै आयोजनाको हेड र डिजाइन डिस्चार्ज बढेपछि क्षमता १४ मेगावाटले बढेको छ । पहिरो गएपछि आयोजनाको प्रवर्द्धक सानिमा जुम हाइड्रोपावर लिमिटेडले प्राविधिक अध्ययन टोली खटाएको थियो । प्राविधिक टोलीकै सिफारिस अनुसार आउटलेट स्थानान्तरण र क्षमता बढाएको प्रवर्द्धक कम्पनीका महाप्रबन्धक सकुन्द ओझाले जानकारी दिए ।
उनका अनुसार आउटलेट तल्लो तटीय क्षेत्रमा स्थानान्तरण गर्दा ३० मिटर हेड बढेको छ । क्षमता बढेपछि आयोजनाको लागत समेत बढ्ने र यसबारे विश्लेषण भइरहेको समेत उनले बताए ।
आयोजनाको सुरुङको लम्बाइ बढेको र क्षमता समेत बढेपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (एसइआइए) को मस्यौदामाथि आइतबार लामाबगरमा सार्वजनिक सुनुवाइ गरी जानकारी गराइएको छ । सार्वजनिक सुनुवाइमा आयोजनाका तर्फबाट महाप्रबन्धक ओझाले स्थानीयका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालयका सुरेन्द्रराज पन्त, विद्युत् विकास विभागका ध्रुवराज पौडेलसहितका प्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रसँग उठेको प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रममा गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रतिनिधि, स्थानीय संरक्षण व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय सरकार, सुरक्षा निकायका प्रमुखहरू र स्थानीयहरूको उपस्थिति थियो । स्थानीयले सीप र क्षमता अनुसारको रोजगारी, आयोजनामा सेयर, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा आयोजनाले सहयोग गर्नुपर्ने लगायतका माग राखेका थिए । आयोजनाले सडक र सुरुङ खन्दा निस्केका ढुङ्गा–माटो तल्लो तटीय क्षेत्रमा असर नपर्ने गरी व्यवस्थापन गर्न समेत उनीहरूले सुझाव दिए ।
आयोजनाको विशेषता
महाप्रबन्धक ओझाका अनुसार आयोजनाको सम्पूर्ण संरचना जुम खोलाको बायाँ किनारमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । नेपाल–चीन सीमाबाट १.५ किलोमिटर तल्लो तटीय क्षेत्र तथा लप्ची र जुम खोलाको दोभानबाट १.५ किमी माथिल्लो तटीय क्षेत्रमा ६८ मिटर लम्बाइ, १२ मिटर चौडाइ र ७.६२ मिटर उचाइको बाँध निर्माण हुने छ ।
विद्युत् उत्पादनका लागि ल्याइने पानीको बालुवा थिगार्न २ वटा भूमिगत पोखरी निर्माण गरिने छ । त्यहाँबाट १ हजार ४२० मिटर लामो सुरुङ, ४५ मिटर उचाइको सर्जसाफ्ट, २५२ मिटर ठाडो पेनस्टक साफ्ट र १५६ मिटर लामो तेर्सो पेनस्टक साफ्टपछि हुँदै विद्युत्गृह पानी लगिने छ । उक्त पानीबाट २३.३३ मेगावाटका ३ वटा टर्वाइन र जेनेरेटर मार्फत ७० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । विद्युत्गृहबाट निस्कने पानीलाई २ हजार २५ मिटर लामो टेलरेसमार्फत पुनः तामाकोसीमा खसाल्ने योजना छ ।
आयोजनाबाट वार्षिक औसत ३९२.९१ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने छ । आयोजनाको क्षमता बढेसँगै सरकारलाई तिर्ने राजश्व र रोयल्टी समेत बढ्ने छ ।
आयोजनाको अनुमानित लागत ११ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आयोजनाबाट उत्पादित विद्युत् ४६ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको बाह्रबिसे सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) २०७७ असोज २७ गते वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो । क्षमता बढेका कारण एसइआइए गर्नुपरेको हो । २०८२ चैत २४ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयबाट सहमति लिएर आयोजनाको एसइआइए तयार पारिएको हो । एइआइएको काम सानिमा हाइड्रो एन्ड इञ्जिनियरिङ प्रालिले गरेको हो ।
आयोजनाका लागि स्थायीरूपमा ८.०३६ हेक्टर र अस्थायी रूपमा ७.१३६ हेक्टर गरी कुल १५.१७२ हेक्टर जमिन उपयोग गर्ने एसइआइए प्रतिवेदनमा उल्लेख छ । आयोजनाको क्षमता बढे पनि जग्गा उपयोग भने नबढ्ने प्रतिवेदनमा उल्लेख छ । वन क्षेत्रको जग्गा भोगाधिकार र निर्माण क्षेत्रमा पर्ने १८ प्रजातिका ८५१ वटा रुख काट्ने अनुमति आयोजनाले डेढ वर्षअघि नै प्राप्त गरिसकेको छ ।
गौरीशङ्कर संरक्षण क्षेत्रसँग समन्वय गरेर क्षति भएका एक रुख बराबर खाली क्षेत्रमा १० रुखका दरले वृक्षारोपण समेत गरिएको छ । उक्त बिरुवाहरू ५ वर्षसम्म हुर्काइ संरक्षण क्षेत्रलाई हस्तान्तरण गर्ने गरी संरक्षणको काम समेत भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको निर्माण अवधि ४ वर्ष तोकिएको छ । बाँकी काम आगामी २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।