काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जेनजेड आन्दोलनका क्रममा जलाइएको आफ्नो घरको तस्बिर सामाजिक सञ्जालमा राखेर सरकार र राज्यसत्ताप्रति प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्- मैले इमानदारीका साथ काम गर्दा यो नियति भोग्नुपर्यो । मैले के बिराएँ ? शाक्यले सामाजिक सञ्जालमा लेखेको विवरण हुबहु तल राखिएको छः
किन हो आज मुटु चरक्कै चर्कियो, खुलेआम चर्कियो, त्यसैले फेसबुकमा पोस्ट्याएँ—
मैले के बिराएँ ?
१. कस्तो हुँदो हो, जब देशका लागि रगत बगाई रक्षा गर्दा गर्दैको बेला मुलुकले हार्दा अनि दरबारले कृतघ्न भई उल्टो लाञ्छना लाद्दा ? त्यो क्षण जब न देश आफ्नै, न दरबार आफ्नै, न त मन नै आफ्नै, सबै हारेको क्षण । अमरसिंह थापाको कथा पढेको थिएँ तर कल्पना र अनुभूति गरेको थिइनँ । अहिले मलाई...
२. कस्तो हुँदो हो, जब जिन्दगीभरको सपना सजाएर हुर्काएको सन्तानको दागबत्ती दिँदा एउटा आमालाई ? कल्पना र आभास गर्नै गाह्रो । अहिले मलाई...
३. एक नेपालीका लागि जिन्दगीभरको एउटा सफलता— आफ्नै घर बनाउनु र त्यसमा सिर्फ मेहनत, रगत–पसिना हुनु । नेपालमा यो अति नै कठिन काम तर अफगानिस्तानमा रगतको सट्टामा डलर अनि क्षणक्षणको बम र बन्दुकको डरभित्र काम गरेर कमाएको त्यस्तै ८-१० हजार डलर मासिक बचाएर, झण्डै एक वर्ष जोगाएर साँचेको धनले अनि अझ त्यतिले पनि नपुग्ने भएपछि सञ्चय कोषको ऋण लिएर मैले बनाएको यो घर । चिलिमे कम्पनीको बोनस र अलि बढी पाइने तलब बचाएर घरको ऋण तिरेको, हरेक ढलान, ढोका र प्लास्टरमा मेरो कमाइ र मेरी श्रीमतीको खटाइ । आज यो कालो खरानी हातमा, अहिले मलाई ...
४. उद्योगः पुरुषश्य लक्षणम् । म भन्ने गर्थेँ श्रीमतीलाई— नेपालमा इमानदार भएर जागिर खाएर समाजमा बस्नु बहुत गाह्रो छ । यहाँ इमानदारीले घर गृहस्थ हुँदैन अनि बेइमानी र घुसले आत्मसम्मान दिँदैन । हेर त पूरा इमानदारीका साथ घर पनि र सम्मान पनि आर्जेको छु । यही हो साँचो पुरुषार्थ । मैले धेरै पटक श्रीमतीलाई सम्झाउँथे जहिले जहिले उनले मलाई अरूको धन सम्पत्ति सुनाउँथिन् तर आफ्नो पुरुषार्थ ठानेको यो घर, आज मलाई नपुंसक जस्तो गिज्याइरहेछ । स्खलित, निष्प्रभावी, नपुंसक ...
मैले के बिराएँ ? यदि बिराएकै हो भने भन ए राज्य, ए सरकार, तेरो यो अपराध हो र यो तेरो सजायँ । होइन, देश र मुलुकको परिवर्तनको लागि बलिदान हो भने भनिदेऊ– यो तेरो बलिदान । म मेरो देश निम्ति शिर नै चढाउँछु सहर्ष तर घुन पिसिएको यो अर्थहीन खरानी । यो मलाई स्वीकार्य छैन । म जवाफ खोजिरहेछु– आफ्नै घर-सन्तानको खरानी हातमा लिएर, मैले के बिराएँ ...?