काठमाडौँ । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा भीषण बाढी आउँदा १४४ मेगावाट क्षमताको कालीगण्डकी 'ए' जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पानीको सतह उच्च बनेको छ । नदीमा पानीको बहाव बढेर जलस्तर खतराको तहभन्दा माथि पुगेपछि आयोजनाको डाइभर्सन ड्यामका सबै गेटहरू (ढोकाहरू) पूर्ण रूपमा खोलिएका छन् ।
बाँध क्षेत्रको जलस्तर ५१९ को उचाइमा पुगेपछि आयोजनाका सबै ढोकाहरू खोलिएका हुन् । जलविद्युत् आयोजनाका ड्याम गेटहरू खोलिनुका साथै नदीको बहाव अझै नघटेकाले तटीय क्षेत्रहरूमा जोखिम अत्यधिक बढेको छ । प्रशासनले कालीगण्डकी नदी किनारका आसपासका बासिन्दाहरूलाई सजग रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबिच, नदीमा आएको भीषण बाढीले गण्डकी र लुम्बिनी प्रदेश (स्याङ्जाको मीर्मी र गुल्मीको हर्मिचौर) जोड्ने आयोजना कालदेखि सञ्चालित बेली ब्रिज बगाएको छ । पुल बगाएपछि दुई प्रदेशबिचको प्रत्यक्ष आवतजावत ठप्प भएको छ ।