विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ९, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

गामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको ५० युनिटभन्दा बढीको विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको नीतिले यतिबेला देशव्यापी बहस सिर्जना गरेको छ । यो बहस मूल्य, करको प्रतिशत वा रुपैयाँभन्दा ज्यादा सिद्धान्त र प्राथमिकताप्रति केन्द्रित देखिएको छ ।

सरकारको पक्षमा भ्याट लगाउने नीतिको बचाउ गरिरहेका केहीले युरोपेली र अन्य मुलुकहरूले बिजुलीमा २५ प्रतिशतसम्म कर लगाइएको उदाहरण प्रस्तुत गरिरहेका छन्  तर यो तुलनाले नेपालको वास्तविक आर्थिक एवं ऊर्जा धरातललाई पूर्ण रूपमा नजरअन्दाज गर्दछ । विशेषतः नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्नेहरूले बिजुली करमाथि केही आधारभूत प्रश्न उठाउँदै विरोध गरिरहेका छन् ।

नेपालको फरक ऊर्जा यथार्थ

ऊर्जा मिश्रणमा आयातित ग्यास, कोइला, पेट्रोल र डिजेल जस्ता जीवाश्म इन्धनको हिस्सा ठूलो रहेका देशहरूले बिजुलीमा भारी कर लगाउँछन् वा लगाएका छन् । कार्बन उत्सर्जन घटाउनका लागि जीवाश्म इन्धन खपत निरुत्साहित गर्न त्यस्ता इन्धनबाट उत्पादन हुने बिजुलीमा कर लगाउँछन् । एक किसिमले भन्नु पर्दा पश्चिमा देशहरूको बिजुली कर कार्बन कर हो, जुन हामी पेट्रोल, कोइला र डिजेलमा लगाउँछौँ तर नेपालको हकमा यो कथा पुरै उल्टो छ ।

सुख्खायाममा आयात गरिने केही हिस्सा बिजुलीबाहेक हाम्रो ऊर्जा (विद्युत्) शतप्रतिशत स्वदेशी, स्वच्छ र नवीकरणीय (जलविद्युत्) छ, जसमा थोरै परिमाणमा भए पनि सौर्य ऊर्जाको समेत योगदान छ । वर्षको आधाभन्दा बढी समय हाम्रो उत्पादन स्वदेशी मागभन्दा धेरै बढी हुन्छ । अन्तर्राष्ट्रिय खरिदकर्ता (विशेषतः भारत) नभएको अवस्थामा हाम्रो बहुमूल्य हरित ऊर्जा विना कुनै उपयोग नदीमा बगेर खेर जाने अवस्था छ । यस्तो अवस्थामा माग प्रवर्द्धन गर्न बिजुलीमा कर नलगाउनु नै उत्तम हुन्थ्यो, चाहे त्यो न्यूनतम ५ प्रतिशत नै किन नहोस् । हामीकहाँ लगाउन खोजिएको बिजुली कर एक किसिमले हरित वा स्वच्छ ऊर्जा कर जस्तो देखियो ।

सर्वसाधारण र अत्यावश्यक क्षेत्रमाथि भार

न्यून आय भएका (न्यूनतम युनिट खपत गर्ने) विपन्न परिवारबाहेक अन्य आम घरेलु उपभोक्ताले उद्योगलाई बिजुलीमा एक प्रकारको ‘क्रस सब्सिडी’ दिइरहेका छन् । घरेलु ग्राहकको प्रतियुनिट महसुल औद्योगिक ग्राहकको भन्दा बढी हुँदा उद्योगले त्यस्तो अनुदान पाइरहेका हुन् ।

अझ त्यसमा ५ प्रतिशत भ्याट थपिँदा यो खाडल झन् ठूलो हुनेछ । व्यावसायिक उद्योगहरूले आफ्नो उत्पादन लागतमा भ्याट फिर्ता दाबी गर्न सक्छन् तर सर्वसाधारण घरेलु उपभोक्ताका लागि यो सिधै महसुलमा गरिएको मूल्यवृद्धि हो । साथै, भ्याटमा दर्ता नहुने विद्यालय र अस्पताल जस्ता अत्यावश्यक सेवा प्रदायकहरूले भ्याट फिर्ता पाउँदैनन् । परिणामस्वरूप, स्वास्थ्य र शिक्षा जस्ता संवेदनशील क्षेत्रहरूले अब बिजुली प्रयोग गरेबापत थप महँगो बिल तिर्नुपर्नेछ ।

आर्थिक विधेयकमा ‘अन्तिम उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले कर निर्धारण गरी असुल उपर गर्नुपर्नेछ’ भनी व्यवस्था गरिएको छ तर नियमको अभावमा हाल निकै अस्पष्टता छ । कसलाई कर लाग्ने, कसलाई नलाग्ने, कसले फिर्ता लिन मिल्ने, कसले फिर्ता लिन नमिल्ने जस्ता विषय अस्पष्ट छन् । कसैकसैले भने १३ प्रतिशत नै कर लाग्ने त होइन ? भन्ने प्रश्न पनि छन् ।

वि.सं. २०७८ सालदेखि विद्युत् महसुल परिवर्तन भएको छैन । त्यसैले, विद्युत् महसुलमा सामान्य वृद्धि स्वाभाविकै हो भन्न सकिन्छ । अर्कोतर्फ, उपयोग नभई विद्युत् खेर गइरहेका बेला केही  निश्चित क्षेत्रमा स्वच्छ ऊर्जामाथि कर लगाउने नीतिगत व्यवस्थालाई स्वीकार गर्न गाह्रो भइरहेको छ ।

हुन त बिजुलीमा कर थपिँदा पनि खाना पकाउने वा अन्य प्रयोजनका लागि प्रयोग हुने बिजुली अन्य जीवाश्म इन्धनको तुलनामा अझै पनि सस्तो नै पर्दछ । यद्यपि, मूल्य एकमात्र निर्णायक पक्ष भने होइन । बिजुलीको विश्वसनीय आपूर्ति र सहज पहुँचको अभाव अनि प्रयोगका व्यावहारिक कठिनाइ जस्ता कारणले आम उपभोक्ता पहिलेदेखि नै एलपी ग्यास छोडेर विद्युत् चुलो वा आइसी इन्जिनयुक्त (पेट्रोल/डिजेलले चल्ने) गाडी छोडेर विद्युतीय सवारी साधन अपनाउन हिचकिचाइरहेका छन् । यस्तो बेला कर लगाउँदा बिजुली सस्तो भए पनि मानिसहरूलाई विद्युतीय र नयाँ प्रविधि अपनाउन थप मानसिक वा मनोवैज्ञानिक असहजता सिर्जना गर्दछ ।

मागको लचकता/लोच कम भएकाले मूल्य बढे पनि विद्युत् मागमा उल्लेख्य गिरावट आउने छैन तर उद्योगले आफ्नो ऊर्जाको माग पूरा गर्न कोइला जस्ता अन्य गैरनवीकरणीय ऊर्जाका स्रोतहरू अपनाउने सम्भावना रहन्छ । लगानीकर्ताहरूले आफ्नो लगानी पछि सार्न सक्छन् वा ऊर्जाको मूल्य कम भएका तथा विश्वसनीय आपूर्ति  भएका ठाउँहरू लगानीका लागि रोज्न सक्छन् ।

पेट्रोलियम मायाजाल

हाम्रो औद्योगिक नीति लामो समयदेखि एउटा विरोधाभासमा फसेको छ । केही साना विद्युतीय सवारी साधनबाहेक सरकार आयातित पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास) र जीवाश्म इन्धनबाट गुड्ने सवारीबाट उठ्ने भन्सार र अन्तःशुल्कमा अत्यधिक निर्भर छ । कुल राजस्वमा गाडी र पार्टपुर्जाहरूको योगदान निकै ठूलो छ । त्यसो हुँदा, सरकारले विद्युत् खपत बढाउने नीति ल्याएको भए पनि यी क्षेत्रबाट आउने ठूलो परिमाणको राजस्व घट्ने डरले सोचे जति चाँडो परिवर्तन गर्न डराइरहेको छ ।

चालु खर्चको तुलनामा आन्तरिक राजस्व सङ्कलन कम भएकाले सरकारलाई तीव्र वित्तीय दबाब परेको छ । त्यही दबाबका कारण बिजुलीमा कर लगाइएको कुरा बुझ्न गाह्रो छैन तर ऊर्जा आत्मनिर्भरताको बाटो नै बन्द हुने गरी बिजुलीमा (हरित) कर लगाउनु भनेको अल्पकालीन सोच र प्रत्युत्पादक निर्णय हुन सक्दछ ।

अबको बाटो

विद्युतीय चुलो, विद्युतीय सवारी साधन र बढी ऊर्जा खपत गर्ने उद्योगतर्फ आकर्षित भइरहेका नागरिकलाई प्रोत्साहन गर्नुको सट्टा कर लगाउँदा एक किसिमको मनोवैज्ञानिक अवरोध सिर्जना गर्दछ । यसले एलपी ग्यासबाट विद्युतीय चुलो प्रयोगमा रूपान्तरण हुन खोज्ने, विद्युतीय सवारी साधन चलाउन खोज्ने र उद्योग खोल्न चाहने लगानीकर्तालाई नीतिगत अस्थिरताको गलत सन्देश दिन सक्छ ।

विगतका दशकमा ऊर्जाको माग र आपूर्तिको अवस्थामा महत्त्वपूर्ण परिवर्तनहरू आएका छन् । त्यसैले, बिजुलीमा कर लगाउनुको सट्टा माग र आपूर्तिको अवस्था हेरी मौसमी (सुख्खायाम र वर्षायाम) तथा विद्युत् खपतको समय (बिजुली माग बढी हुने र कम हुने समय) का आधारमा बिजुलीको महसुल दर परिमार्जन वा समायोजन गर्नु बढी व्यावहारिक र वैज्ञानिक हुने देखिन्छ । अर्थात्, विद्युत्को बढी माग हुने समयमा बढी र कम माग हुने समयमा कम तथा विद्युत् बढी उत्पादन हुने समयमा कम तथा कम उत्पादन हुने समयमा बढी महसुल दर लगाउने नीति अपनाउनु आवश्यक छ ।

हामी स्वाधीन अर्थतन्त्र निर्माण गर्न चाहन्छौँ भने स्वदेशी बिजुलीलाई केवल राजस्व उठाउने माध्यम बनाउन छोड्नुपर्छ । बरु यसलाई पेट्रोलियम आयातको विशाल व्यापार घाटा कम गर्ने मुख्य उपायको रूपमा प्रयोग गर्न बिजुलीमा शून्य प्रतिशत कर नीति अख्तियार गर्नु नै देशको दीर्घकालीन हितमा हुनेछ ।

सरकारले कर प्रणालीलाई अझ व्यवस्थित बनाउन विद्युत्मा मूल्य अभिवृद्धि कर लगाउन खोजेको हो भने सबै वर्गका विद्युत् उपभोक्ताहरूलाई समेट्ने गरी महसुल दरलाई समायोजन गर्नुपर्दछ । समय सापेक्ष तथा वैज्ञानिक रूपमा समायोजन गरिने महसुल दरमा आवश्यक प्रतिशतको भ्याट थपिँदा पनि आम उपभोक्ताले तिर्ने अन्तिम महसुलमा कुनै वृद्धि नहुने गरी भ्याट लगाउनु बढी व्यावहारिक र वैज्ञानिक हुनेछ । यद्यपि, त्यस्तो भ्याट ५ प्रतिशतभन्दा बढी पनि हुन सक्दछ । यसले प्रणालीलाई पनि बलियो बनाउँछ अनि सबै किसिमको भ्रम वा अस्पष्टता हटाई कार्यान्वयनलाई समेत सहज बनाउनेछ ।

ऊर्जाको बदलिँदो सन्दर्भमा माग र आपूर्तिको सन्तुलन मिलाउन आवश्यक पर्ने महसुल संरचनामा परिवर्तन नगरी केही ग्राहकलाई भ्याट लगाउने र अरूलाई नलगाउने कार्य दीर्घकालीन रूपमा लाभदायक नहुन सक्छ । भ्याटमा बहुदर गलत पनि हुन सक्छ । यो आवश्यक गृहकार्य र योजनाबद्ध तयारीबिना हतारमा गरिएको निर्णय जस्तो देखिन्छ ।

त्यसैले, सैद्धान्तिक रूपमा निश्चित ग्राहकलाई मात्र विद्युत्मा भ्याट लगाउने निर्णय देशको प्राथमिकता अनुरूप देखिँदैन । बरु, आयातित जीवाश्म इन्धनलाई विस्थापित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न किफायती मूल्यमा आन्तरिक नवीकरणीय ऊर्जाको माग बढाउनु नै देशको दीर्घकालीन हितमा हुनेछ ।

पहिले आफ्नै स्वदेशी नवीकरणीय ऊर्जाले अर्थतन्त्रलाई बलियो बनाऔँ । आयात गरिने ऊर्जा र जीवाश्म इन्धनमाथिको निर्भरता घटाऔँ । बिजुली कर हटाऔँ । कर लगाउनै परे बिजुलीको महसुल दर समायोजन गरी भविष्यमा आउनसक्ने कानुनी छिद्रहरूलाई रोक्न सबै उपभोक्तामा समान दरको कर वा भ्याट लगाउनु उचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३