विद्युत अपडेट

  • प्राधिकरण : ९९०६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२५१ मे.वा.घन्टा
  • आयात : ५०७ मे.वा.घन्टा
  • निर्यात : २०१५० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४५२६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२२६ मे.वा.
२०८३ असार २४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नेपालको ऊर्जा क्षेत्र अहिले ऐतिहासिक मोडमा उभिएको छ । विगतको 'लोडेसेडिङ व्यवस्थापन'को चरणबाट अघि बढेर अहिले 'उत्पादित बिजुलीको खपत र निर्यात व्यवस्थापन' गर्नुपर्ने चरणमा आइपुगेको छ । यस यात्रामा निजी क्षेत्रका ऊर्जा प्रवर्द्धकहरूको योगदान अतुलनीय छ, जसले विद्युत् उत्पादनमा ८० प्रतिशतभन्दा बढीको योगदान गरिरहेका छन् र देशको जडित क्षमता ४ हजार ३०० मेगावाट हाराहारी पुर्‍याएका छन् ।

यद्यपि, एउटा गम्भीर विरोधाभास अझै कायम छ– वर्षायाममा प्रसारण लाइनको अभावले भारी परिमाणमा बिजुली खेर  गइरहेको छ भने खासगरी नदी प्रवाही जलविद्युत् केन्द्र (आरओआर) को बाहुल्यताका कारण हिउँदमा नदीहरूको बहाव घट्दा उत्पादन झन्डै एक चौथाईमै खुम्चिने अवस्था छ । यसले उक्त मौसममा आन्तरिक व्यवस्थापनमा चाप पर्ने र विद्युत् आयात बढाउनु पर्ने अवस्था छ ।

यस्तो पृष्ठभूमिमा आएको नयाँ सरकारले वास्तवमै ऊर्जा क्षेत्रलाई जीवन्त, गतिशील र देशको अर्थतन्त्रको मुख्य खम्बा बनाउन चाहन्छ भने यथास्थितिवादमा आधारित प्रशासनिक निर्णयबाट माथि उठेर बजारमुखी र संस्थागत प्राथमिकताहरू तय गर्नुपर्दछ । यसो गर्नु किन पनि आवश्यक छ भने नयाँ सरकार गठनसँगै देशमा राजनीतिक स्थिरता र नीतिगत सुनिश्चितताको अपेक्षा चुलिएको छ ।

नेपालको ऊर्जा क्षेत्रलाई साँच्चै प्रतिस्पर्धी, उत्तरदायी र जीवन्त बनाउन संसारका अन्य विकासोन्मुख तथा विकसित देशहरूले अवलम्बन गरेका सफल मोडलहरूको अध्ययन गर्नु आवश्यक छ । विश्वका सफल अन्तर्राष्ट्रिय अभ्यासहरूलाई नेपालको परिवेशमा ढालेर कसरी ऊर्जा क्षेत्रमा रूपान्तरण ल्याउन सकिन्छ भन्ने केही उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ:

१. एकाधिकारको अन्त्य र खुला पहुँच

ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो संरचनात्मक अवरोध भनेको नेपाल विद्युत् प्राधिकरणको एकाधिकार हो । प्राधिकरण आफैँ उत्पादक, क्रेता, वितरक र प्रसारण लाइनको मालिक हो । यसले गर्दा एउटै सरकारी निकायमाथि ठूलो वित्तीय बोझ परेको छ र निजी क्षेत्रको नवप्रवर्तन वा नवीनता खुम्चिएको छ । यस्तो एकाधिकारको सकेसम्म छिटो अन्त्य गर्नु आवश्यक छ ।

सरकारको प्राथमिकता: लामो समयदेखि संसद्‌मा अल्झिएको नयाँ विद्युत् विधेयक तत्काल पारित गर्नुका साथै निजी क्षेत्रलाई खुला पहुँच (ओपन एक्सेस) र 'ह्विलिङ चार्ज'को कानुनी अधिकार दिनुपर्छ । यसले गर्दा निजी प्रवर्द्धकहरूले राष्ट्रिय ग्रिडको प्रयोग गरी सिधै ठूला उद्योग वा विदेशी खरिदकर्तालाई बिजुली बेच्न सकून् ।

अन्तर्राष्ट्रिय अभ्यास (नर्डिक मोडल) : सन् १९९० को दशकमा युरोपका नर्डिक देशहरू (नर्वे, स्विडेन आदि) ले आफ्नो सरकारी एकाधिकार अन्त्य गर्दै ऊर्जा बजारको उदारीकरण गरे । उनीहरूले प्रसारण लाइनलाई पूर्ण रूपमा स्वतन्त्र निकाय (टिएसओ) बनाए । यसले निजी क्षेत्रलाई खुला प्रतिस्पर्धा गर्ने बाटो खोल्यो र संसारकै पहिलो बहुराष्ट्रिय पावर एक्सचेन्ज 'नर्ड पुल' (Nord Pool) को स्थापना भयो । नेपालले पनि यो मोडल अफ्ना निजी क्षेत्रले प्राधिकरणको विद्युत् खरिद सम्झौता (पिपिए) मा मात्र भर नपरी आफ्नै बजार खोज्न सक्नेछन् ।

२. 'जी टु जी' ऊर्जा कूटनीति

नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने दीर्घकालीन सम्झौता गर्नु र बंगलादेशमा बिजुली निर्यातको सुरुवात हुनु ठूलो उपलब्धि हो । यद्यपि, व्यावहारिक रूपमा अझै धेरै बाधा छन् । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सिइए) बाट आयोजनापिच्छे लिनुपर्ने स्वीकृति र भूराजनीतिक संवेदनशीलताका कारण निजी क्षेत्रका आयोजनाहरूले बजार पाउन अनिश्चितता झेल्नुपरिरहेको छ ।

भुटानले भारतसँग सरकारी स्तरमा (जिटूजी) वित्तीय र प्राविधिक सहयोग लिएर ठूला जलाशय तथा आंशिक-जलाशय आयोजनाहरू निर्माण गर्‍यो । भुटानको 'ड्रुक ग्रीन पावर कर्पोरेसन'ले भारतीय बजारमा निश्चित मूल्यमा (दीर्घकालीन सम्झौता मार्फत) निर्वाध बिजुली निर्यात गरिरहेको छ, जसले भुटानको अर्थतन्त्रलाई बलियो बनाएको छ ।

सरकारको प्राथमिकता: नेपालले भारतसँग उच्चस्तरीय सरकार–सरकार (जिटूजी) संवादमार्फत आयोजनापिच्छे गरिने स्वीकृतिको झन्झटिलो व्यवस्थालाई हटाएर 'सूत्रमा आधारित स्वचालित प्रणाली' (Formula-based Transmission Framework) लागू गर्नुपर्छ । नेपालले भारतीय अन्तर-राज्यीय प्रसारण प्रणाली (ISTS) मा दीर्घकालीन र विभेदरहित पहुँच (Transit Rights) सुनिश्चित गर्नुपर्छ ।

नेपालले भारतसँगको कूटनीतिक संवादलाई आयोजनास्तरबाट माथि उठाएर 'दीर्घकालीन सार्वभौम ग्यारेन्टी' (Sovereign Transit Guarantees) मा रूपान्तरण गर्नुपर्छ, ताकी भारतको नीति परिवर्तन हुँदा नेपाली निजी प्रवर्द्धक मारमा नपरून् ।

अन्तर्राष्ट्रिय अभ्यास (दक्षिण अफ्रिकी पावर पुल र युरोपेली युनियन) : युरोपेली युनियनमा क्रस-बर्डर (अन्तर्देशीय) प्रसारण लाइनको प्रयोग कुनै राजनीतिक तजबिजमा नभई कडा र कानुनी रूपमा बाँधिएको 'क्षेत्रीय ग्रिड कोड' अनुसार हुन्छ । त्यस्तै, दक्षिण अफ्रिकाका भूपरिवेष्टित देशहरू (जस्तै जाम्बिया र मोजाम्बिक) ले दक्षिण अफ्रिकी पावर पुल (Southern African Power Pool–SAPP) मार्फत दक्षिण अफ्रिकाको ग्रिड प्रयोग गरी सहजै बिजुली व्यापार गर्दछन् । नेपालले पनि बिबिआइएन (नेपाल, भारत, भुटान, बंगलादेश) क्षेत्रमा यस्तै पारदर्शी क्षेत्रीय ग्रिड कोड निर्माणका लागि बलियो कूटनीतिक पहल गर्नुपर्दछ ।

३. वित्तीय इन्जिनियरिङ

जलविद्युत् आयोजनाहरू अत्यधिक पुँजीप्रधान हुन्छन्, जसको लगानी उठ्न लामो समय लाग्छ । नेपाली बैंकहरूको ब्याजदर अस्थिर हुनु र छोटो अवधिको ऋण मात्र उपलब्ध हुनुले निजी क्षेत्रको नाफा र दिगोपनलाई जोखिममा पारेको छ ।

सरकारको प्राथमिकता: सरकारले अन्तर्राष्ट्रिय जलवायु वित्त (Climate Finance) र सहुलियतपूर्ण कोषहरू नेपाल भित्र्याउन सहजीकरण गर्नुपर्दछ । देशभित्र एउटा विशिष्ट 'हरित ऊर्जा पूर्वाधार कोष' (Green Energy Infrastructure Fund) स्थापना गरी निजी क्षेत्रलाई न्यून ब्याजदरमा दीर्घकालीन ऋण उपलब्ध गराउनुपर्दछ ।  साथै, विदेशी लगानी आकर्षित गर्न विदेशी विनिमयको उतारचढावबाट जोगाउने 'हेजिङ फन्ड' (Hedging Fund) लाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्दछ ।

अन्तर्राष्ट्रिय अभ्यास (चिलीको नवीकरणीय ऊर्जा बोलकबोल र भारतको इरेडा) : चिलीले आफ्नो ऊर्जा क्षेत्रमा डलरमा आधारित दीर्घकालीन सम्झौता (Power Auctions) को व्यवस्था गरेर विश्वभरका लगानीकर्ता भित्र्यायो । यस्तै, भारत सरकारले इरेडा (Indian Renewable Energy Development Agency– IREDA) नामक गैरबैंकिङ वित्तीय संस्था स्थापना गरेको छ, जसले केवल नवीकरणीय ऊर्जा आयोजनाहरूलाई सस्तो ब्याजदरमा अर्बौँ रुपैयाँ ऋण प्रवाह गर्दछ । नेपाललाई पनि निजी क्षेत्रको वित्तीय भार कम गर्न यस्तै बलियो सरकारी वित्तीय उत्प्रेरकको आवश्यकता छ ।

४. प्रसारण लाइन निर्माणमा निजी क्षेत्र

हाल नेपालका निजी प्रवर्द्धकहरूको सबैभन्दा ठूलो समस्या भनेको 'विद्युत् जडान' (Evacuation) को हो । निजी क्षेत्रले आयोजना समयमै निर्माण गरिसकेको अवस्थामा पनि प्राधिकरणले प्रसारण लाइन वा सब-स्टेसन बनाउन वर्षौँ ढिलाइ गरिदिँदा बिजुली खेर जान्छ र प्रवर्द्धकहरू टाट पल्टिने अवस्थामा पुग्छन् ।

सरकारको प्राथमिकता: प्रसारण लाइन निर्माणमा सरकारको एकाधिकार अब तोडिनुपर्छ । सरकारले निजी क्षेत्रलाई निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण (BOOT) वा सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा उच्च भोल्टेजका प्रसारण लाइनहरू निर्माण र सञ्चालन गर्न दिनुपर्दछ । प्रवर्द्धकहरूले निश्चित ह्विलिङ चार्ज उठाएर आफ्नो लगानी उठाउन सक्ने व्यवस्था गर्नुपर्दछ ।

अन्तर्राष्ट्रिय अभ्यास (ब्राजिलको निजी प्रसारण लाइन बोलकबोल) : ब्राजिलमा अमेजन क्षेत्रमा ठूलो जलविद्युत् क्षमता थियो तर माग हुने सहरहरू हजारौँ माइल टाढा थिए । ब्राजिलको नियामक निकाय (ANEEL) ले निजी कम्पनीहरूलाई प्रतिस्पर्धात्मक बोलकबोलमार्फत निश्चित प्रसारण कोरिडोर निर्माण गर्ने जिम्मा दियो । यसले गर्दा ब्राजिलले सरकारी आर्थिक बोझबिना नै तोकिएको समयमै विश्वकै आधुनिक प्रसारण ग्रिड बनाउन सक्यो । नेपालले पनि कोसी, गण्डकी र कर्णाली कोरिडोरका प्रसारण लाइनहरूमा यो मोडल तुरुन्तै लागू गर्न सक्छ ।

पेरु र फिलिपिन्सको परिदृश्य: ल्याटिन अमेरिकी देश पेरु र एसियाली देश फिलिपिन्सले ऊर्जा उत्पादन मात्र होइन, प्रसारण लाइन (Grid) निर्माणमा पनि निजी क्षेत्रलाई व्यापक रूपमा सहभागी गराए । फिलिपिन्सले आफ्नो सम्पूर्ण राष्ट्रिय ग्रिडको व्यवस्थापन र विस्तारको जिम्मा National Grid Corporation of the Philippines (NGCP) नामक निजी कन्सोर्टियम कम्पनीलाई २५ वर्षको सहुलियत (Concession) मा दियो । पेरुले पनि निजी क्षेत्रलाई प्रतिस्पर्धात्मक बोलपत्र (Auctions) मार्फत ट्रान्समिसन कोरिडोर निर्माण गर्न दियो ।

नतिजा: विश्व बैंकको प्रतिवेदन अनुसार पेरुमा निजी क्षेत्र आएपछि प्रसारण लाइन निर्माणको लागत र सञ्चालन खर्च (O&M Cost) मा उल्लेख्य गिरावट आयो भने प्राविधिक चुहावट (Technical Losses) समेत कम भयो ।

नेपालका लागि पाठ: प्राधिकरणले मात्रै प्रसारण लाइन बनाउन बजेट र जनशक्ति पुर्‍याउन सकेको छैन । नेपालले पनि पेरु र फिलिपिन्सको मोडल पछ्याउँदै विभिन्न कोरिडोरका प्रसारण लाइनहरू निजी क्षेत्रलाई बूट मोडलमा गराउन सक्छ ।

५. ऊर्जा स्रेतको विविधीकरण

नेपालको ऊर्जा प्रणाली नदीको बहावमा आधारित आयोजनामा मात्र बढी निर्भर छ । यसले गर्दा वर्षामा बिजुली बढी हुने र हिउँदमा उत्पादन एक-तिहाइ भन्दा कममा झर्ने समस्या छ । ऊर्जा क्षेत्रलाई जीवन्त बनाउन सरकारले अब पिपिए गर्दा जलाशय (Storage), आंशिक-जलाशय र ठूला व्यावसायिक सौर्य ऊर्जा आयोजनाहरूलाई प्राथमिकता दिनुपर्छ ।

अन्तर्राष्ट्रिय अभ्यास (लाओस र दक्षिण-पूर्वी एसियाको ब्याट्री) : लाओसले जलाशय आयोजना र सौर्य ऊर्जालाई एकसाथ मिसाएर (Hybrid Model) आफूलाई दक्षिण-पूर्वी एसियाकै 'ब्याट्री' को रूपमा स्थापित गरेको छ । दिउँसो घाम लाग्दा सौर्य ऊर्जाबाट ग्रिडको माग धान्ने र जलाशयको पानी जोगाउने, अनि साँझको 'पिक आवर' र हिउँदमा त्यो पानी प्रयोग गरेर बढी मूल्यमा बिजुली बेच्ने रणनीति लाओसको छ । नेपालले पनि सौर्य ऊर्जा र जलाशय आयोजनाको मिश्रण (Energy Mix) मार्फत २४सै घण्टा सन्तुलित र बहुमूल्य ऊर्जा निर्यात गर्न सक्छ ।

आगामी दिशा

ऊर्जा क्षेत्रलाई जीवन्त बनाउनु भनेको केवल नयाँ आयोजनाहरू थप्नु मात्र होइन; बरु एउटा सुदृढ, लगानीमैत्री र आधुनिक ऊर्जा पारिस्थितिक प्रणाली (Ecosystem) को निर्माण गर्नु हो । यी अन्तर्राष्ट्रिय उदाहरणहरूले प्रस्ट पार्दछन् कि संसारका कुनै पनि देशले सरकारी एकाधिकार कायम राखेर वा प्रसारण लाइनलाई सरकारी नियन्त्रणमा मात्रै सीमित गरेर ऊर्जा क्षेत्रमा छलाङ मार्न सकेका छैनन् ।

नयाँ सरकारले 'निजी क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण' गर्ने नीति अङ्गीकार गर्दै नियमनकारी सुधार, समतामूलक अन्तर्देशीय पारगमन नियमहरूको सुनिश्चितता, वित्तीय सुरक्षा र प्रसारण लाइनमा निजी लगानी खुला गरेमा नेपाल आगामी दशकभित्रै दक्षिण एसियाकै समृद्ध 'हरित ऊर्जा केन्द्र' बन्न सक्नेछ । नेपालका लागि प्रकृतिको वरदानका रूपमा रहेको जलस्रोत र निजी क्षेत्रको उद्यमशीलतालाई सही दिशा दिन अब सरकारले अन्तर्राष्ट्रिय असल अभ्यासलाई अनुसरण गर्दै साहसिक र बजारमुखी कदम चाल्नुको विकल्प छैन ।

लेखक इलेक्ट्रिकल इन्जिनियर हुन् । उनी एक दशकभन्दा बढी समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस

कुलेश खतिवडा

लेखक इलेक्ट्रिकल इन्जिनियर हुन् । उनी एक दशकभन्दा बढी समयदेखि ऊर्जा क्षेत्रमा सक्रिय छन् ।

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३