विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३७औं वर्षिकोत्सव नजिकिँदै गर्दा यसको आम्दानी, नाफा, विद्युत निर्यातलगायत वित्तीय सूचकहरू बाहिर ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । हरेक वर्षको भदौ १ गते वार्षिकोत्सव मनाउँदै आएको प्राधिकरणले गत आर्थिक वर्ष (आव २०७८/७९) मा १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको निचोड निकालिएको छ । जबकि, अघिल्लो आवमा यस्तो नाफा ६ अर्ब रुपैयाँ थियो ।

प्राधिकरण अर्थ निर्देशनालयका अनुसार आव २०७८/७९ मा कूल ९६ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गरेको प्राधिकरणले ७५ अर्ब ५५ करोड खर्च गरी २१ अर्ब ७ करोड रुपैयाँ नाफा गरेको छ । यसमा वैदेशिक मुद्रामा आएको विचलन खर्च र अन्य खर्चहरूको प्रोभिजन गर्दा खुद नाफा १६ अर्ब १६ करोड रुपैयाँ हुन आएको जनाइएको छ ।

उक्त नाफाको झण्डै ५० प्रतिशत हिस्सामा ४५६ मेगावाटको माथिल्लो तामाकोसीको योगदान रहेको निर्देशनालयले जनाएको छ । गत वर्षको खुद नाफामा तामाकोसीकै कारणले ८–९ अर्ब थपिएको निर्देशनालयका एक अधिकारीले बताए । यो वर्ष प्रणालीको चुहावट १५.३८ प्रतिशतमा कायम रहेको जनाइएको छ ।

निर्देशनालयका अनुसार नाफा बढ्नुमा तामाकोसीको १५ दिनको निशुल्क बिजुली एवम् वर्षैभरि उपलब्ध सस्तो बिजुली, निर्यातको परिमाण, बैंकको मुद्दति खातामा बढेको ब्याज तथा ट्रंक र डेडिकेटेड लाइनको थप दस्तुर भुक्तानी जस्ता कारणहरू जिम्मेवार देखिएका छन् । अघिल्लो आव (२०७७/७८) मा औसत ५–६ प्रतिशत रहेको मुद्दति खाताको ब्याज गत आवमा १० प्रतिशतसम्म पुगेको थियो ।

विभिन्न वाणिज्य बैंकहरूमा प्राधिकरणको मुद्दति खातामा ३०–३५ अर्ब रुपैयाँ मौज्दात रहने गरेको र त्यसको १० प्रतिशतका दरले साढे ३ अर्ब रुपैयाँ त ब्याजमात्र आम्दानी भएको देखिन्छ । तामाकोसी र ब्याज आम्दानीको हिसाबमात्र गर्दा पनि ११.५० अर्ब रुपैयाँ हुन आउँछ; गत आवको खूद नाफामा यो रकम घटाउँदा ४.६६ अर्ब बाँकी रहन्छ ।

गत आवमा प्राधिकरणले प्रतियुनिट औसत ७.८७ रुपैयाँमा ४९ करोड ३० लाख युनिट बिजुली भारत निर्यात गरेर करिब ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ; नाफामा यसको पनि विशेष भूमिका रहेको निर्देशनालयका अधिकारीले बताए । उनका अनुसार वर्षको ५–६ अर्ब रुपैयाँ नाफा त सामान्य व्यक्ति नेतृत्वमा रहँदा पनि हुने गरेको छ ।

निर्देशनालयका अनुसार गत आवमा हासिल भएको ९६ अर्ब ६२ करोड रुपैयाँ आम्दानी मध्ये ८३ अर्ब २४ करोड रुपैयाँ देशभित्र बिजुली बेचेर, ३ अर्ब ८८ करोड रुपैयाँ बिजुली भारत निर्यात गरेर र ९.५० अर्ब रुपैयाँ अन्यबाट भएको छ । गत वर्ष प्राधिकरणले देशभित्र प्रतियुनिट औसत ९.३० रुपैयाँ बिजुली बेचेको उल्लेख छ ।

यसैगरी, गत वर्ष प्राधिकरणले ८८७० गिगावाट घन्टा विद्युत देशभित्र बेचेको छ भने ४९३ गिगावाट घन्टा भारत निर्यात गरेको छ । प्रसारण प्रणालीमा उपलब्ध कूल विद्युतमा प्राधिकरणका विद्युतगृहहरूबाट ३२५९ गिगावाट घन्टा, सहायक कम्पनीमार्फत १९७६ गिगावाट घन्टा, निजी क्षेत्रबाट ४२८६ गिगावाट घन्टा र भारतबाट १५४३ गिगावाट घन्टा आयात भएको थियो । यो वर्ष बिजुली किनेबापत निजी क्षेत्रलाई करिब २४ अर्ब रुपैयाँ भुक्तानी गरिएको जनाइएको छ ।

प्राधिकरणले आव २०७७/७८ मा प्रतियुनिट औसत ११.५६ रुपैयाँमा देशभित्र बिजुली बेचेको थियो भने आव २०७६/७७ मा प्रतियुनिट औसत ९.७४ रुपैयाँमा बेचेको थियो । यस्तै, आव २०७६/७७ मा खुद नाफा ११ अर्ब रुपैयाँ उल्लेख गरिएकोमा करिब ६ अर्ब रुपैयाँ ट्रंक र डेडिकेटेड फिडरको महसुल बक्यौता गाभिएको थियो ।

प्राधिकरणको आव २०७७/७८ को कूल आम्दानी करिब ८०.५० अर्ब रुपैयाँ रहेकोमा बिजुली बेचेरमात्र ७१ अर्ब रुपैयाँ गरेको थियो । साथै, अन्य शीर्षकबाट ९.५ अर्ब रुपैयाँ कमाई भएको थियो । यस आवमा कूल आम्दानी मध्ये विद्युत किन्नमात्र ४१.५ अर्ब रुपैयाँ खर्च भएकोमा भारतबाट किनिएको बिजुलीलाई २१.५ अर्ब रुपैयाँ भुक्तानी गरिएको थियो भने स्वदेशी निजी क्षेत्रलाई २० अर्ब रुपैयाँ भुक्तानी गरिएको थियो ।

प्राधिकरणका अनुसार आव २०७७/७८ मा भारतबाट १३ अर्ब ५९ करोड रुपैयाँबराबरको विद्युत किनिएको थियो भने आव २०७६/७७ मा करिब २० अर्ब रुपैयाँको किनिएको थियो । आव २०७७/७८ मा प्राधिकरणको प्रणालीमा ८ अर्ब ८५ करोड युनिट विद्युत उपलब्ध भएकोमा भारतबाट २ अर्ब ८० करोड युनिट र स्वदेशी निजी क्षेत्रबाट ३ अर्ब २० करोड युनिट किनिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit